Breaking News

चितवनमा एमाले उम्मेदवारले भोट माग्न थाले, केन्द्रको निर्णय कुर्दै गठबन्धनका नेता

Banner

मधुसूदन दवाडी

चितवन, वैशाख ५-

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चितवनमा एमाले उम्मेदवारहरुले भोट माग्न सुरु गरेका छन् । तर, गठबन्धनका नेता तथा कार्यकर्ताहरु भने अझै अन्योलमा देखिन्छन् ।

एमालेले चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरको मेयरसहित इच्छाकामना गाउँपालिकाको अध्यक्षको उम्मेदवार र अन्य वडाका उम्मेदवार टुंग्याइसकेको छ भने गठबन्धनका दलहरु भने केन्द्रीय नेताहरुको निर्णयलाई कुरेर बसिरहेका छन् । भरतपुर माओवादीलाई दिने भन्ने निश्चित जस्तै भइसके पनि यसबारे आधिकारिक पत्र चितवन आएको छैन । पहिले भरतपुरमा गठबन्धनबीच सहमतिमा उम्मेदवार टुंग्याएपछि मात्र अन्य स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाउने गठबन्धनको सोच छ ।

एमाले चितवनले भरतपुरमा मेयरसहित १९ वटा वडामा वडा अध्यक्षको उम्मेदवार टुंगो लगाइसकेको छ । त्यस्तै इच्छाकामनामा अध्यक्षसहित लगभग सबै वडा टुंगो लागिसकेको छ । एमाले अध्यक्ष रामप्रसाद न्यौपानेको अनुसार खैरहनीमा ६ वटा वडा, रत्ननगरमा पाँच वटा, राप्तीमा सात वटा वडा, माडीमा सातवटा वडा सर्वसम्मत भएका छन् । उनले बाँकी सबै स्थानीय तहका उम्मेदवारहरुको छनोट सात गतेसम्म सक्ने गरी एमाले जिल्ला कमिटीले काम गरिरहेको बताए । उनले भने, ‘ उम्मेदवारहरुले नागरिकसँग भेटघाट र सम्पर्क बढाएर भोट माग्ने काम सुरु गरिसकेका छन् ।’ अध्यक्ष न्यौपानेले अन्तिम घरदैलो अभियान भने उम्मेदवारको मनोनयन भइसकेपछि सुरु हुने नारायणी अनलाइनलाई बताए । एमालेका उम्मेदवारहरुले आफ्नो फेसबुक पेज बनाएर सामाजिक सञ्जाल र भेटघाटलाई तीव्र बनाउन थालिसकेका छन् ।

भरतपुर महानगरका मेयरका उम्मेदवार विजय सुवेदीले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएर भोट माग्ने काम सुरु गरिसकेका छन् । उनी विभिन्न वडाका कार्यक्रममा सहभागी भइरहेका छन् । त्यस्तै, वडा नम्बर ११ का वडा अध्यक्षका उम्मेदवार कमल मल्लले सामाजिक सञ्जालमा ‘कमल मल्ल जिताऔं अभियान’ सञ्चालन गरिसकेका छन् तर कांग्रेस, माओवादी र समाजवादीका नेताहरु भने अझै कसले पाउने हो अवसर भनेर अन्योलमा नै देखिन्छन् ।

नेपाली कांग्रेस चितवनका सचिव सूर्य अर्यालले गठबन्धनसँग आवद्ध दलहरुको चितवनमा छलफल र बैठक बसिरहेको भए पनि महानगरको निर्णय के आउँछ भनेर केन्द्रको निर्णय पर्खेर बसेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ भरतपुर महानगरको मेयर र उपमेयर कुन दललाई पर्छ भन्ने फाइनल भएपछि मात्र अन्य स्थानीय तहमा भागबन्डा हुन्छ । भरतपुर कै टुंगो नभएकोले अन्य स्थानीय तहमा उम्मेदवारको सहमति भएको छैन । हामी केन्द्रको निर्देशनलाई पर्खिएर बसिरहेका छौं ।’ उनले छिटै उम्मेदवारको टुंगो लागेमा सुनमा सुगन्ध हुने थियो भन्ने आशा व्यक्त गरे । उनले भने, ‘जनताको माझमा जाने कुरा खासै नौलो नभए पनि उम्मेदवार टुंगो नलागेकोले केही न केही कन्फ्युजन भने हुँदो रहेछ ।’ गठबन्धनका दलहरु भरतपुरको भागबन्डा मिलिसकेपछि मात्र अन्य स्थानीय तहमा उम्मेदवारको भागबन्डा गर्ने पक्षमा देखिन्छन् । तुलनात्मकरुपमा एमालेलाई भन्दा चितवनमा गठबन्धनका दलहरुलाई उम्मेदवार छान्न बढी सकस देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>