अर्थ

नेपाल अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम

Banner

काठमाडौं,चैत २८-

पछिल्ला समय सरकारले विभिन्न स्रोत र हुन्डी एवं क्रिफ्टोकरेन्सीबाट आवतजावत भइरहेको अवैध धनलाई नियन्त्रण गर्न नसकेर देशको अर्थतन्त्र संकटमा परेसँगै मुलुक अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ ।

गत २५ चैतमा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी पदमुक्त गर्ने प्रक्रिया अघि बढाएपछि अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट आइतबार पार्टीको धारणा प्रस्तुत गर्ने क्रममा पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, विष्णुप्रसाद पौडेल र डा. युवराज खतिवडाले सरकारका कारण मुलुक अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको बताएका हुन् ।

सरकारले स्रोत नखुलेको पैसा ल्याउन दिएर देशलाई कालोसूचीमा पार्न लागेको उनीहरूको आरोप छ । पूर्वअर्थमन्त्री डा. खतिवडाले यो सरकारले अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढाएको बताए ।

अहिले देशको सम्पूर्ण आर्थिक सूचक नकारात्मक अवस्थामा पुगेको बेला आर्थिक सुधारात्मक काम गर्नुपर्नेबेला उल्टै गर्भनर हटाएर सरकारले सम्पत्ति शुद्धीकरणको चपेटामा देसलाई धकेलेको उनको आरोप छ ।

उनले सरकारको यही कमजोरिकै कारण अब सन् २०२२ को अन्त्यसम्म हुने सम्पत्ति शुद्धीकरणको अन्तर्राष्ट्रिय मूल्यांकनमा देशलाई नै अप्ठ्यारो पार्ने बताए । पूर्वअर्थमन्त्री खतिवडाले भने, ‘नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम छ । यो अनुगमनमा पर्नु भनेको ग्रे हुँदै कालोसूचीमा पर्नु नै हो ।’

अर्का पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बजेट बनाउने समय हुन लागेका बेला राष्ट्र बैंकका गभर्नरलाई हटाउनु सरकारको ठूलो कमजोरी भएको बताए । पाण्डेले वर्तमान अर्थमन्त्री शर्माले आफ्नो कमजोरी लुकाउनकै लागि गभर्नर अधिकारीमाथि छानबिन सुरु गरिएको बताए ।

‘हामी पनि अर्थमन्त्री थियौं । कसैको खाता फुकुवा गरिदिन मन्त्रीले भन्न मिल्दैन । यदि हाम्रा संयन्त्र दह्रो हुने हो भने यही विषयमा मन्त्रीलाई लगेर थुन्नुपर्ने हो,’ पूर्वअर्थमन्त्री पाण्डेले भने । यसैगरी, उनले श्रीलंकामा आर्थिक संटक आएपछि त्यहाँका अर्थमन्त्री देश छोडेर भाग्न लागेको विषय आफूले सुनेको बताउँदै अब त्यो दिन नेपालमा पनि नआओस् भन्ने आफूले चाहेको धारणा राखे ।

उनले अहिलेको अवस्था हेर्दा नेपालमा राजनीतिक संकटभन्दा आर्थिक संकट थप जटिल हुन सक्ने बताए । अर्का पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले सरकारका गलत नीतिलाई सच्याउन आग्रह गरेकै कारण नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई पदमुक्त गर्न यस्तो गरिएको बताए । उनले सरकारका गलत नीतिलाई सच्चाउन आग्रह गरेकै कारण गभर्नर हटाइएको दाबी गरे ।

देशको अर्थ व्यवस्था’जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री पौडेलले सरकारको गलत नीतिको मुकाबिला गर्ने, सामना गर्ने तर्कयुक्त ढंगले सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गर्ने पोजिसनमा रहेकै कारणले गभर्नरलाई हटाइएको आरोप लगाए ।

सरकारको निर्णयले मुलुकको अर्थतन्त्रलाई अरू धरासायी बनाउने दाबी गर्दै उनले गभर्नरमाथि स्पष्टीकरण सोध्यो कार्य व्यक्तिमाथि भन्दा पनि प्रणाली स्थापित गर्ने संस्थाको प्रमुखमाथि गरिएको हस्तक्षेप रहेको बताए । सरकारका अवाञ्छित आकांक्षालाई पूरा गर्न गर्भनर अधिकारी सहयोगी नबनेकाले नै सरकारले वित्त नीतिमा यस्तो प्रकारको हस्तक्षेप गरेको बताउँदै पौडेलले भने, ‘त्यो हस्तक्षेपले नेपालको अर्थतन्त्रलाई जुन दिशामा धराशायी गर्ने सम्भावना छ ।’

यस्तो अवस्थामा अर्थमन्त्रीले मुलुकलाई आर्थिक संकटबाट बचाउनुपर्नेमा उल्टै गलत गतिविधि भइरहेको उनीहरूको आरोप छ । उनीहरूका अनुसार अवैध तरिकाबाट आर्जित सम्पत्तिको छानबिन र कारबाहीमा पर्याप्त प्रयास नगरिरहेको अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ ।

‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यावसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धनभित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन’ उनीहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>