Breaking News

मतदाता शिक्षा कार्यक्रम अन्योलमाः यसपटक मत बदर हुने सम्भावना झन् बढि

Banner

चितवन,चैत २९-

निर्वाचन लक्षित मतदाता शिक्षाका लागि प्रत्येक मतदान केन्द्रमा स्वयंसेवक नियुक्त गरेर नमूना मतपत्र देखाएर घरदैलो कार्यक्रम गर्नुपर्ने हुन्छ । तर, स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा चितवनमा निर्वाचन लक्षित मतदान शिक्षा कार्यक्रम अन्योलमा देखिएको छ ।

‘यसअघि गाउँगाउँमा एक महिना अघिदेखि मतदाता शिक्षाका कार्यक्रम सञ्चालन हुन्थे । तर, अहिले यसबारे लेखेर आएको छैन,’ निर्वाचन कार्यालय चितवनका प्रमुख जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले भन्नुभयो, ‘यसपटक मिडिया मार्फत मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको सुनिएको छ । निर्णय भएर आएको छैन ।’ स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका कार्यक्रम प्रभावित हुने उहाँले बताउनुभयो ।

कार्कीका अनुसार मतदान केन्द्रमा नमूना मतपत्र लिएर मतदाता शिक्षा प्रदान गरिने छ । ‘पहिले जस्तो मतदाता शिक्षाका कार्यक्रम लगेर गाउँगाउँ पुग्ने हाम्रो कार्यक्रम छैन । सरकारले खर्च कम गर्ने भनेको छ,’ उहाँले भन्नुभयो, ‘मत हाल्ने समयमा मत हाल्ने तरिका सिकाउने तयारीमा छौँ ।’

विगतमा पनि उम्मेदवारी घोषणासँगै आयोगले मतदाता शिक्षालाई अगाडि बढाएको हुन्थ्यो । त्यति गर्दा पनि अधिक मात्रामा मत बदर हुँदै आएको थियो । चितवनको माडी नगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएको थियो । अहिले पनि मत बदर हुने सम्भावना बढी रहेको कार्की बताउनुहुन्छ ।

भरतपुर महानगरपालिका ४ लंकूका वामदेब घिमिरेले मतदाता शिक्षा आवश्यक रहेको बताउनुभयो । ‘निर्वाचन प्रकृयाहरु समय समयमा परिर्वतन हुने गर्दछन् । पहिले गाविस अध्यक्ष भन्थे । अहिले यो प्रावधान नै हटेको छ,’ उहाँले भन्नुभयो, ‘यस्ता विषयमा पनि जानकारी दिएर जनताले दिएको मत खेर नजाने वातावरण बनाउनुपर्दछ ।’ जनताले दिएको भोटको सही सदुपयोग हुनेगरी मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।

मतदाता शिक्षालाई प्रभावकारी रुपमा घर–घरमा पुर्‍याउन निर्वाचन आयोगलाई विगतमा भन्दा यसपटक चुनौति पनि छ । छोटो समयमा निर्वाचन गर्नुपर्ने देखिएको छ । अब निर्वाचन हुन ३१ दिन बाँकी छ । विसं २०७९ साल वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा चितवनबाट २७ वटा राजनीतिक दलले भाग लिन निवेदन दिइसकेका छन् ।

राष्ट्रिय मान्यता पाएका ६ वटा दलबाहेक पनि अन्य दलले निर्वाचन आयोगले दिने चिन्हबाट उम्मेदवार चुनाव लड्ने हुँदा मतपत्र लामो हुने अवस्था छ । सोही कारण प्रत्येक वडाहरुको फरक–फरक मतपत्रका कारण मतदानमा मतदाता अलमलमा पर्ने अवस्था छ । जटिल, लामो मतपत्र र प्रभावकारी मतदाता शिक्षा नहुँदा विगतमा बदर मत चितवनमा ३ दशमलव ५१ प्रतिशत थियो ।

दुई लाख ४० हजार ११४ खसेको मतमध्ये आठ हजार १४१ मत बदर भएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । माडी नगरपालिकामा ९ दशमलव ८० प्रतिशत मत बदर भएको थियो । माडीमा १६ हजार ३१९ मत खस्दा एक हजार ६०० मत बदर भएका थिए ।

माडीपछि इच्छाकामना गाउँपालिकामा ६ दशमलव ४२ प्रतिशत मत बदर भएको थियो । इच्छाकामनामा नौ हजार ३५९ मत खस्दा ६०१ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । कालिकामा नगरपालिकामा ५ दशमलव ७६, राप्ती नगरपालिकामा ५ दशमलव ५४, रत्ननगर नगरपालिकामा ५ दशमलव २९ मत बदर भएको छ ।
चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकामा भने न्यून मत बदर भएको देखिन्छ । भरतपुर महानगरपालिकामा १ दशमलब २६ प्रतिशत मत बदर भएको देखिन्छ । यहाँ एक लाख १२ हजार ८९७ खसेका मत मध्ये १ हजार ४२४ मत बदर भएका थिए । त्यस्तै खैरहनी नगरपालिकामा १ दशमलव ३० प्रतिशत मत बदर भएको थियो । खैरहनीमा २५ हजार ६२ खसेका मतमध्ये ३२५ मत मात्र बदर भएका थिए ।

विसं २०७४ सालको निर्वाचनमा भन्दा यसपटक ८४ हजार ६८३ मतदाता थपिएका छन् । नयाँ मतदातालाई मतदान प्रकृयाबारे ज्ञान नहुन सक्छ भने निर्वाचन प्रकृया परिर्वतन भैरहदा पुराना मतदाता पनि झुक्किन सक्छन् । त्यसैले जनताको अमूल्य मत खेर जान नदिन मतदाता शिक्षालाई यसपटक प्रभावकारी बनाउनतर्फ आयोग संवेदनशील बन्न आवश्यक रहेको पूर्व सह–प्राध्यापक विष्णुहरि शर्मा बताउनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>