Breaking News

चितवनका सात स्थानीय तहमा उम्मेदवार मनोनयनको तयारी पूरा, उम्मेदवार छान्न सकस

Banner

पूजा ढकाल

चितवन, वैशाख १०-

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चितवनमा भोलि उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ ।

चितवनका सबै स्थानीय तहमा भोलि आइतबार र पर्सी सोमबार निर्वाचन कार्यालयले तोकेको तालिका अनुसार मनोनयन दर्ता गर्न सक्ने गरी तयारी गरिएको हो । तर, प्रमुख राजनीतिक दलहरु भने आज साँझसम्म पनि मनोनयनको लागि सबै उम्मेदवार छान्न सकेका छैनन् । सबै दलका आकांक्षी बढेसँगै उम्मेदवार छनोटमा ढिलाइ भएको छ ।

चितवनका जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीका अनुसार भोलिदेखि जिल्लाका सातै स्थानीय तहमा मनोनयन दर्ता प्रकिया सुरु हुँदै छ । जसमा भरतपुर महानगरपालिकाका दलहरुले मुख्य निर्वाचन कार्यलयमा आएर नाम दर्ता गर्न सक्ने उनको भनाइ छ । त्यस्तै अन्य नगरपालिका र गाँउपालिकाकाले भने पालिकाको कार्यालयमै गएर मनोनयन दर्ता गर्न सक्छन् । त्यस्तै उनी भन्छन्, ‘भोलि र पर्सी हुने र मनोनयन दर्ता प्रकियामा मेयर तथा अध्यक्षका दाबेदारले सोघोषणा पत्र भर्नुपर्छ र उनीहरुले पहिले भएको पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।’

निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ता गरेकाले वैशाख १३ गते आफ्नो नाम फिर्ता लिन सक्ने छन् । यदि अपाङ्गता भएका तथा वृद्धहरुले समेत उम्मेदवार मनोनयन दर्ता गर्न चाहे बेग्लै दर्ता हुने उनको भनाइ छ ।

भरतपुर माहानगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि भवनको प्रवेशद्वार सँगै र अन्य पदहरुका लागि वडागत रुपमा छुट्टाछुट्टै झ्यालबाट मनोनयन दर्ता गर्ने गरी व्यवस्था गरिएको छ । निर्वाचन कार्यालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार भवनको अग्रभागमा रहेको झ्याल नं १ बाट वडा नं १,२,३, झ्याल नं २ बाट ४, ५, ६, झ्याल नं ३ बाट ७, ८ ,९ ले मनोनयन दर्ता गर्न पाउने छन् । यस्तै झ्याल नं ४ बाट १०, ११, १२,झ्याल नं ५ बाट १३, १४, १५ झ्याल नं ६ बाट १६, १७, १८,झ्याल नं ७ बाट १९, २०, २१, झ्याल नं ८ बाट २२, २३, २४, झ्याल नं ९ बाट २५, २६, २७ र झ्याल नं १० बाट र २८ , २९ बाट मनोनयन दर्ता गर्न पाउने व्यवस्था गरिएको छ ।

खैरहनी नगरपालिकाले भोलिबाट सुरु हुने मनोनयन दर्ताका लागि समय तोकिएको छैन । मनोनयन दर्ताको लागि नगरपालिकामा ३–४ वटा टेबुल राखिने छ । यस्तै सोही ठाउँबाट दलहरुले मनोनयनदर्ता गर्न सक्ने उनले बताइन् । उनी भन्छिन्,‘ नगरपालिकामा ३–४ वटा टेबुल राखे पनि हाम्रो वडामा भोलि मनोनयन दर्ताका लागि आएका दल हेरेर प्रत्यक वडालाई टेबुल तोक्ने छौँ र हाम्रो रत्ननगर नगरपालिकामा १३ वटा वडा रहेको छ ।’ त्यस्तै आफूहरुले सबै दलहरुलाई एकैपटक नभएर सबै सल्लाह गरेर पालैपालो आउन अनुरोध गरेको उनको भनाइ छ ।

राप्ती नगरपालिकाको निर्वाचन अधिकृत श्यामप्रसाद दाहालले नगरपालिकामा सुरक्षा व्यवस्थाको लागि प्रशासनसँग सल्लाह गरी सकेको बताए । तर, पछिल्लो समय दलहरु अन्योलमा भएकोले समय तालिका भने तोकिएको छैन । त्यस्तै सबै दलहरुले नगरपालिकामा आएर भोलि र पर्सि सबैले एकै ठाउँमा पालैपालो मनोनयनदर्ता गर्न अनुरोध गरेको उनले बताए ।

भोलि १० बजेदेखि माडी नगरमालिकाको कार्यलयमा आएर दलहरुले मनोनयन दर्ता गर्न सक्ने माडी नगरपालिकाका निर्वाचन अधिकृत चुडामणिशर्मा गौतमले बताए । उनकाअनुसार मनोनयनदर्ताको लागि तीन वटा झ्याल राखिएको छ भने एउटा झ्यालमा तीन वटा दलहरुले मनोनयनदर्ता गर्न पाउने छन् । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने मनोनयन दर्ता प्रकियामा समय नतोकिएकोले पालैपाले जुन समय आए पनि दर्ता गर्ने उनको भनाइ छ । इच्छाकामना गाँउपालिकाका निर्वाचन अधिकृत ईश्वर आचार्य भन्छन्,‘ हामीले समय सिमा तय गरेको छैन त्यसैले जुन समय आए पनि हामी दर्ता गर्छौं ।’ त्यस्तै सबै दलहरु एकै पटक आउँदा झडप हुने भएकोले सबैलाई सल्लाह गरेर आउन बताइएको तथा सुरुक्षाको लागि प्रसाशनसँग सल्लाह गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>