चितवन विशेष

चितवनबाट फर्कदा मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा पहिरोमा परे केशव

Banner

चितवन,जेठ २७-

मुग्लिन-आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परेर मृत्यु भएको हो।

घिमिरे आँबुखैरेनीमा इलोक्ट्रोनिक्स पसल चलाउँथे। चितवन गएकी श्रीमती जाममा परेपछि लिन भन्दै आज (शुक्रबार) उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ गएका थिए। मुग्लिन पुग्न नपाउँदै साँखरमा सडक भासिँदा मोटरसाइकलसहित उनी पहिरोमा परेका थिए। उनको शव आज बिहान सुरक्षाकर्मीले मर्स्याङ्दी नदी किनारमा फेला पारेका हुन्। घिमिरे सवार ग १५ प २९५३ नम्बरको मोटरसाइकलमा अझै फेला परेको छैन। सडक भासिएर मर्स्याङ्दी नदीमा पुगेको थियो।

आफन्तका अनुसार घिमिरेकी श्रीमती माइत गएकी थिइन्। उनको माइत चितवन हो। चितवनबाट फर्कँदै गर्दा जाममा परेपछि उनले श्रीमानलाई बोलाएकी थिइन्। श्रीमतीले एक कम्पनीमा विहिबार मात्रै नाम निकालेकी थिइन् । त्यसैका लागि उनि चितवन आएकी थिइन ।श्रीमानसंग संगै बसेर खुसी साट्ने उनको धोको अधुरै रह्यो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीले मृतक घिमिरेकी श्रीमती सम्पर्कमा आइसकेको बताए । ‘उहाँको श्रीमती सम्पर्कमा आइसक्नुभएको छ। उहाँलाई नै लिन केशव मुग्लिनतर्फ जाँदा सडक भासिएर परेको भन्ने बुझिएको छ,’ उनले भने, ‘धेरै कुरा हामीले सोध्न सकेका छैनौं, उहाँ भन्न सक्ने अवस्थामा पनि हुनुहुन्न।’

घिमिरेको शव पोस्टमर्टमका लागि दमौली अस्पतालमा राखिएको छ। सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर कलरको बम्फरसहितको कारको टुक्रा फेला परेको छ, कार भने भेटिएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>