Breaking News
चितवन कांग्रेसको अधिवेशन १९ गते नारायणी कला मन्दिरमा हुने, समिकरण मिलाउने अन्तिम कसरत

मधुसूदन दवाडी
चितवन, फागुन १७
नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन फागुन १९ मा हुने निश्चित भएपछि समिकरण मिलाउन नेताहरुको दौडधुप चल्न थालेको छ ।
यसअघि फागुन १५ गते गर्ने भनिएको एमसीसी पारित गर्नुपर्ने बाध्यताका कारण स्थगित भएको थियो । अधिवेशनको संघारमा नेतृत्वका आकांक्षीहरुको चुनावी घरदैलो र भेटघाट बाक्लिएको छ । पटकपटक सर्दै आएको अधिवेशन यसपटक हुने निश्चित भएपछि उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन अन्तिम कसरतमा लागेका छन् । यसअघि विभिन्न समिकरणमा घरदैलो गरेका उम्मेदवारहरु यसपटक पुरानो समिकरण तोड्दै नयाँ समिकरण गरिरहेका छन् ।
कांग्रेस चितवनले सार्वजनिक गरेको अधिवेशनको तालिका अनुसार मतदाता नामावली प्रकाशन १९ गते बिहीबार बिहान ७ बजे गर्ने तयारी छ । निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार बिहीबार जिल्ला अधिवेशन गर्न लागिएको हो । मतदान भने फागुन २० गते बिहान ९ देखि बेलुकी ५ बजेसम्म हुनेछ । निर्वाचन नारायणी कला मन्दिर नारायणगढमा हुनेछ ।
छिनछिनमा समिकरण बदलिँदै
फागुन १५ गतेसम्म चितवनमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच समिकरण बन्दै गरेकामा अहिले एक्कासी समिकरण तोडिएर शेखर कोइराला र पौडेल समूह एक ठाउँमा उभिएका छन् ।
समिकरण मिलाएर र पार्टी भित्रको आन्तरिक द्वन्द्व कम गर्नको लागि जिल्लाका पूर्वसभापति र केन्द्रीय सदस्यहरुको नेतृत्वमा सात सदस्यीय समिति पनि बनेको छ । सभापतिका आकांक्षी मध्ये झण्डै चार जनाले समितिले भनेको कुरा स्वीकार्छौै भन्ने प्रतिबद्धता व्यक्त गरेको चर्चा चलेको छ । तर, चार जना को को थिए भन्ने नाम खुलाइएको छैन ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सभापतिमा इच्छा राख्ने धेरै भएकोले कसले मनोनयन गर्छन् भन्ने मनोनयपछि मात्र भन्न सकिने नारायणी अनलाइनलाई बताए । कांग्रेस चितवनका सचिव उत्तम जोशीले पनि समिकरणबारे केही बोल्न नमिल्ने सभापतिका आकांक्षीहरुलाई राखेर पूर्वसभापतिहरुले छलफललाई तीव्रता दिइरहेको जानकारी दिए ।
छलफलमा संलग्न कतिपय आकांक्षी उम्मेदवारहरुको अनुसार कोइराला र पौडेल पक्षका सभापतिका चार उम्मेदवारमध्ये एक जना, देउवा पक्षमा मिलनबाबु श्रेष्ठ र कैलाश कोइरालाको बीचमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।
नारायणी अनलाइनले चितवनका कांग्रेस निकट बुद्धिजीवी, आम मतदाता र जिल्ला नेतृत्वका केही आकांक्षीहरुसँग कुराकानी गर्दा पछिल्लो समयमा निर्वाचनको समीकरण एकाएक बदलिएर पौडेल र कोइराला पक्ष एकआपसमा मिलेर देउवा पक्षसँग चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेको बताउँछन् । यसको स्पष्ट तस्बिर भने फागुन १९ गते मनोनयनको दिनसम्म आइसक्ने कांग्रेस नेताहरुको दाबी छ । अहिले जिल्ला तहका नेतादेखि तलका कार्यकर्तासम्म को कता भनेर स्पष्ट खुलेर बोलेका छैनन् भने समाचारमा पनि नाम उल्लेख गर्न चाहेका छैनन् ।
चितवनमा सभापति पदका लागि ६ जनाले जिल्ला नेतृत्वको लागि आकांक्षा देखाएका छन् । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन्।
कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । घिमिरे र भुसाल रामचन्द्र पौडेल पक्षकारुपमा चिनिन्छन् भने श्रेष्ठ शेरबहादुर देउवा पक्षको रुपमा आफ्नो पहिचान बनाएका छन् । त्यस्तै अन्य तीन आकांक्षीमा जोशी, खनाल र कोइराला शेखर कोइराला पक्षको रुपमा चिनिएका छन् ।
पौडेल पक्ष र कोइराला पक्ष मिसिएको खण्डमा चितवनमा निकै कमजोर रहेको देउवा समूह झनै कमजोर बन्ने देखिन्छ । कोइराला र पौडेल समूहका सबै आकांक्षी एक भएमा भने उनीहरु देउवा समूह भन्दा बलियो बन्ने आकलन छ । चितवन राजनीतिक केन्द्र भएका कारणले गर्दा पनि यहाँको जिल्ला नेतृत्वको लागि केन्द्रीय नेताहरुको पनि हस्तक्षेप हुने गरेको इतिहास छ । यसपटकको जिल्ला अधिवेशनमा पनि त्यस्तै घटनाक्रमहरु दोहोरिन सक्ने भन्दै नेता र कार्यकर्ताहरुले सचेत गराउँदै आइरहेका छन् ।
कांग्रेस चितवनले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको देखिन्छ ।
जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन क्षेत्र छ । देशमानै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पर्दछ । यसअघि अधिवेशन हुने भनिए पनि कहिले एमालेको केन्द्रीय अधिवेशनको कारणले त कहिले कोरोना, कहिले एमसीसी त कहिले विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुनसकेको थिएन । कांग्रेस चितवनको अधिवेशनको तालिकाअनुसार फागुन १९ गते उम्मेद्वारी मनोनयन पत्र दर्ता र २० गते बिहान ९ बजेदेखि मतदान हुने जनाइएको छ ।

























