देश/प्रदेश
नयाँ ‘मोडल हन्ट नेपाल’ को खोजी सुरु
काठमाडौँ, जेठ १६-
प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को सातांै संस्करण सुरु भएको छ ।
आयोजक नेक्स्ट मोडल्स नेपालले एक बिज्ञप्ति जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’ (नयाँ सेसन) का लागि आवेदन खुल्ला भएको जनाएको हो ।
१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उँचाई हुनुपर्ने प्रावधान राखेको छ । आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ ।
उचित ज्ञान सहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने ब्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले बिगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
प्रतियोगिताको अडिसन अगामी चार असारदेखि साउनको अन्तिम सातासम्म हुनेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् ।
फाइनल प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकाश, शारीरिक बनावट, र्याम्प वाक, बडि ल्याङ्ग्वेज, फोटोशुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद पाँच लाख बराबरा उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।
पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरुले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभुति गराउनको साथै यस्ता प्रतियोगीताले दबिएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् । ‘सौन्दर्य प्रतियोगिताको आयोजक महिलाहरु पनि छन् । जसले महिलाको सुरक्षामा हरसम्भव प्रयास गरिरहेका छन्’ पाण्डेले थपिन् ।