राजनीति

प्रचण्ड ओलीतिर गए भने चुनाव जितिदैन भन्ने देउवालाई डर छ: सीपी गजुरेल

Banner

काठमाडौँ, जेठ १८-

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्रै संघ र प्रदेशको चुनाव गर्ने पक्षमा रहेको बताएका छन् ।

अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गर्न जाने हुन् कि भन्ने डरले प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो गराउने पक्षमा रहेको तर्क गरे ।

बुधबार काठमाडौंको माइतीघरमा पेट्रोलियम पदार्थलगायतका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा आयोजित विरोधसभामा बोल्दै उनले चुनाव जित्न र जनतालाई खुसी बनाउनेगरी सरकारले बजेट ल्याएको दाबी समेत गरे । उनले चुनावमा धाँधली गरेर जित्न सरकारले कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गरेको जीकिर गरे । ‘अर्थमन्त्रीले बजेट पेस गरेको छ र, यसमा बहस चलिरहेको छ । धेरै पार्टीले यसलाई चुनावमा जनतालाई भ्रममा पार्न ल्याइएको दस्तावेज हो’, गजुरेलले भने, ‘किनभने शेरबहादुर देउवा अर्को चुनाव चाँडै गर्ने पक्षमा छन, कार्तिक मसान्तसम्म चुनाव गरिसक्ने ।’

उनले देउवा त्यो पक्षमा जानुमा फेरि प्रचण्ड ओलीतिर जान्छन् कि भन्ने डर रहेको बताए । ‘प्रचण्ड ओलीतिर जाने हुन् कि गइहाले भने चुनाव जितिँदैन । सरकारमा आउन सकिँदैन । त्यसकारण अब ढिलो गर्नु हुँदैन । चाँडै चुनाव गराउनु पर्छ भनेर ऊ लागेको छ’, गजुरेलको भनाइ छ ।

उनले कर्मचारीको तलब बढाउनुको खास कारण पनि चुनाव जित्नु नै रहेको बताए । ‘अहिले १५ प्रतिशत कर्मचारीको तलब वृद्धि पनि चुनाव जित्नकै लागि हो । चुनाव जित्नका लागि कर्मचारीलाई एक प्रकारको घुस दिइएको हो’, गजुरेलको भनाइ छ । अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरूसँग कमिसन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीको सञ्चालनमा जोड दिने गरी बजेट ल्याएको आरोप समेत लगाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>