Breaking News

गठबन्धनले सार्वजनिक गर्‍यो भरतपुरको २२ बुँदे प्रतिवद्धतापत्र (पूर्णपाठसहित)

एशियाकै नमुना शहर बनाउनेदेखि वृद्धवृद्धालाई निःशुल्क बस सेवा

Banner

चितवन, वैशाख २०–

लोकतान्त्रिक वाम गठबन्धनले भरतपुर महानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

आज (मंगलबार) एक कार्यक्रमकाबीच महानगरपालिकाकी प्रमुखकी उम्मेद्वार रेनु दाहाल र उपप्रमुखका उम्मेद्वार चित्रसेन अधिकारीले २२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । गठबन्धनले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा बेरोजगारीमुक्त भरतपुरदेखि ७० वर्षमाथिका नागरिकलाई निःशुल्क बससेवा संचालन गर्ने उल्लेख छन् ।

प्रतिवद्धतापत्रमा सुशासन र सेवा प्रवाह–डिजिटल महानगर, एशियाली मापदण्डका भौतिक पूर्वाधार, सबैका लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटनःस्वरोजगारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम, बेरोजगारीमुक्त भरतपुर, यातायातमा केही महिनाभित्रै इलेक्ट्रिक बस संचालन, वन तथा वातावरण र जैविक विविधता–‘समृद्धिका लागि वन कार्यक्रम’, सक्षम, स्वस्थ र सुरक्षित महिला एवं बालबालिका विषयलाई समेटिएको छ ।

यस्तै भरतपुर देशकै खेलकुद केन्द्र, साहित्य, कला र सिर्जना, आदिवासी–जनजातिलाई पहिचान र आत्मसम्मान, भूमिहीनका लागि छत र स्वाभिमान, क्षमता र व्यावसायिकता अभिवृद्धिका लागि आमसंचार प्रतिष्ठान, सिँचाईको प्रत्याभूति, विद्युतीय चुल्होमा अनुदान, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम, जेष्ठ नागरिक सम्मान, बालबालिका लक्षित कार्यक्रम, मजदुर लक्षित कार्यक्रम र भगिनी सम्बन्धमा लगायतका विषय समेटिएको छ ।

प्रतिवद्धतापत्रमा ८ बुँदामा छुट्टै वाचा गरिएको छ । जसमा महिलासंग वाचाः सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशीलताको ग्यारेन्टी, भूमिहीनसंगको संकल्पः हरेकको आफ्नै घर हुनेछ, सबैको साझा शहर हुनेछ, कृषकसंगको प्रतिवद्धताः किसान पेन्सन, बिउदेखि ढुवानीसम्म अनुदान, उद्यमीसंग वाचाः ‘मेड इन भरतपुर’को ब्रान्डिङ र बजारीकरण, एक वडा, एक उत्पादन, एक उद्यम, जेष्ठनागरिकसंग संकल्पः घरमै स्वास्थ्यसेवा, विशेष भत्ता र विशेष संरक्षण, व्यवसायीसंग अठोटः देशमै सबैभन्दा राम्रो व्यावसायिक वातावरण, विद्यार्थीसंग वाचाः निःशुल्क इन्टरनेट, गुणस्तरीय शिक्षाको ग्यारेन्टी र युवाहरुसंगको प्रतिवद्धताः राजेगारी र स्वउद्यमको प्रत्याभूति, प्रविधिमैत्री महानगरको अनुभूति विषयलाई प्राथमिकताका साथ समेटिएको छ ।

सो कार्यक्रममा चितवन उद्योग संघका पूर्वअध्यक्ष एवं युवा उद्यमी राजु पौडेलले मुख्य मुख्य प्रतिवद्धता पत्रलाई प्रस्तुत गर्दै व्याख्या गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुखकी उम्मेद्वार रेनु दाहालले आफ्नो कार्यकालमा पुरा गर्न सकिने विषयलाई प्रतिवद्धतापत्रमा समेटिएको बताइन् । गत स्थानीय निर्वाचनमा पनि आफूले जोहर गरेको प्रतिवद्धतालाई पुरा गर्न सफल भएको भन्दै यसपटक पनि पुरा गर्न सकिने खालका विषयलाई मात्रै प्राथमिकतामा राखिएको बताइन् । उनले प्रतिवद्धतापत्र थोरै महत्वाकांक्षी देखिएपनि त्यसलाई केन्द्र र प्रदेश सरकारको साथ र सहयोगमा पुरा गरेरै छाड्ने वाचा गरिन् । ‘मलाई पनि केही बुँदाहरु महत्वाकांक्षी जस्तो होकी भन्ने लाग्यो तर त्यसो होइन, त्यति महात्वाकांक्षी भएन भने काम गर्नै सक्दैन, दृढ इच्छाशक्ति र लगाव हुनुपर्छ, म पुरा गर्नतर्फ लाग्छु’–दाहालले भनिन् ।

उपप्रमुखका उम्मेद्वार अधिकारीले पनि काम गर्नकै लागि प्रतिवद्धता जाहेर गरेको बताए । उनले सबैको सहयोगमा भरतपुर महानगरलाई सुन्दर र विकसित महानगर बनाउने दावी गरे । यस्तै गठबन्धनले चितवनका अन्य पालिकाका लागि तयार पारेको प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>