Breaking News

चितवनमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाएको सेवाग्राहीको गुनासो, बैंक भन्छन्ः समस्या छैन

Banner

प्रतिमा कुमाल,

चितवन, माघ २२-

चितवनका बैंक तथा वित्तीय संस्था पछिल्लो समय खुलेर ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । वित्तीय प्रणालीमा तरलताको चाप बढ्दै गएकाले यस्तो अवस्था आएको बैंकका चितवन प्रतिनिधिहरुको भनाई छ ।

बैंकल व्यवसाय तथा व्यक्तिगत प्रयोजनका लागि ऋण उपलब्ध गराउँदै आएका छन् । तर बैंकले आफ्ना शाखाहरुलाई पछिल्लो समय केही क्षेत्रमा लगानी गर्न रोक लगाएको छ । जसका कारण व्यापार व्यवसायमा हात हालेका र अन्य काम थालेका सेवाग्राहीहरु तनावमा छन् ।

लामो समयदेखि कर्जाका लागी बैंक धाइरहनुभएका भरतपुरका चित्र गुरुङ बैंकले लोन नदिँदा आफुले आँटेको काम अलपत्र पर्न लागेको गुनासो गर्नुभयो । उहाँले क्रृणका लागि कात्तिक महिनामा कागजात पेश गर्नुभएको थियो । सूचिकृत भएको तीन महिनासम्म पनि कर्जा नपाएको उहाँको भनाई छ । उहाँले घर निर्माणका लागि १५ लाख माग गरेको बताउनुभयो ।

उहाँले बैंकले पुराना ग्राहकहरुलाई मात्र विश्वास गरेको बताउनुभयो । किस्ता तिर्न सक्ने नयाँ ग्राहकहरुलाई बैकले नपत्याएको उहाँको आरोप छ । युवा व्यवसायी दाताराम घिमिरे बैंकमा भएको तरलताको अभाव अन्य क्षेत्र जस्तै कृषि क्षेत्रमा पनि परेको बताउनुभयो । यस्तै अवस्था रहिरहे कृषि क्षेत्रमा लगानी गर्न चाहानेहरु पछि हट्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो । युवा उद्यमी मन्च चितवनका पुर्व अध्यक्ष समेत रहनुभएका उहाँले कर्जा लिन निकै सास्ती खेप्नुपर्ने अवस्था आएको बताउनुभयो । यसको असर बजारका सबै क्षेत्रमा परेको उहाँको भनाई छ ।

राष्ट्रिय बाणिज्य बैंक भरतपुरका प्रमुख मनोज पन्तले वास्तविक व्यवसायीलाई ऋण दिन कुनै समस्या नभएको बताउनुभयो । ‘क्रृणको माग औचित्यपूर्ण र आवश्यकता अनुसार वास्तविक व्यवसायीक क्षेत्रमा लगेको हुनुपर्छ’,उहाँले भन्नुभयो । ‘पाँच करोड व्यापार छ भन्छन्,एक/दुई करोड ऋण माग्छन्,उहाँले भन्नुभयो’,कर कार्यालयमा बुझ्दा २० लाखको हुन्छ ।’ उहाँले बैकले सधैं प्रमाणलाई मान्यता दिने भन्दै कागजपत्रको भरमा मात्रै नहुने बताउनुभयो । आफ्नो व्यवसाय अनुसारको कर्जा माग गर्दा वास्तविक लगानी नलुकाउन उहाँले अनुरोध गर्नुभयो । पारदर्शी रुपमा आउनेलाई बैंकले क्रृण दिन कुनै समस्या नहुने प्रमुख पन्तको भनाई छ ।

कात्तिक र मंसिर महिनामा भने क्रृण उपलब्ध गराउन धौं–धौं भएको बैंकरहरुले बताएका छन् । अहिले अवस्था सामान्य बन्दै गएको उनिहरुको दावी छ । बाणिज्य बैंकले कृषि र उत्पादनमुलक क्षेत्रलाई बढी प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । ‘बैंकले कृषि उत्पादन, व्यापार, घर लगायतमा लगानी गर्ने गर्छ । अहिले कृषि क्षेत्र, उत्पादन मुलक क्षेत्रलाई केन्द्रीत गरेको छ, उहाँले भन्नुभयो ।’ व्यवसायीको माग र प्रोजेक्ट अनुसारको कर्जा दिने गरेका छौं,उहाँले थप्नुभयो । व्यवसायीलाई केही समय रोक लगाएका थियौँ ।’तरलताको अवस्थामा उत्पादनमूलक क्षेत्र प्राथमिकतामा परेका हुन् ।

