राजनीति
राजसंस्थाले जनताको पक्षमा केही गर्न सकेनः कमल थापा

काठमाडौं,जेठ २३-
राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको सुदृढीकरण र राष्ट्रियताको सम्वर्द्धन गर्नु पार्टीको मुख्य एजेण्डा भएको बताउँदै राजसंस्थाले जनताको पक्षमा केही काम गर्न नसकेको बताएका छन्।
विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सनातन हिन्दू राष्ट्र, पूर्ण धार्मिक स्वतन्त्रता र उदार आर्थिक अर्थतन्त्रको नीति राप्रपा नेपालको रहेको बताए। उनले मुलुकले असंलग्न परराष्ट्र नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्ध बढाउनुपर्नेमा जोड दिँदै दुई छिमेकी मुलुकको आर्थिक समृद्धिबाट लाभ लिन उनीहरुको चासो र चिन्तालाई सम्बोधन गर्नुपर्ने बताए।
अध्यक्ष थापाले मुलुकमा मौलिक प्रजातन्त्रको विकास गर्नुपर्ने चर्चा गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसदबाट निर्वाचित राष्ट्रपति र सुदृढ स्थानीय पालिका हुनुपर्ने धारणा राखे। एक प्रश्नको जवाफमा उनले राजसंस्थाले जनताको पक्षमा केही कार्य नगरेकाले मुलुकमा अब राजसंस्था पुनःस्थापना नहुने बताए।


























