देश/प्रदेश
दक्षिण एशियाको पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन संरचनागत परिवर्तनको खाँचो

चितवन, फागुन २५
नेपालसहित दक्षिण एशियाका विभिन्न देशका सञ्चार विज्ञ तथा पत्रकारहरुले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन संरचनागत परिवर्तनको आवश्यकता रहेको बताएका छन् ।
११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मिडिया एक्सन नेपालले गरेको दक्षिण एशियास्तरीय भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पत्रकारिता क्षेत्रमा नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाउन संरचनागत परिवर्तनको आवश्यकता औल्याएका हुन् । छलफलमा श्रीलंका, भारत, भुटान, बंगलादेश र नेपालका पत्रकारहरु तथा सञ्चार विज्ञहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सञ्चार विज्ञ तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले दक्षिण एशिया क्षेत्रमा महिला सहभागिता बढाउँदै महिला सहभागिता बढाउन तत्कालै मिडियाको स्वामित्व तथा लगानी जस्ता विषयमा संरचनागत रुपान्तरणको आवश्यकता रहेको बताए । अन्तर्राष्ट्रिय मिडिया फ्रिडम कोलिसन कन्सलटेटिभ नेटवर्कका सहअध्यक्षसमेत रहेका पन्तले भने, ‘ पत्रकारिता क्षेत्रमा नेतृत्वदायी भूमिकासहित समाचार कक्षको नेतृत्व गर्नको लागि तत्कालै संरचनागत परिवर्तन नै जरुरी छ । यसका लागि हरेक देशको नीतिगत सुधारका साथै लैंगिक संवेदनशिलतालाई पनि ध्यान दिएर सम्मानसहित काम गर्ने वातावरण निर्माण गर्नुपर्छ ।’
त्यसैगरी कार्यक्रममा अन्तर्राष्ट्रिय मिडिया तथा सञ्चार अनुसन्धान एशोसिएसनको पत्रकारिता अनुसन्धान र शिक्षा विभागकी अध्यक्ष डा सादिया जमिलले दक्षिण एसियामा परम्परागतरुपमा नै लैंगिक असमानताले जरा गाडेर बसेकोले त्यसको प्रभाव पत्रकारिता क्षेत्रमा पनि रहेको बताइन् । उनले नेतृत्वदायी क्षमता भएको र शाहसी महिला पत्रकारहरुले जन्मदात नै त्यस्ता गुणहरु लिएर आएको नभई कयौं सामाजिक र सांस्कृति चुनौतीहरु झेल्दै त्यो क्षमता प्राप्त गर्ने विचार राखिन् ।
कार्यक्रममा भारतको स्ट्रेट लाइनकी प्रधान सम्पादक पल्लभी सरिनले अहिलेको दक्षिण एसियामा रहेको लैंगिक विभेद र गलत दृष्टिकोणले महिला पत्रकारहरुलाई कार्यक्षेत्रमा गएर समाचार संकलन गर्न पनि कठिन भएको जानकारी दिइन् । उनले कतिपय महिला पत्रकारहरुसँग मानिसहरुले आफ्नो विचारहरु समेत राख्न नचाहने अनुभव सुनाइन् । उनले यसको लागि महिला पत्रकारहरुलाई हेर्ने दृष्टिकोण बदलेर सहयोगी भावनाको विकास गर्न जरुरी रहेको बताइन् ।
बंगलादेश महिला पत्रकार समितिकी अध्यक्ष नसिमा अक्तर सोमाले महिला पत्रकारहरु आफ्नो पेसामा अगाडि बढ्न पुरुष पत्रकारहरुको सहयोगको पनि त्यत्तिकै आवश्यकता पर्ने बताइन् । उनले भनिन्, ‘सहकर्मी पुरुष साथीहरुको सहयोगले मात्र महिलाहरु समाचार कक्षभित्र निर्णायक पदमा पुग्न सक्छन् ।’
त्यस्तै, भुटानकी अग्रज पत्रकार टासी डेमाले महिला पत्रकारहरुलाई निर्णायक र नेतृत्वदायी अवस्थामा पु¥याउन पेसागत अभिवृद्धिका तालिमहरु आवश्यक रहेको विचार राखिन् । उनले भनिन्, ‘महिला पत्रकारहरु सक्षम भएपछि मात्र पेसागतरुपमा अगाडि बढ्न सक्छन् ।’ कार्यक्रममा मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियंका झाले नेपालमा महिला पत्रकारहरुको अवस्थासहित नीतिगत र कानुनी पक्षको बारेमा जानकारी गराएकी थिइन् । मिडिया एक्सन नेपालकी गण्डकी प्रदेश संयोजक दुर्गा राना मगरले मंगलबार सहजीकरण गरेको कार्यक्रममा नेपालसहित दक्षिण एसिया क्षेत्रका ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो । मिडिया एक्सन नेपालले विगत आधा दशक अगाडिदेखि प्रेस स्वतन्त्रता, जवाफदेहिता र मिडिया अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
























