Breaking News
रत्ननगर नगरपालिका बन्यो चितवनको पहिलो बालमैत्री नगर, ४२९ बालबालिका श्रममुक्त

चितवन, चैत २२-
चितवनको रत्ननगर नगरपालिका जिल्लामै पहिलो बालश्रममुक्त तथा बालमैत्री नगर बनेको छ ।
४२९ जना बालबालिकालाई श्रममुक्त गरी सो नगरपालिका बालमैत्री नगर बनेको हो ।
रत्ननगर चितवनमा बालमैत्री नगर घोषणा हुने पहिलो नगर बनेकोे छ । देशभरका स्थानीय तह मध्ये पाँचौं स्थानमा परेको छ । मंगलबार नगरपालिकापरिसरमा आयोजित कार्यक्रममा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले सो नगरपालिकालाई बालश्रम मुक्त तथा बालमैत्री नगर घोषणा गरेका हुन् ।
६ वर्षको अवधिमा नगरभित्र रहेका ४२९ जना बालबालिकालाई श्रममुक्त गरी नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको मेयर नारायण वनले बताए । नगरपालिकालाई बालमैत्री घोषणा गर्नुपूर्व श्रममुक्त गरेका मध्ये २८९ जनालाई विद्यालय भर्ना गरेर शिक्षा दिएको छ भने १४० जनालाई सीपमूलक तालिम दिएर रोजगार बनाइएको मेयर वनले बताए । २०६४ सालबाट २०६८ सालसम्म आइपुग्दा ५५८ जना बालश्रमिक रहेका सो नगरपालिकामा २०७३ सालमा त्यो संख्या केही घटेर ४२९ मा झरेको थियो ।
नगरपालिका भित्र बालश्रमिक छैनन् भन्ने सुनिश्चित गरी बालमैत्री घोषणाा गरिएको उपमेयर विमला दुवाडीले बताइन् । घोषणा सभामा मन्त्री खनालले मेयर वनलाई प्रमाणपत्र हस्तान्तरण गरी रत्ननगर बालश्रम मुक्त भएको उद्घोष गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले बालश्रम विरुद्ध आवाज उठाउने, आफूले पनि प्रयोग नगर्ने र प्रयोग गर्नेलाई कानुनी कारबाहीको लागि पहल गर्न भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
कार्यक्रममा बालश्रम मुक्त भएका १६ वटै वडालाई प्रमाणपत्र, बालबालिकाको स्थितिपत्र सार्वजनिक तथा नगरस्तरीय बाल क्लब र वडास्तरीय बाल क्लबहरुलाई खेलकुदका सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री खनालले बालश्रम मुक्त र बालमैत्री नगर घोषणाले बालबालिकाको जीवनमा परिर्वतन ल्याउने बताए ।
यो सामान्य किसिमको घोषणा होइन । उनले भविष्यका कर्णधारहरुको भविष्य सुरक्षित गर्न गरिएको महत्वपूर्ण काम हो । मन्त्री खनालले बालअधिकारलाई राज्यले नीतिगत अंगको रुपमा लिएर काम गर्नुपर्ने र त्यसका लागि आफू प्रयत्नशिल रहने बताए । प्रदेश सभा सांसद कञ्चन खनालले बालश्रम विरुद्ध आफूले प्रतिबद्धतामा हस्ताक्षर गरेको र बालश्रम विरुद्धका काम र अपराध गरेको पाइए खबरदारीसँगै कानुनी प्रक्रियाका लागि प्रयत्नशिल रहने बताइन् ।
मेयर वनले आफ्नो पछिल्लो पाँच वर्षे कार्यकालको महत्वपूर्ण काम बालमैत्री घोषणा रहेको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, सामाजिक विकास समितिका संयोजक केशव आचार्य, एमालेका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल, नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्यामप्रसाद बराल, समाजबादी पार्टीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष रोजिशा घिमिरे, अधिकारकर्मी नविना गुरुङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम महिला विकास अधिकृत दीपा घिमिरेले सञ्चालन गरेकी थिइन ।
























