चितवन विशेष

चितवन जिससमा एकीकृत समाजवादीले धोका दिएको एमालेलाई भाग्यले साथ दियो

Banner

चितवन,जेठ ३१-

जिल्ला समन्वय समिति चितवनको अध्यक्षमा एमालेका नारायण प्रसाद अधिकारी विजयी भएका छन् । आज (मंगलबार) सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी भएका हुन् । चितवनका सात पालिकाका १४ जना प्रमुख र उपप्रमुखले निर्वाचनमा मतदान गरेका थिए । दुवै उम्मेदवारले समान ७÷७ मत ल्याएपछि गोलाप्रथा गरिएको हो ।

यसअघि नै मत बराबर हुने देखेपछि एमालेको जिल्ला नेतृत्वले आफ्नो पक्षमा मत ल्याउन राप्ती नगरपालिका प्रमुख नेकपा एसका शमशेर लामालाई रिझाउने प्रयास गरेको थियो । सोही अनुसार नेकपा एमालेले उपप्रमुख पदमा उम्मेदवारी दिएन । जसका कारण एकीकृत समाजवादीबाट उम्मेदवार कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । प्रमुख पदमा एमालेलाई एकीकृत समाजवादीले सघाउने आन्तरिक सहमती अनुसार नै एमालेले उपप्रमुखमा उम्मेदवारी नदिएको जनाएको छ । तर गठबन्धनको सबै ७ मत नेपाली काँग्रेसका पूर्णबहादुर रानाभाटतिर पुगेपछि निर्वाचनको नतिजा गोलाप्रथाबाट गरियो ।

एकीकृत समाजवादीले साथ नदिएपनि गोलाप्रथा गर्दा एमालेलाई भाग्यले साथ दियो र एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका नारायण प्रसाद अधिकारी निर्वाचित हुनुभयो । एमालेले एकीकृत समाजवादीले अन्तिम समयमा आएर धोका दिएको बताएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाँउपालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएका अधिकारी झिनो मत अन्तरले पराजित हुनुभएको थियो ।

सात स्थानीय तहका प्रमुख र उपप्रमुखले समन्वय समितिका लागि निर्वाचन गर्ने व्यवस्था हो । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनले जितेको छ भने माडी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको छ । इच्छाकामना र कालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ । त्यसैगरी रत्ननगरमा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । खैरहनी नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>