Breaking News

झण्डै एक दशकपछि चितवनको चनौलीमा शीत भण्डार सञ्चालनमा, किसान हर्षित

Banner

प्रतिमा कुमाल,

चितवन, फागुन २९-

लामो समयसम्म देखिएको अन्योल र भर्मलाई चिर्दै नौं वर्षपछि चितवनको चनौलीमा शीत भण्डार सञ्चालनमा आएको छ ।

पश्चिम चितवनको चनौलीमा चितवन चनौली सहकारी संस्थाले बजार नजिकै शीत भण्डार सञ्चालनमा ल्याएको हो । भण्डार सञ्चालनमा आएपछि किसान र व्यापारीमा खुसी छाएको छ ।

भरतपुर महानगरपालिका–२० की कृषक मेनका रायमाझीले अब कृषकको उत्पादनले उचित मूल्य पाहुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘बन्दा किनेर खानुपर्दा केजीको एक सय रुपँैयासम्म पर्छ । किसानबाट पाँच रुपैँया किलो चार रुपैँया किलो किन्छन् । मूल्य नपाएपछि त्यो सबै उत्पादन जोतेर फाल्न बाध्य छौँ ।’ अबका दिनमा भने यस्तो स्थितिलाई शीत भण्डारले विस्थापित गर्ने उनको भनाइ छ ।

संस्थाको कार्यकारी समितिकी सदस्य समेत रहेकी रायमाझीले शीत भण्डारका कारण समय, पैसाको बचत हुने बताएकी छन् । ‘हामीलाई पहिला भरतपुर जानुपर्दथ्थो । जाने आउने भाडा महंगो पर्छ । किलोको हिसाबले शीत भण्डारमा बस्तु राखिन्थो । शीत भण्डार स्थापना भएपछि केही सस्तोमा राख्न पाएम, समय पनि बचत, पैसाको पनि बचत हामीलाई एकदमै सजिलो भएको छ ।,’ उनको भनाइ छ । रायमाझीले दुई बिघा जमिनामा बन्दा, गाजर, केराउ, राजमा लगाएकी छन् । सहकारीकी सञ्चालक समिति सदस्य तथा कृषक मुना सुवेदीले एक बिघा जमिनमा खरबुजा, मकै, बोडी लगाएकी छन् । कृषि उत्पादन भण्डारण गर्ने स्थान नजिकै भएपछि अब आलु खेती गर्ने अभिलाषा पलाएको छ ।

साथै उनी कृषकले बारीमा जोतेर फाल्न लगेका बन्दाका डल्लाहरुले पनि अबका दिनमा मूल्य पाउनेमा बिश्वस्त छन् । उनले भनिन्, ‘शीत भण्डार नहुँदा समस्या थियो । बजार भाउ नपाउदा आलु, गाजर, बन्दा, काउली जस्ता तरकारीहरु जोतेर फालियो । अब त्यस्ता दिन गए । आफ्नो वस्तुको मूल्य पाइएन भने यहाँ ल्याएर भण्डारण गर्ने । मूल्य बृद्धि हुदा निकालेर बेच्ने ।’

नारायणगढमा पनि शीत भण्डार रहेको छ । तर, यस शीत भण्डारले सबै किसानको उत्पादनलाई राख्न सक्दैन जसका कारण पनि पश्चिम चितवनका कृषकहरुले समस्या भोग्दै आएका थिए । २५०० मेट्रिक टनको क्षमता रहेको यस शीत भण्डारले मुख्य समस्याबाट राहत दिएको सुबेदीको भनाइ छ ।
भरतपुर महानगरपालिका वडा नं. २५ कि सुबेदीले आलुको मूल्य नपाउँदा ठूलो नोक्सानी बेहोरेको अनुभव समेत रहेको छ । ८ वर्ष अगाडि मातृ भूमि कृषि सहकारीबाट उनले सामूहिक आलु खेती गरेकी थिइन् । आलुले मूल्य नपाएपछि ठूलो आर्थिक घाटा भोग्नुपरेको उनले सम्झिइन् । लामो समयको अथक प्रयासपछि पश्चिम चितवनको चनौलीमा शीत भण्डार खुलेपछि यसले सन्तुष्टी र खुसी दिएको उनको भनाइ छ ।

चनौलीका एक कृषक विश्वनाथ न्यौपानेले नारायणगढमा रहेको शीत भण्डारमा गत वर्ष एक कुइन्टल आलुको ७५० रुपैँया तिरेको जानकारी दिइन् । तीन बिघामा आलु खेती गरेका न्यौपानेले अब भने राहत मिलेको बताए । चितवन चनौली शीत भण्डार सहकारी संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले अन्य शीत भण्डार भन्दा सहकारी सस्तो हुने बताएका छन् । सुरुवाती क्रममा रहेकाले अहिले कति लिने भन्न गाहे हुने उनको भनाइ थियो । साथै उनले कृषकको उत्पादनलाई भण्डारण मात्र नगरी बजारीकरणमा पनि सहयोग गर्ने सोचमा संस्था रहेको जीकिर गरिन् । अध्यक्ष पौडेलले शीत भण्डारका कारण खेर गएका बाँझो जमिनहरुको समेत उचित प्रयोग भई कृषिले एउटा नयाँ फड्को मार्ने आशा राखिन् ।

यो परियोजना नेपाल सरकार, सहकारी संस्थाहरु र किसानहरुको व्यक्तिगत शेयर लगानीमा सञ्चालनमा रहेको पीपीसीपी मोडलबाट सञ्चालनमा आएको हो । अहिले यसमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेशको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरपालिकाको चार लाख ८२ हजार १६३, संस्थाको शेयर पूँजि आठ करोड ६१ लाख ४२ हजार ३१० र नेपाल बङ्गलादेश बैंकको कर्जा दुई करोड ९५ लाख यस परियोजनामा प्रयोग भएको छ । करिब दुई करोड बराबरको कार्यका लागि नेपाल सरकारको सहकारी विभागसँग संम्झौता गर्न बाँकी रहेको संस्थाले जानकारी दिएको छ ।

परियोजना सञ्चालनका नियम र शर्तहरु

दुबै पक्षको सहमतिमा शीत भण्डारमा सामान भण्डारण गरिने छ । सामान धनी वा ग्राहकले आफ्नो सामान सिजन समय कै बीचमा निकाल्न चाहेमा पूरै सिजन समयको भाडा तिरी निकाल्न सक्ने छ ।

भण्डारण गरिएको सामान धनीले एक पटक निकाली सकेको अवस्थामा फेरि भण्डारण गर्न परेमा वा चाहेमा पून जति दिन राखे पनि पूरै सिजन भरीको भाडा तिर्नुपर्ने छ । ल्याएको सामान ग्रेडिङ गर्ने, तौल, लोडिङ गर्ने सम्पूर्ण खर्च स्वयम् सामान धनीले नै व्यहोर्नु पर्ने उल्लेख गरिएको छ । कुनै रोग लागेको बिग्रेको सामान राखेर खराब भएमा स्वयम् सामान धनीनै जिम्मेवारी हुने शीत भण्डारले जनाएको छ ।

कुनै आकस्मिक दुर्घटना, दैवी प्रकोपबाट नियन्त्रण भन्दा बाहिर परिस्थिति गएमा त्यसको जिम्मेवार संस्था नहुने व्यवस्था गरिएको छ । संस्थाले संस्थागत बिमा नगरुन्जेल मालसामान धनी स्वयंले बिमा कम्पनीसँग आवश्यक ठानेमा सामानको बिमा गर्न सक्ने शर्तहरुमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>