राजनीति
ज्ञानेन्द्र शाहीले भनेः प्रचण्डले नै नेपालमा पहिलो पटक एमसीसी ल्याएका हुन

काठमाडौं,माघ २०-
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले पहिलोपटक नेपालमा अमेरिकी सहयोग सम्झौता एमसीसी भित्राउने व्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको दाबी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले २०६८ सालमा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नेतृत्वमा वर्षामान पुन ‘अनन्त’ले एमसीसीको खाका तयार पारेको सुनाएका हुन् ।
तत्कालिन प्रधानमन्त्री (वर्तमान प्रधानमन्त्री) शेरबहादुर देउवा र तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले संसद्बाट पारित गर्न भनेर पछि मात्र हस्ताक्षर गरेको उनले जिकिर गरे । उनले भने,‘नेपालमा एमसीसीको जग अरु कसैले नभई कांग्रेस र माओवादीले बसाएका हुन् ।’
‘नेपालमा पहिलोपटक एमसीसी भित्राउने प्रचण्ड नै हुन् । तर, तिनै प्रचण्डले कहिले एमसीसीको विरोध गर्छन् कहिले समर्थन गर्छन्’ कार्यक्रममा बोल्दै उनले भने,‘त्यस्तै एमालेले पनि हिजो सरकारमा हुँदा संसद्बाट पारित गर्न खोजेको थियो, आज विरोध गरिराखेको छ, यो नेताहरुको रङ भनेको छेपाराको रङ जस्तो हुने रैछ, हामी बुझ्नै सक्दैनांै ।’
कसैलाई राजनीतिक फाइदा लिन, कसैलाई आर्थिक र कसैलाई काम मात्रै अट्काउन नेताहरुको सोचले नेपालीहरु यो अवस्थामा पुगेका उनले जिकिर गरे । देशको सबै जनता एमसीसीको विरुद्धमा हुँदाहुँदै पनि सरकारले पारित गर्न खोजेमा लोकतन्त्र र राज्य माथिको अपमान हुने उनको भनाई थियो । उनले भने,‘एमसीसीविरुद्ध यत्रा जनता हुँदाहँुदै पनि एमसीसी पास गरे लोकतन्त्र र राज्यमाथिको अपमान हुनेछ । एमसीसी साँच्चिकै राष्ट्रघाती हो ।’

























