Breaking News

चितवनको काउलेमा बिजुली आएसँगै विकास पनि आउने स्थानीयको आशा

Banner

प्रतिमा कुमाल

चितवन, चैत १६ –

चितवन सुगम जिल्लाको रुपमा परिचित छ । २१ औं शताब्दीको संस्कार संस्कृतिमा दौडिरहेको चितवनको इच्छाकामना गाउँपालिका भने अझै विकट नै छ । त्यहाँका धेरै मानिसहरुले बिजुली, मोबाइल, नेट, इन्टरनेट चलाएका छैनन् । टेलिभिजन कस्तो हुन्छ भन्ने दूरदराजका मानिसलाई थाहा नै छैन । यस्तोमा गाउँपालिकाको वडा नम्बर २ तल्लो र माथिल्लो काउलेमा पहिलो पटक बिजुली पुगेको छ ।

बिजुली आएसँगै विकास पनि आउने स्थानीय जानुका राना मगरमा आशा पलाएको छ । ‘बिजुली आएपछि तेल किन्न परेन । खर्च कम भयो । कुटाउने पिसाउने मिल पनि बनेको छ । लाइन आएपछि सुविधा पाउने आशा छ,’ उनको भनाइ छ ।

अहिले त्यहाँका बासिन्दाले सोलारबाट आफ्नो दैनिकी चलाइरहेका छन् । तर, अझै टुकी बत्ती हराएको छैन । छोराछोरीको पठन–पाठनमा गरेको प्रयास विकास बनेर फर्किएको मगरको भनाइ छ । उनले भने, ‘हामी पढे–लेखेका छैनौं । घास–दाउरा गरेर बसेको मान्छे हौं, हामी त । विद्युत् कस्तो ठाउँमा भन्न गए पाइन्छ । के बोल्नु पर्छ थाहा थिएन । हामीले नपढे पनि बच्चाहरुलाई पढाएऔं । छोराहरु पढे पछि पहल गरेछन् । उनीहरुले विकास गरेको छ । अहिले मोटर बाटो पनि आएको छ । त्यसपछि बिजुली पनि आयो ।’

टुकी बत्ती बाल्दा आगलागी पनि हुने गरेको उनले दुःख पोखे । आफूहरुलाई यस्तो दुःख नपरे पनि चेपाङ बस्तीमा आगोले क्षति पु¥याइरहेको उनले बताए । जनप्रिय माध्यमिक विद्यालय काउलेका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले बिजुलीले नयाँ युगमा प्रवेश गरेको अनुभुति भएको जीकिर गरेका छन् । ‘काउलेमा धेरै पछाडि विद्युत्को बिस्तार भयो । यो भन्दा पहिला यहाँ धेरै समस्या भोगेऔं । कहाली लाग्दो अवस्था वर्णन गरेर साध्य नै छैन । पढ्न, साँझको खाना खान, काम गर्न टुकी बालेर काम चलाएऔं । नाकभरी धुवाका कारण कालो जम्थ्यो । त्यस्ता धेरै दुःख काटिसके पछि सामान्य किसिमको सोलार सिस्टमहरु आयो । अहिले पनि त्यहीबाट मात्रै जीवन चलिरहेछ । पुरानै युगमा हामी चलिरहेको अवस्था छ । यस्ता धेरै समस्यालाई अब विद्युत् विस्तारले विस्थापित गर्छ भन्ने आशा छ,’ उनको भनाइ छ ।

गाउँमा बिजुली भित्रेसँगै शिक्षा क्षेत्र र प्राविधिक विकास हुने प्रधानाध्यापक अधिकारीको विश्वास छ । कृषि उत्पादनमा राम्रो फड्को मारिहेको काउलेका किसानले फलफूल तरकारी बिग्रने समस्याबाट छुटुकारा पाउने उनले बताए । ‘कुटानी पिसानी गर्ने मिल चलाउनेदेखि लिएर यहाँ कृषि पनि हुन्छ । बजार नपाएको अवस्थामा समस्या थियो । अब त्यसलाई स्टोर गर्न सक्ने र प्रविधिले विकास भएका यन्त्रहरुलाई प्रयोग गर्न पाउने छौँ ।’ अधिकारीले अब टेलिभिजन हेर्न पाहिएला भन्ने नै यहाँका सबैलाई चाखको विषय भएको बताए ।

सोही वडा कोटारी गाउँकी फूलमाया चेपाङले चेपाङ बस्ती भने अन्धकारमै रहने गुनासो गरेकी छन् । डाँडा वारिपारि रहेको यो दुई गाउँमा काउले उज्यालो हँुदा कोटारी गाउँ अन्धकारमै रहने बताएकी हुन् । स्थानीय होमकुमार बुढाथोकीले गाउँपालिकाको अझै थुप्रै ठाउँमा बाटो र विद्युत्को विकास हुन बाँकी रहेको बताए । इच्छाकामनाको सबै वडामा समावेशी तरिकाले विकास गर्नुपर्ने उनले धारणा राखे । कतै उज्यालो कतै अध्यारो हुने खालको विकास चित्त बुझ्दो नभएको उनले जीकिर गरे ।

समाजसेवी तथा यूवा नेता सगुन रानामगरको पहलमा स्थानीय चुनाव नजिकिँदै गर्दा काउलेमा विद्युत् पुगेको हो । स्थानीय मगरले युवाले चाहे आफ्नो टोल गाउँ विकास गर्न खासै गाहे नभएको बताए । चुनाव लाग्दै २ नम्बर वडाको सबै क्षेत्रमा बिजुली बत्ती बाल्ने प्रयासमा रहेकोे बताए ।
इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिताकुमारी गुरुङले गाउँपालिकाको ७ वटै वडालाई विद्युतीकरणले छोएको बताएकी छन् । जोड्न बाँकी रहेको ठाउँहरुमा प्रक्रिया अगाडि बढाएको जानकारी उनले दिइन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले समन्वय हुन नसक्नु विकासको बाधक भएको बताएका छन् । उनले स्थानीय सगुन राना मगर र समन्वयकर्ता धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेलाई धन्यवाद दिएका छन् । समन्वय र प्रयासका कारण काउलेमा विद्युत लाइन ल्याउन सफल भएको उनको भनाइ छ ।

भरतपुरबाट विद्युत पु¥याउन टाडा पर्ने र खर्च बढी लाग्ने हुदा धादिङबाट बिजुली लगिएको हो । धादिङका प्रमुख न्यौपानेले ट्रान्समिटर जडान भएपछि माथिल्लो र तल्लो काउलेको हरेक घरमा बिजुली बल्ने बताए । एक हप्तासम्म लाग्न सक्ने उनले बताए । विकाससँगै त्यसले जोखिम पनि ल्याउने हुदा सतर्क भएर बिजुली प्रयोग गर्न आग्रह गरेका छन् । गैरकानुनी कार्यमा विद्युत्को प्रयोग नगर्न उनले सम्पूर्ण गाउँबासीलाई आग्रह गरेका छन् । काउलेसम्म बिजुली पु¥याउन १२७ विद्युतीय पोलको प्रयोग गरिएको छ । करिब डेढ करोड खर्च लागेको प्राधिकरणले जानकारी दिएको छ । यो आयोजनाबाट पहिलो चरणमा ८० घर लाभान्वित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>