Breaking News

भरतपुर महानगरपालिकाः गठबन्धन भर्सेज एमाले, कुन पार्टीको शक्ति कति ? (२०७४ को मतसहित)

Banner

चितवन,चैत १९-

स्थानीय तहको निर्वाचन हुन ४१ दिन बाँकी छ । राजनीतिक दलहरुले चुनावी प्रचारप्रसारलाई तिब्र बनाइरहेका छन् । केन्द्रकै ध्यान तानिरहेको भरतपुर महानगरपालिकाको चर्चा बिशेष छ । यहाँ कस्ले निर्वाचन जित्छ भन्ने एकीन छैन । तर, यहाँ मुख्य प्रतिसप्रर्धा तीन मुख्य ठुला पार्टीको नै हुने सहजै अनुमान लगाउन सकिन्छ ।

भरतपुरमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनका कारण प्रमुखमा प्राप्त मतका आधारमा छुट्याउन कठिन छ । वडामा छुट्टाछुट्टै लडेका दलहरुको पछिल्लो २०७४ को नतिजा हेर्ने हो भरतपुर महानगरमा नेकपा(एमाले),नेपाली कांग्रेस र माओवादीको मत बढी छ ।

गत स्थानीय तहमा भएको निर्वाचनको वडा अध्यक्षको नतिजालाई हेर्ने हो भने महानगरको प्रमुख शक्ति नेपाली कांग्रेस नै हो । २९ नम्बर वडाका अध्यक्षहरुले ल्याएको नतिता हेर्दा नेपाली कांग्रेसको ३८ हजार १२७ छ । एमालेको ३७ हजार १९५ हुन आउँछ । यद्यपि एमालेले भरतपुर २६ नम्बर वडामा वडा अध्यक्ष उठाएको थिएन् । त्यहाँ माओवादीलाई सहयोग गरेको थियो । सो वडाको एमालेले पाएको मत यहाँ गणना गरिएको छैन ।

महानगरमा नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्र, काग्रेस र एमाले भन्दा धेरै पछि देखिन्छ । वडा अध्यक्षका लागि २९ वटै वडामा उमेद्वार दिएको माओवादीले २१ हजार ११८ मत ल्याएको थियो ।

यसरी २०७४ को मत परिणाम केलाउँदा अझै कस्ले बाजी मार्छ एकीन् गर्न सकिँदैन । सोझो हिसाबमा हेर्दा अहिलेपनि महानगरपालिकामा कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा जाँदा गठबन्धनको उमेद्वार बलियो बन्ने देखिन्छ । तर, नयाँ थप भएका ३५ हजार ४७९ मतदाताको मत कता जान्छ स्पष्ट भन्न सक्ने अवस्था छैन । उनिहरुको मत नै निर्णायक हुने आकलन गर्न सकिन्छ ।

भरतपुरमा अहिलेपनि कांग्रेस र माओवादीबिच गठबन्धन हुने लगभग निश्चित जस्तै छ । तर, कांग्रेसभित्र देखिएको बिद्रोहका कारण एमालेले फाइदा लिन सक्ने अनुमान राजनीतिक कर्मीहरुले गर्दै आएका छन् । गठबन्धनबाट कांग्रेसले टिकट ल्याएमा उनिहरु बलियो बन्ने देखिन्छ । तर, यसपटक पनि गठबन्धन गर्दा माओवादीको भागमा भरतपुर परे कांग्रेसको बिद्रोह पक्ष एमाले जिताउन लाग्ने सम्भावना छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले राजधानीमा कुनै पनि हालतमा यस क्षेत्रमा प्रचण्ड र रेनु दुवै जनालाई सहयोग गर्न नसक्ने अभिव्यक्ति दिएका थिए । उनको यस्तो अभिव्यक्तिले पनि माओवादी केन्द्र हच्किएको छ । तर, केही दिनअघि चितवन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरमा माओवादीको दावी यथावत रहेको बताएका थिए । कांग्रेस र एमाले भन्दा तुलनात्मक रुपमा कमजोर रहेको माओवादीको मत अहिले बढेको माओवादी नेताहरु दावि गर्दै आएका छन् । उनीहरु एक्लै भिड्न सक्षम रहेको अभिव्यक्ति समेत दिँदै आएका छन् । बिशेष गरि १८ र १६ मा माओवादी बलियो बन्दै गएको उनीहरु बताउँदै आएका छन् ।

