चितवन विशेष
चितवनमा मर्यादित महिनावारीबारे अन्तरक्रिया

चितवन, वैशाख ६-
चितवनमा सोमबार मर्यादित महिनाबारी, राजनीतिक र सामाजिक सवालमा अन्तरक्रिया भएको छ ।
राधा पौडेल फाउन्डेसन काठमाडौँ तथा मर्यादित सञ्जालको सहकार्यमा पत्रकार महासंघ चितवनको सभा हलमा सो कार्यक्रम भएको हो ।
न्यायका लागि सक्रिय महिला मञ्च तथा मितेरी जैविक प्याड उत्पादन केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा राधा पौडेल फाउन्डेसनकी अध्यक्ष राधा पौडेलले अझै पनि देशका राजनीति दलका व्यक्तिहरु समेत महिनाबारी बार्ने गरेको बताइन् । त्यस्तै उनका अनुसार नेपालको पश्चिम भूभागमा मात्र नभएर सबै देशभरी महिनावारी बार्ने गरेका छन् । उनले महिलाहरुले लाजको विषय मान्ने गरेको बताइन् ।
महिनावारी एक प्राकृतिक प्रक्रिया भएको र पहाडी भूभागका किशोरी हावा पानी तथा खानपानको कारणले तुलनात्मकरुपमा तराईका किशोरी भन्दा ढिलो महिनावारी हुने उनको भनाइ छ । उनले भनिन्, ‘हाम्रो समाज अझै पनि महिनावारी बारेन भने कुलको देवता रिसाउँछ भन्ने रुढीवादी सोचाइमा बाचेको छ । त्यति मात्रै नभएर आमा दिदी महिनावारी हुँदा भान्छा र पूजा बार्दा आफू उनीहरु भन्दा ठूलो छु भन्ने धारण आउने गर्छ । त्यसैले महिनावारी बार्नु पर्छ, लुकाउनु पर्छ भनेर नभइ महिनावारी शुद्ध र सफा रगत हो भनेर सिकाउनु पर्ने उनको भनाइ छ । बच्चालाई सानै उमेरदेखि महिनावारी बारेमा बुझाउनु पर्ने र महिनावारी हुँदा स्वास्थ्यमा ख्याल राख्न सिकाउनु पर्ने उनको धारणा छ । त्यस्तै उनले कार्यक्रममा सक्रिय महिला मञ्चले विश्वको प्रजनन् स्वास्थ्य अधिकार क्षेत्रमा सन् १९९४ र नेपालमा सन् १९९८ देखि काम गर्न सुरु गरेको बताइन् ।
कार्यक्रममा मर्यादित महिनावारी सञ्जालका अभियानकर्ता समिर परियारले महिनावारी हुँदा बार्न भन्दा पनि मनाउनु पर्ने बताए । घरैबाट महिनावारी हुँदा बार्नु हुँदैन भन्दै अभियान सुरु गरेका उनले आफ्नो बहिनी पहिलो पटक महिनावारी हुँदा केक काटेर मनाएका थिए । अहिले उनी देशका विभिन्न ठाउँहरुमा महिनावारी बार्नु हुँदैन भन्दै अभियान चलाएर हिडेका छन् । त्यस्तै उनले आजको २१ औ शताब्दीमा आउँदा समेत मान्छेले महिनावारीलाई लाजको विषय बनाएको बताए । उनको अनुसार अबका दिनमा हामीले महिनावारी बार्नु पर्छ भनेर नभइ आफू पनि त्यही रगतबाट जन्मेको भनेर सबैलाई बुझाउनु आवश्यक रहेको विचार राखे ।
त्यस्तै अबका दिनमा हरेक क्षेत्रमा हाइजेनिक प्याडको व्यवस्था हुनपर्ने उनको विचार थियो । स्कुलमा पनि शिक्षक महिनावारीसम्बन्धी पाठ आउँदा घर पढ्दा नबुझे सोध र विद्यार्र्थीले पनि कसैले केही भन्छ कि भनेर नसोध्ने गरेर यो लाजको विषय भएको उनको धारणा छ । उनी भन्छन्, ‘समाजमा पहिने महिनावारीले विभेद भएको छ, महिनावारीले बालविवाहा ल्याएको, बाल विवाहले गरिबी ल्याएको र यो एउटा सञ्जाल जस्तो भएको छ । अझ त्यस्तै त्यही महिनावारी भएको रगतबाट जन्मको मान्छे पुजारीले मन्दिरसम्म पूजा गर्नु हुन्छ भने महिनावारी हुँदा किन महिला मन्दिर पस्न नहुने ? उनको प्रश्न छ ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रका महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकाल र अग्रज पत्रकार प्रतिमा सिलवालले आफू जीवनमा पहिलो पटक महिनावारी हुँदा र अन्य समएको अनुभव सुनाएका थिए ।

























