Breaking News
टि–२० विश्वकप छनोटः क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमीफाइनलमा प्रवेश

काठमाडौँ, फागुन ९–
टि–२० विश्वकप छनोट प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । ओमानमा जारी प्रतियोगितामा आज क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमीफाइनलमा प्रवेश गरेको हो ।
अब नेपालले फाइनल प्रवेशका लागि चिरपरिचित प्रतिद्धन्द्धी युएईसंग खेल्ने छ । उक्त खेलमा विजयी भए नेपाल दोस्रो पटक विश्वकप खेल्ने छ ।
क्यानडाले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्र सिंह ऐरीले २७ रन बनाए । ओपनर आशिफ शेखले १७ रन बनाए भने तेस्रो नम्बरमा व्याटिङ गरेका कुशल मल्ल पहिलो बलमा बोल्ड आउट भए ।
क्यानडाका कलीम साना र सलमान नजरले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमै अलआउट भयो । उसका लागि डिलन हेलिगरले सर्वाधिक अविजित २४ रन बनाए । यस्तै कप्तान नवनीत धालिवालले १८, रायन पठानले १४ र सलमान नजरले १० रन बनाए । अन्य व्याटरले दोहोर अंक समेत जोड्न सकेनन् ।
क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । कमल सिंह ऐरी र अविनाश बोहोराले २/२ विकेट लिए । कमलले ३ ओभरमा १६ रन खर्चिए भने अविनाशले ३ ओभरमा ७ रन मात्रै खर्चिए । कुशल मल्लले एक ओभरमा ४ रन खर्चिदै एक विकेट लिए ।
आज समूह चरणका सबै खेलहरु सकिएका छन् । यससंगै नेपाल समूह ‘बी’मा शीर्ष स्थानमा रहँदै सेमीफाइनल पुग्यो । नेपालले समूहका तीन वटै खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नेपालसंग पराजित भएको ओमान २ खेलमा जित निकाल्दै ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमीफाइनल प्रवेश गर्यो । नेपाल र ओमानसंग लगातार पराजित भएको क्यान एक जित निकाल्दै २ अंकका साथ तेस्रो स्थानमा रह्यो भने तीनै खेलमा पराजित भएको फिलिपिन्स अंक विहीन रहँदै पुछारमा रह्यो ।
यस्तै प्रतियोगिताको समूह ‘ए’को विजेताको रुपमा आयरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेको छ । ३ खेलमा २ जित र एक हारका साथ ४ अंक बटुल्दै नेटरनरेटका आधारमा आयरल्याण्ड शीर्ष स्थानमा रह्यो भने युएई समान ३ खेलमा २ जित र एक हार व्यहोर्दै ४ अंकका साथ नेटरनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेर सेमीफाइनलमा पुग्यो । आज युएईलाई २ रनले पराजित गर्दै समान ४ अंक बनाएको बहराइन नेटरनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेर बाहिरिएको छ । जर्मनी ३ खेलमै पराजित हुँदै अंकविहीन अवस्थामा प्रतियोगिता टुंगाएको छ ।
























