Breaking News
एमसीसीमा के–के बुँदामा संशोधन गर्ने सहमति भएको हो स्पष्ट पार्नुपर्यो: देव गुरुङ
काठमाडौँ, फागुन १५-
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संशोधनबिना अघि बढ्न नसक्ने बताएका छन् ।
उनले सत्ता गठबन्धनमा एमसीसी सम्झौतामा केही संशोधन गर्ने सहमति भएको सुन्नमा आएको भन्दै त्यो के हो सबैलाई जानकारी गराउन अनुरोध गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले नेपाल सरकारले ल्याएको संशोधनका बुँदाहरू एमसीए कम्पनीले स्वीकार गर्छ कि गर्दैन ? भनेर प्रश्न गरेका थिए ।
‘चार दलको बीचमा के–के बुँदामा संशोधन गर्ने सहमति भएको हो, माननीय मन्त्रीले ल्याएपछि त्यसलाई पनि छलफलमा ल्याइयोस्’ उनले भने, ‘त्यो बुँदा एमसीए कम्पनलीलाई स्वीकार हुन्छ कि हुँदैन त्यो पनि प्रष्ट पार्नुपर्छ ।’ एमसीसी सम्झौतामा हस्ताक्षर हुँदा सदनबाट पारित गर्नुपर्ने व्यवस्था नभएको भन्दै उनले सदनबाट पारित गरेर ऐनका रूपमा मान्यता दिए देशको सार्वभौममाथि प्रहार हुने बताए ।
























