Breaking News

नारायणगढ मुग्लिन सडक : बजेट अभावले पुल निर्माण प्रभावित, पुल साँघुरो हुँदा दुर्घटनाको जोखिम

  • Logo
    app haru
  • ११ फाल्गुन २०७८, बुधबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, फागुन ११ –
नारायणगढ मुग्लिन सडकमा निर्माणाधीन अवस्थामा रहेका पुलहरुका लागि बजेट अभाव भएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसकेको बताए ।
नारायणगढ मुग्लिन सडकलाई तीन वर्षअघि फराकिलो बनाइएको थियो । सडक फराकिलो बनाएसँगै पुल पनि फराकिलो बनाउने काम सुरु भएको दुई वर्ष बितिसक्यो ।

सडकखण्डमा कुल १९ वटा पुल रहेका छन् । जसमा ४ वटाको काम पहिले नै सकिएको छ । १५ वटा पुल निर्माण गर्नका लागि २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताको अवधि २०७९ मंसिरसम्म रहेको छ । सबै पुलहरुको भौतिक प्रगति औसतमा भन्दा ५० प्रतिशत भएको इन्जिनियर आचार्य बताउँछन् ।

८ ओटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्नमात्र बाँकी छ । सडकसँग जोड्नका लागि घर टहराहरु भत्काउनुपर्ने हुन्छ । इन्जिनियर आचार्यले घरटहरा भत्काउन मुआब्जा वितरण गर्नका लागि बजेट अभाव भएको बताए । आचार्यका अनुसार करिब दुई दर्जन जति घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब एक करोड दस लाख रूपैयाँ चाहिने अनुमान गरी अर्थमन्त्रालयमा पत्र पठाइएको आचार्यले जानकारी दिए । ‘क्षतिपूर्ति नदिई घर भत्काउन पनि भएन’ आचार्यले भने ।

१५ वटा पुलमा ३ वटा अझै सुरु गरिएको छैन । दुई वटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताए । मुग्लिन नजिक रहेका तुईन खोला र चिसेंजी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको आचार्य बताउँछन् ।

उनले निर्माण कम्पनीलाई रकम दिनका लागि पनि बजेट अभाव भएको बताए । यस आर्थिक वर्षमा हालसम्म १५ करोड रूपैयाँ मात्रै बजेट प्राप्त भएको आचार्यले बताए । अवाश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको छ ।

मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो । प्याकेज–१ का लागि ६७ करोड ९९ लाख ५९ हजार रूपैयाँ र प्याकेज–२ का पुल ५९ करोड ५ लाख ५९ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको छ ।

हाल नारायणगढ–मुग्लिन सडकमा पुराना पुलहरुको चौडाइ ५.५ देखि ६ मिटर छ । अब बन्ने पुलहरुको चौडाइ ९ देखि ११ मिटरसम्म हुने आचार्यले बताए ।
३२ किलोमिटर रहेको नारायणगढ मुग्लिन सडकखण्ड पार गर्न सवारी साधनलाई करिब ३० मिनेट लाग्ने गरेको छ । सबै पुलहरु बनेर फराकिलो भएपछि १० मिनेट समय घट्ने आँकलन गरिएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्ड भएर दैनिक करिब १० हजार बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् । सडक फराकिलो र पुल साँघुरो हुँदा दुर्घटनाको जोखिमलाई बढाइ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>