देश/प्रदेश
काठमाडौँबाट संसदीय चुनाव लड्न रवि लामिछानेले ग्यालेक्सी टिभी छाडे

काठमाडौं, असार २-
लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्न ग्यालेक्सी टेलिभिजन छाडेका छन् ।
लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर पनि सुझाइरहेका छन् ।
लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भएका छन् । टिभीका अध्यक्ष जिवी राईले लामिछानेलाई खादा लगाएर औपचारिक विदाइ गरे । लामिछाने सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । रवीले चलाउने कार्यक्रम सिधा कुरा जनतासँगको अन्तिम एपिसोड आज प्रसारण हुँदैछ ।
रवी लामिछानेका दाजु हरिशरण लामिछानेले पनि प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेवारी दिने घोषणा गरिसकेका छन् । उनको पनि निर्वाचन क्षेत्र तय भएको छैन ।























