Breaking News

चितवनमा ५६ जनालाई डेँगु र २३७ जनामा स्क्रब टाइफसको संक्रमण

Banner

चितवन, फागुन २६-

चितवनमा यस आर्थिक वर्षको आठ महिनासम्ममा ५६ जनालाई डेँगु र २३७ जनालाई स्क्रब टाइफस देखिएको छ ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनदेखि फागुन सम्मको ८ महिनाको अवधिमा सो संख्यामा संक्रमण देखिएको हो । यस आर्थिक वर्षमा तीन हजार ४७ जनाको डेँगु र दुई हजार ७१० जनामा स्क्रब टाइफस परीक्षण गरिएको थियो । गत वर्ष एक जनाको स्क्रब टाइफसको कारणले निधन पनि भएको थियो । गत आर्थिक वर्ष २७७ र २७८ मा एक हजार ९८६ जनामा परीक्षण गरिएकोमा २४७ जनामा डेंगु र दुई हजार २९० जनाको स्क्रब टाइफसको परीक्षण गरिएकोमा ३१८ जनामा सो संक्रमण देखिएको थियो ।

डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ र त्यो लामखुट्टेमा भाइरस बिकास भएर लामखुट्टेले त्यसपछी अर्को स्वस्थ मानिसलाई टोक्दा यो रोग सर्ने हो । डेंगु भाईरसको चार प्रजाति छन् ।

एक पटक एउटा मानिसलाई एक प्रजातिको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग भने लाग्दैन, तर यदि अन्य प्रजातिको डेंगु रोग लाग्यो भने त्यो पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४\७ दिन भित्र मा रोगको लक्षण देखिन्छ । एउटा डेंगु रोगबाट संक्रमित व्यक्तिको रगत चुसेको ८\१२ दिन पछि लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर संक्रमित रहन्छ ।

पोथी जातको लामखुट्टेलाई फूल पार्नको लागि रगतमा प्रचूर मात्रामा पाइने प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ । भाले जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवन यापन गर्दछ । सामान्यतया एउटा पोथी लामखुट्टेले उसको १४\२१ दिनको जीवनमा जम्मा ३०० वटा अण्डा पार्न सक्छ । एकपटक डेँगुको विषाणु बोकेको लामखुट्टेले यसका प्रत्येक अण्डामा डेँगुका विषाणु सार्ने गर्दछ ।

त्यसैगरी स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो ।

यो जीवाणु मुसामा समेत पाइन्छ । विशेष गरी खेतबारीमा काम गर्ने क्रममा किर्नाले टोक्दा यो रोग लाग्ने गर्दछ । समयमै उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सोलगायतका अंगमा संक्रमण गराउँछ भने बहुअंग बिकार (मल्टी अर्गन डिस्फंसन) को अवस्था पनि सिर्जना हुन सक्छ ।

खेतबारीमा वा झारपात बढी भएको ठाउँमा काम गर्ने, जंगलमा जाने मानिसमा यो रोग सर्ने जोखिम हुन्छ । यस्तो ठाउँमा मुसाको बासस्थान बढी हुने भएकाले मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेर यो रोग सार्ने सम्भावना हुने चिकित्सकहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>