यस्तो अवस्थामा कांग्रेसको शेखर कोइराला पक्ष चितवनमा एक्लै चुनाव लड्ने मनस्थितीमा रहेको देखिन्छ । कांग्रेसका अर्का केन्द्रीय सदस्य दिनेश कोइराला गठबन्धन हुँदा तिक्ता बढ्ने भन्दै एक्लै निर्वाचनमा जानुपर्ने बताएका थिए । यसअघि हारेका वडामा एमाले र माओवादी केन्द्र गठबन्धन हुँदा पनि चितवनमा भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसले तीन वटै वडा जितेको उदाहरण दिँदै कोराईरालाले भने, ‘जनता गठबन्धनको पक्षमा छैनन् । कांग्रेसले भरतपुरमा एक्लै जित्न सक्षम छ ।’

२०७४ सालको निर्वाचनमा गठबन्धन हुँदापनि एमालले भरतपुरबाट राम्रो मत ल्याएको थियो । वडा नम्बर १९ मा मतपत्र नच्यातिएको भए एमालले मेयर पद जित्ने पक्का थियो । अहिले एमाले फुटेको भएपनि त्यति ठूलो प्रभाव नपर्ने एमाले नेताहरुले बताउने गरेका छन् । चितवनमा नकेपा विभाजन भएर एमाले र माओवादी केन्द्र हुँदा माओवादी केन्द्रका धेरै नेता कार्यकर्ता एमालेमा रहेकोले पार्टी झन् बलियो भएको एमालेको दाबी छ । भरतपुरमा अन्य पार्टीको तुलनामा एमालेको संगठन बलियो छ ।

यहाँ वडागत हिसाबले हेर्न हो भने भरतपुरका २९ वडा मध्ये नेकपा (एमाले) ले १४ वडा विजयी भएको थियो । नेपाली कांग्रेसले १२ र माओवादी केन्द्रले ३ वडामा विजयी भएका थिए । माओवादीले जितेको तीन मध्ये पनि एउटामा एमालेको समर्थन थियो । एमालेबाट वडाध्यक्ष जितेका मध्ये पाँच जना नेकपा एस तिर लागेका छन् । यद्यपि भरतपुरमा एमालेमा फुटको असर नरहेको नेकपा (एमाले)का उपसचिव प्रकाश ढुंगाना बताउँछन् । ‘हाम्रोमा पार्टी प्रवेश गर्ने क्रम बढ्दो छ’, उनले भने, ‘अन्य दलहरुबाट आएका व्यक्तिहरुबाट पहिलेकै अवस्थामा आएका छौँ ।’

यसअघि पुरै भोट गठबन्धनमा खसेको थिएन । कांग्रेस र माओवादीको मत जोड्दा प्रमुख रेनु दाहालले ५९ हजार २४५ मत प्राप्त गर्नुपर्ने देखिन्छ । तर, गठबन्धन हुँदा पनि १६ हजार ११८ कांग्रेसका मत दाहाललाई गएको देखिंदैन । दाहालले ४३ हजार १२७ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका उमेद्वार देवी ज्ञवालीले आफ्नो दल बाहेक ५ हजार ७२९ मत प्राप्त भएको देखिन्छ । ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । यस्तै राप्रपाबाट उठेका बद्री तिमील्सीनाले ६ हजार ८४२ मत ल्याएका थिए । अहिले उनी माओवादी केन्द्रमा छन् । भरतपुर महानगरमा राप्रपा चौथो शक्तिको रुपमा छ । यसपटक पार्टी झन् बलियो भएको राप्रपा सहमहामन्त्री एवं बागमती प्रदेशकी सांसद रिना गुरुङले बताइन् ।

उप प्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीलाई पनि गठबन्धनको पुरा मत गएको छैन । ठकुरीलाई १२ हजार मत गएको छैन् । उनले ४७ हजार १९७ मत प्राप्त गरेकी थिईन् । निकटतम प्रतिस्पर्धी दिव्य शर्मालाई ३९ हजार ५५२ मत प्राप्त भएको थियो । राप्रपाका रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गरेकी थिइन् । एमाले, कांग्रेस, माओवादी र राप्रपा बाहेक अन्य दलले पाँच सय मत पनि कटाएका थिएनन् । महानगर प्रमुखमा १४ जनाको चुनावी प्रतिसप्रर्धामा गएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>