चितवन विशेष
प्रेस चौतारी चितवनले २४ औं स्थापना दिवस मनायो

चितवन, माघ २२-
प्रेस चौतारी चितवनले प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवस मनाएको छ ।
‘वन्यजन्तु संरक्षण र विकास आवश्यकता र चुनौती’ को विषयमा अन्तरक्रिया गरी स्थापना दिवस मनाएको हो । भरतपुरमा निर्माणाधीन सडकको खाल्डोमा हालसालै गैँडा खसेर मरेकोले सो घटनासँग सम्बन्धित विभिन्न पक्षलाई कार्यक्रममा बोलाएर चौतारीले गम्भीर र जल्दोबल्दो विषयमा पत्रकारहरुको बीचमा छलफल चलाएको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपाल चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले संगठनको ऐतिहासिक पृष्ठभूमि केलाएका थिए । उनले स्थापना कालमा माओवादी द्वन्द्व र सरकारका हस्तक्षेपमा नेपाली पत्रकारिता परेकोले निकै असजिलो अवस्थाका माझ प्रेस चौतारी चितवन स्थापना भएको अनुभव सुनाए । स्थापना वर्षको शुभकामना दिँदै सुवेदीले पत्रकारिता पेसालाई मर्यादित बनाउन सबै लाग्नुपर्ने सुझाव दिए ।

प्रेस चौतारी नेपाल चितवन शाखाको भने २२ औं स्थापना वर्ष हो । शाखाका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावल,नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, निमार्ण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी, त्रिभुवन विश्वविद्यालयका विज्ञ कुष्ण काफ्ले र मध्यवर्ती क्षेत्र विकासमा अध्यक्ष प्रकाश ढुंगानालगायतको उपस्थिति रहेको थियो ।























