चितवन विशेष
प्रवासी चितवन बहुउद्देश्यीय सहकारीको साधारण सभा

चितवन, असार ११-
प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१२ को आफ्नो प्रारम्भिक साधारणसभा आज भरतपुरमा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष रबिन्द्र शाक्यले आर्थिक प्रतिवेदन र सचिव दुर्लभबन्धु पोख्रेलले सागठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा भरतपुर महानगरपालिका १२ का वडा अध्यक्ष लेखराज पन्तले सहकारी संस्थाको दीगो विकासका लागि प्रभावकारी तालिमको साथै शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताए ।
सहकारीमा एकरूपता कायम गर्दै सहकारी शिक्षा, प्रशिक्षण र जागरणलाई समन्वयात्मक रूपमा एकीकृत ढंगले अगाडि बढाउनु आजको आवश्यकता रहेको अध्यक्ष पन्तको भनाइ छ । कार्यक्रममा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष समीर खत्री, जिल्ला बचत संघ सामाजिक सञ्जालका उपसमिति सदस्य शोभाकान्त पौडेल, संस्थाका तदर्थ समितिका उपाध्यक्ष ईन्द्रप्रसाद न्यौपाने, बचत कोशका पूर्वसंयोजक निमकान्त पान्डे, एनआरएन प्रवक्ता सोमनाथ सापकोटालगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियोे ।
