ग्लोबल आइएमई बैंकले अहिलेको अवस्थामा ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको बताएको छ । बैंकका नारायणगढ शाखा प्रमुख विश्वास पौडेलले कोरोना (कोभिड १९) का कारण ऋण लिने र लगानी गर्ने दुवै पक्ष सचेत रहेको बताउनुभयो । ‘यस्तो परिस्थितिमा सोच विचार गरेर अघि बढ्नुपर्छ,उहाँले भन्नुभयो’,साना कर्जाहरु भने नियमित उपलब्ध गराइरहेका छौं ।’

‘जो व्यक्तिले राम्रो व्यापार गरेको छ, नियत राम्रो छ । जुन प्रयोजनका लागि लिएर त्यहीमा मात्र खर्च गर्छ, उनिहरुलाई लगानी गर्न कुनै समस्या छैन’,पौडेलले भन्नुभयो ।’ आवश्यकता हेरेर डेढ/दुई करोड सम्मको क्रृण सहजै उपलब्ध गराएको बताउनुभयो ।

बैकले अत्याबश्यक बस्तु खरिदमा पनि लगानी गरिरहेको पौडेलले बताउनुभयो । बाहिरबाट आयात हुने मानव जीवनमा अति आवश्यक बस्तु खाद्यान्न,लत्ताकपडा,दैनिक उपभोग्य सामानहरुमा बैंकले पैसा छैन भन्न मिल्दैन । भोकमरीको समस्या पनि आउन सक्छ । त्यस्ता बस्तुहरुमा हामीले लगानी गरिरहेका छौं । उहाँले अहिले देखिएको तरलतालाई सुधार्न नेपाल राष्ट्र बैंक र नेपाल सरकारको अर्थ मन्त्रालयले सुधारात्मक कदमहरु चाल्नुपर्ने उहाँको तर्क छ ।

अवस्था अझै विग्रन नदिनका लागि विदेशबाट आयात हुने विलासिताको सामानमा सरकारले रोक लगाएको छ । एक करोडको कार किन्नुपरे बैंकमा एक करोड नै जम्मा गर्नुपर्ने नियम लागु भएको उनको भनाई छ । चन्द्रदर्शन बचत तथा ऋण सकारी संस्था नारायणगढका प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले बैंकको तुलानामा सहकारीमा तरलताको प्रभाव कम परेको बताउनुभयो । पहिलेको भन्दा केही कम लगानी गरेको उहाँले जानकारी दिनुभयो । ‘कोरोना भाइरसको नयाँ/नयाँ भेरियन्ट आइरहेकाले आँखा चिम्लेर लगानी गर्न हुँदैन भन्नेमा चन्द्रदर्शन सहकारी रहेको छ, उहाँले भन्नुभयो, ‘हामीसँग लगानीकर्ता नभएर रोकेको भने होइन ।’

‘सहकारीले आफ्ना सदस्यहरुलाई ऋण उपलब्ध गराउँदै आइरहेको छ । आफ्ना सदस्यलाई खुःशी पार्नुपर्छ भन्ने सबैलाई हुन्छ । तर, अहिले परिस्थिति फरक छ । व्यापार व्यसायहरुमा मन्दी छाएको छ, उहाँले भन्नुभयो ।’ बजारको यो अवस्थामा हामीसँग पैसा छ भन्दैमा मार्केटको अवस्था नहेरी लगानी गर्दा समस्या उत्पन्न हुनसक्ने उहाँको भनाई छ ।

कर्जा लिनेले तिर्न सक्छ कि सक्दैन, उसको व्यवसाय कसरी चलिरहेको छ । पहिले लिएको कर्जा समयमा पेमेन्ट भएको छ कि छैन् । आय स्रोत के कस्तो छ । विषेश त कोरोनाको समयमा उसको व्यापार व्यवसाय कसरी चलिरहेको छ, भन्ने कुरालाई प्राथमिकतामा राखेर हेर्ने गरेको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>