इच्छकामना

चितवनमा पहिलोपटक बालबालिकालाई टाइफाइड विरुद्ध खोप लगाइँदै

Banner

चितवन,चैत १८-

चितवनमा पहिलो पटक बालबालिकामा सञ्चालन गर्न लागिएको टाइफाइड विरुद्धको खोप अभियानको तयारीलाई तीब्र पारिएको छ । स्वास्थ्य कार्यालय चितवनले बालबालिकाको संख्या संकलन, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम लगायतको कार्यलाई तीब्र पारेको हो ।

‘चैत्र २५ गतेदेखि सञ्चालन हुन लागेको खोप अभियानलाई सफल बनाउन सोमबारदेखि तालिम सञ्चालनका काम थालेका छौँ । चैत्र १४ र १५ गते स्थानीय तहका स्वास्थ्य संस्था प्रमुखलाई तालिम प्रदान गर्‍यौं,’ स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख राम केसीले भन्नुभयो, ‘अब स्वास्थ्य संस्थाका प्रमुखहरुसँग दुई दिनको अभिमुखीकरण तालिम सञ्चालन गर्छाैँ ।’ केसीका अनुसार २३ गतेसम्म स्वास्थ्यकर्मी तथा स्वयंसेविका लागि अभिमुखीकरणका कार्यक्रम सञ्चालन हुनेछन् । स्थानीय तहले बालबालिकाको विवरण संकलन गरिरहेका छन् ।

चितवनमा चैत्र २५ गतेदेखि वैशाख १८ गतेसम्म बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुनेछ । यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप प्रदान गरिने निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । ज्वरो आएको समयमा दिन नमिल्ने उहाँले बताउनुभयो । विशेषगरि एक पटक लगाएपछि अर्को पटक लगाउन पर्दैन । सरकारले यस कार्यक्रमलाई नियमित अभियानका रुपमा सञ्चालन गर्दै लैजाने उहाँले बताउनुभयो ।

‘सरकारले देशैभर राष्ट्रिय अभियानका रुपमा खोप कार्यक्रम ल्याएको छ’, उहाँले भन्नुभयो ‘दुई वर्ष सरकारले झाडापखला रोक्नका लागि सञ्चालन गरेको ‘रोटा खोप’ जस्तै नियमित प्रकृयामा सञ्चालन हुन्छ ।’ जिल्लामा यो समूहका करिब एक लाख ३२ हजार बढी रहेको अनुमान छ । सोही अनुसार तयारी गरिएको उहाँले बताउनुभयो । जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाउनेगरी तयारी थालिएको छ । सात स्थानीय तहमा १०९ वटा स्वास्थ्य संस्था छन् ।

पूरा टाउको दुख्ने दूषित खानापानीबाट लाग्ने रोगको सुरक्षा प्रदान गर्नका लागि यो खोप महत्वपूर्ण मानिएको छ । नेपालमा १५ वर्षमुनिका एक लाख बालबालिकामध्ये ११ हजार जनालाई टाइफाइड देखिने गरेको भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । महानगरपालिकमा रोग नियन्त्रण गर्नका लागि ६० हजार बालबालिकामा खोप लगाउने गरि तयारी थालिएको उहाँले बताउनुभयो । एक पटक लगाएपछि दादुरा रुबेला खोपको दोस्रो मात्रा दिने समयमा टाइफाइड विरुद्धको खोप लगाउनेगरि सरकारले कार्यक्रम ल्याएको छ । यो खोप भारतमा बनेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>