Breaking News

उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिले लियो शपथ, चुनौतीलाई अवसरमा बदल्ने प्रतिबद्धता

Banner

चितवन, चैत २-

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठसहित नयाँ कार्यसमितिले शपथ लिएको छ ।

५५ औं वार्षिक साधारण सभा एवम् अधिवेशन अन्र्तगत आज भएको ‘पद हस्तान्तरण एवम् शपथ ग्रहण कार्यक्रम’मा नयाँ कार्यसमितिले शपथ लिएका हुन् ।

उद्योग वाणिज्य संघको सम्पन्न अधिवेशनका प्रमुख निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले सम्पूर्ण निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए । शपथ ग्रहणपछि संघको निवर्तमान अध्यक्ष राजु श्रेष्ठले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई तलबाट डो¥याएर माथि ड्यासमा लगी आफूले लगाएको अध्यक्षको ब्याच लाइदिएर कुर्चीमा राखेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष चुननारायण श्रेष्ठले अग्रजहरुको आर्शिवाद लिएर सामूहिकरुपमा कार्यसमितिलाई अगाडि बढाउने बताए । उनले भने, ‘ उद्योग वाणिज्य संघ चितवनको लक्ष्य वा उद्देश्यअनुरुप सबै एकजुट भए अगाडि बढ्छौं । चितवनको आर्थिक र सामाजिक रुपान्तरणका लागि पूँजिबजारमा देखिएका समस्याहरु समाधान गर्न महत्वपूर्ण भूमिका खेल्नेछौं ।’ उनले देशको आर्थिक क्षेत्रमा देखिएका चुनौतीहरुलाई अवसरको रुपमा लिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

शपथ कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष महेन्द्रलाल प्रधानले नयाँ कार्यसमितिमा अध्यक्षलगायत अन्य मुख्य पदमा सर्वसम्मत नेतृत्व छान्न सक्नु सबैको जित भएको बताए । उनले भने, ‘ सर्वसम्मत नेतृत्व छान्ने काम नै हाम्रो प्राथमिकता हो । इतिहासमा भएका कतिपय गल्तीहरु सच्चिने काम भएको छ ।’ उनले व्यवसायीहरु समयलाई ख्याल गर्दै निकै मितव्ययी बनेर राजनीतिक दलहरुको अगाडि पनि उदाहरणिय बनेर अगाडि बढ्नुपर्ने विचार राखे । उनले व्यवसायीहरुलाई छल, कपट नगरी साँचो काम गरेर अगाडि बढ्न सुझाव पनि दिए । उनले भने, ‘ समाजको मूल्य, मान्यता र रुपान्तरणअनुसार गतिशिलरुपमा उद्योग वाणिज्य संघ बदलिँदै जानुपर्छ । देशका राजनीतिक दलहरु मितव्ययी बन्न नसकेको अवस्थामा उनीहरुलाई देखाउने गरी असल काम गर्न सल्लाह दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले नयाँ कार्यसमितिलाई शुभकामना मन्तव्य दिँदै उद्योग वाणिज्य संघ एक दशकपछि निर्विरोधरुपमा अध्यक्षको चयन गर्न सफल भएको बताए । उनले भने, ‘ नयाँ निर्वाचित कार्यसमितिले अनुशासितरुपमा निकै क्रियाशिल भएर काम गर्न सकोस् । आजको दिनको जस्तो उत्साह सधै देख्न पाइयोस् ।’ कार्यक्रममा निवर्तमान अध्यक्ष सहनलाल प्रधानलाई संघका पूर्वअध्यक्ष कल्याण जोशीले पूर्वअध्यक्षको ब्याच लगाइदिएर मञ्चबाट तल ल्याएका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तव्य राख्दै चितवनको आर्थिक, सामाजिकमात्र नभएर समग्र विकासमा उद्योग वाणिज्य संघले आफ्नो पाइला अगाडि बढाइरहेको विचार राखे । उनले भने, ‘ चितवन उद्योग वाणिज्य संघ पाँचपटकसम्म देशभरकै उत्कृष्ट संघ बन्नु हामी सबैको लागि गौरवको कुरा हो ।’ उनले आफूले सोचअनुसारको कतिपय कामहरु कोरोना महामारीको कारणले गर्न नसकेकोमा दुःख व्यक्त गरे । उनले नयाँ कार्यसमितिले संस्थाप्रति उत्तरदायी भएर सशक्त भूमिका खेल्ने पनि विश्वास व्यक्त गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठले संस्थामा काम गर्ने विभिन्न कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु केएल भुषण, देशीराम प्रधान, प्रचण्डलाल प्रधान, रमेशकुमार पिया, कल्याण जोशी, डा तिलचन्द्र भट्टराईलगायतको उपस्थिति रहेको थियो । संघको ५५ औं वार्षिक साधारण सभा तथा अधिवेशनले कार्यसमितिमा अध्यक्षसहित १३ पदमा निर्विरोध चयन गरेको थियो भने १२ पदमा निर्वाचनमार्फत चयन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>