देश/प्रदेश

उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन् ‘!

Banner

दाङ,असार १-

बिहानको साढे ८ बजेको थियो । लु १ झ ५३७ नम्बरको सरकारी गाडी झन्डा हल्लाउँदै एकराज बस्नेतको घरमा पुग्यो । गाडीबाट झरिन् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली । स्थानीयले सोचे ‘मन्त्रीज्यू भेटघाटमा आउनु भो ।’

घरधनी एकराज बस्नेतकी श्रीमती मीना बस्नेतको अगाडि पुगेपछि मन्त्री वलीले अनपेक्षित प्रश्न गरिन्, ‘मेरो पोई खै ?’ मन्त्री वली त्यतिमै रोकिइनन् । उनले मीनालाई मुक्का प्रहार गरिन् । नजिकै रहेकी पाँच वर्षकी छोरी एन्जिलालाई पनि प्रहार गरिन् ।

राज्यमन्त्री वलीको प्रहारबाट मीनाको टाउको, शरीरका विभिन्न भागमा भित्री चोट छ भने कपडासमेत च्यातिएको छ । छोरी एन्जिलाको ओठ काटिएको छ । एकराजलाई पैसा दिएर कपडा किनिदिएको भन्दै राज्यमन्त्री वलीले ‘मैले किनिदिएको कपडा मै लैजान्छु,’ भन्दै दराज तोडफोड गरिन् ।

मिनालाई मुक्का प्रहार गरेपछि राज्यमन्त्री वलीले फेरि भनिन्, ‘मेरो एकराज खै छिटो देखा ।’ एकराज १५ दिनदेखि घरमा नभएको परिवारका सदस्यको भनाइ छ ।

बस्नेत माओवादी कार्यकर्ता हुन् । एक वर्षअघि बस्नेतले वलीलाई चुम्बन गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । राज्यमन्त्री वलीले एकराज आफ्नो प्रेमी भएको दाबी गर्दै आएकी छन् ।

के भन्छन् स्थानीय ?

‘बिहान सरर गाडी आयो । हामीले कोही केही कामले आएको होला भन्यौं,’ छिमेकी रचना बुढाथोकीले भनिन्, ‘एकछिनपछि चिच्याएको आवाज सुनियो । एन्जल रुँदै मामुलाई मारे भन्दै मलाई तान्न आइन । म झटपट भित्र गएँ ।’

रचनाका अनुसार राज्यमन्त्री वली ‘एकराजको र मेरो विवाह भइसकेको छ । सिन्दुर हालेको फोटो गाउँको घरमा राखेको छु,’ भन्दै मिनालाई धकेल्दै थिइन् । ‘म डरले बस्न सकिनँ, निस्की हाले, पछि मीनाको जेठाजु, ससुरा र अन्य मान्छे आए । प्रहरी पनि आपछि राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो,’ रचनाले भनिन् ।

प्रहरी भन्छः राज्यमन्त्री बोल्न मान्नुभएको छैन

कुटपिट गर्ने मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ । सुरक्षाको कारण देखाउँदै प्रहरीले तुलसीपुरबाट घोराही लगेको जनाएको छ । मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्ले नेतृत्वमा कडा सुरक्षाकाबीच जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ । वलीलाई बाहिर निकाल्ने क्रमममा प्रहरी र स्थानीयबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो ।

अनुसन्धानमा जुटेको प्रहरीले घटना फरक भएको आशंका गरेको छ । ‘सोधपुछको प्रयास भइरहेको छ । उहाँ त्यति बोल्न मान्नुभएको छैन,’ एसपी काफ्लेले भने, ‘बहालवाला मन्त्री भएकाले पनि अलि कठिनाइ भइरहेको छ । केस अर्कै जस्तो छ । अहिले नै ठ्याक्कै यही हो भन्ने अवस्था छैन, बुझ्दै छौं ।’

राजीनामाको माग गर्दै प्रदर्शन

राज्यमन्त्री वलीलाई कडा कारबाही र राजीनामाको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय तुलसीपुरको गेटमा दिउँसो नाराबाजी गरेका थिए । नीतिनिर्माण तहमा बसेकी राज्यमन्त्री वलीले सत्ता र शक्तिको आडमा मात्तिएर घरमा बसिरहेका निर्दोष महिला र बालिकामाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही र राजीनामाको माग गर्दै आक्रोशित स्थानीयले नाराबाजी गरेका थिए ।

यसैबीच राज्यमन्त्री वलीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा दुव्र्यवहारविरुद्ध जाहेरी परेको छ । पीडित महिलाले आफूलाई कुटपिट गर्दै दुव्र्यवहार गरेको गरेको उजुरी दिएको प्रहरीले जनाएको छ ।

को हुन् मन्त्री वली ?

राज्यमन्त्री वली स्वर्गीय उत्तरकुमार वलीकी श्रीमती हुन् । दाङ क्षेत्र नम्बर ३ (ख) मा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित उत्तरकुमार वलीको सवारी दुर्घटनामा परी निधन भएको थियो ।

उत्तरको निधनपछि रिक्त रहेको पदमा एमालेले विमला वलीलाई उठाएको थियो । एमालेबाट जितेकी वलीले एमाले छोडेर माओवादीमा प्रवेश गरेपछि मन्त्री पद पाएकी थिइन् ।

मीना भन्छिन्, ‘मलाई डर लागिरहेको छ’

बिहान करिब साढे ८ बजेको थियो होला । म नानीलाई खाना खुवाएर डे«स लगाएर स्कुल पठाउनलाई कपाल बाट्दै थिएँ । एक्कासि विमला ‘मेरो एकराज खै ?’ भन्दै आइपुगिन् । ‘मलाई थाहा छैन । खै कहाँ जानुभएको छ भनें,’ उनले भनिन्, त्यसपछि वलीले मलाई कहाँ लुकाएकी छेस् भन्दै कपाल भुत्ल्याउँदै हिकाउन थालिन् ।

मलाई पिटेको देखेर छोरी रुन थाली, उसलाई पनि गालामा दुई थप्पड हानी । छोरी रुँदै बाहिर निस्की । एकराजलाई मैले किनेको लुगा यही राखेको छ भन्दै दराज तोडफोड गरिन् । मैले प्रतिकार गर्न सकिनँ । मेरो टाउको भित्तामा ठोक्काइदिइन् ।

मैले लगाएको कपडा च्यातिदिइन् । टाउको अहिले पनि दुखिरहेको छ । छोरीको ओठ काटिएको छ । मन्त्री हो उसको पछाडि सबै छन्, फेरि पनि आएर मार्छे कि भन्ने डर लागेको छ । खुट्टा पनि काँपेका छन् ।’आजको राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>