Breaking News
रत्ननगरमा मेयरमा कांग्रेसका सापकोटा र उपमेयरमा एमालेका पाठकले अग्रता बढाउँदै

चितवन, जेठ ५-
चितवनको रत्ननगर नगरपालिकामा मेयरमा नेपाली कांग्रेसका पल्हाद सापकोटा र उपमेयरमा नेकपा एमालेका यादवप्रसाद पाठकले अग्रता लिएका छन् ।
मेयर पदका उमेदवार प्रह्लाद सापकोटा पाँच हजार ४३६ मतले अगाडि देखिएका छन् । २५ हजार मत गणना हुँदा एमालेबाट मेयर पदकी उमेदवार विमला दुवाडीभन्दा सापकोटा फराकिलो मतान्तरले अगाडि देखिएका हुन् । सापकोटाले १५ हजार १९ मत प्राप्त गर्दा एमालेकी दुवाडीले ९ हजार ५८३ मत पाएकी छन् । राप्रपाबाट मेयर पदका उमेदवार हरिशरण भट्टराईले ८९५ मत प्राप्त गरेका छन् । मेयरमा सापकोटाले सुरु देखिनै अग्रता लिँदै आएका थिए ।
उपमेयरमा नेकपा एमालेका यादवप्रसाद पाठक एक हजार ३२६ मतले अगाडि छन् । पाठकले १० हजार १९० मत प्राप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी समाजवादीका बद्रिनाथ घिमिरेले ८ हजार ८६४ मत पाएका छन् । उपमेयरमै राप्रपाकी विमला चौधरीले एक हजार १६९ र स्वतन्त्रबाट उमेदवारी दिएकी एमाले नेतृ विरञ्जना घिमिरेले एक हजार १६७ मत प्राप्त गरेकी छन् ।
रत्ननगरमा पाँच दलीय गठबन्धनबीच मेयर र उपमेयरमा मात्र गठबन्धन भएको थियो । सो पालिकामा वडा नं १, २, ३, ४, ५, ६, ८, १० नेपाली कांग्रेस, वडा नं ७ र ११ एमाले, वडा नं ९ स्वतन्त्र र वडा नं १२ माओवादी केन्द्रले जितेको छ । अहिले रत्ननगरमा वडा नं १३, १४, १५ र १६ को मत गणना भइरहेको छ ।
























