Breaking News

भरतपुर महानगरको साढे ४ वर्ष : महानगरपालिकाले गर्न नसकेका यी महत्वपूर्ण कामहरु

  • Logo
    app haru
  • २० माघ २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, माघ २० –

भरतपुर महानगरपालिकामा जनप्रतिनिधि आएको करिब साढे ४ वर्ष भएको छ । यसबीचमा भरतपुरमा विकासले छलाङ्ग मारे जस्तो देखिन्छ । यसको मुख्य कारण हो- महानगरले सडक पिच गर्ने कामलाई प्राथमिकतामा राख्नु । भरतपुर महानगरपालिका सडक निर्माण र विस्तारमा मात्र केन्द्रित भएको छ । जनताका जीवनस्तर उकास्ने, स्मार्ट सिटी बनाउने, शहरीकरणलाई व्यवस्थित बनाउने काममा महानगरपालिकाकोे ध्यान खासै गएको छैन ।

महानगरको प्रमुखमा रेनु दाहाल र उप्रमुखमा पार्वती शाह ठकुरी रहेकी छिन् । दाहाल नेकपा माओवादीबाट उम्मेद्वार बनेकी हुन् भने ठकुरी नेपाली कांग्रेस । चुनावमा माओवादी र कांग्रेसको गठबन्धनबाट उनीहरु दुबै जना निर्वाचित भएका हुन् ।

प्रमुख र उपप्रमुख एउटै गठबन्धनबाट निर्वाचित भएपछि महानगरमा काम गर्न दुबै जनालाई सहज वातावरण रह्यो । अझपछि गएर माओवादी र नेकपा एमाले मिलेर नेकपा बनेपछि त भरतपुर महानगरपालिकामा प्रतिपक्ष भन्ने नै रहेन । अर्थात मेयर रेनु दाहाललाई काम गर्नका लागि कसैले रोक्ने अवस्था थिएन ।
यस्तो सहज वातावरण हुँदाहुँदै पनि महानगरपालिकाले गर्नुपर्ने थुप्रै काम गर्न सकेको छैन ।

फोहोर व्यवस्थापनमा चुक्यो महानगर :

फोहोर तह लगाउन महानगरपालिका पूर्णरुपमा चुकेको छ । व्यवस्थित ल्याण्डफिल साइट बनाउन नसक्दा महानगरपालिकाले जहाँ फोहोर फाल्न खोज्छ त्यहाँका बासिन्दाले विरोध गर्ने गरेका छन् ।

भरतपुर महानगरपालिकाको फोहोर विगत २४ वर्षदेखि नगरवनमा फालिँदै आएको थियो । तर त्यहाँका बासिन्दाले दुई वर्षदेखि फोहोर फाल्न दिएका छैनन् ।

त्यसपछि भरतपुर महानगरले ध्रुव केरुङ्गा खाल्टोमा फोहोर फाल्दै आएको छ । केरुङ्गाका बासिन्दाले पनि फोहोर फाल्न अवरोध गर्दै आएका छन् । यस्तो वेलामा नगरको फोहोर सडकमै रहन्छ । यसबाट दुर्गन्ध फैलन्छ ।

यसपछि भरतपुर महानगरपालिकाले ठिमुरामा फोहोर फाल्ने निर्णय गरेको थियो । यो ठाउँ नारायणी किनारमा र वस्ती नजिकै भएकाले त्यहाँ अव्यवस्थितरुपमा फोहोर फाल्ने कुराको स्थानीय बासिन्दाले विरोध गरे ।

नारायणी दोभान टोल विकास संस्थाका अध्यक्ष सूर्य बरालले अव्यवस्थित तरिकाले फोहोर फाल्न थालेपछि आफूहरुले नगरवनमा फोहोर फाल्न नदिएको बताए ।

यस्तै जुन सम्झौता गरेर भरतपुर महानगरले केरुङ्गा खाल्टोमा फाहोर फाल्ने निर्णय गरेको थियो सो अनुसार महानगरपालिकाले काम नगरेको हुँदा स्थानीय बासिन्दाले पटकपटक विरोध गरेको भरतपुर महानगरपालिका वडा नं २४ का अध्यक्ष कान्छा मल्लले बताए ।

रामनगर नजिकको जंगलमा स्थायीरुपमा ल्याण्डफिल साइट बनाउने भनेर महानगरपालिकाले चर्चा गर्न थालेको ४ वर्ष भैसक्यो । महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेका अनुसार दुई वर्षअघि कोरियन सरकारसँग यस परियोजनाको गुरु योजना बनाउन सम्झौता गरिएको थियो । गुरु योजना बनिसकेको छ । स्वदेशी कम्पनीहरुलाई कामको जिम्मा दिएर ल्याण्डफिल साइट निर्माण गर्न थालिहाल्नुपर्ने आवाज उठ्ने गरेको भए पनि महानगरपालिकाले वास्ता गरेको छैन ।
भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले फोहोर तह लगाउन निकै चुनौती भइरहेको बताए ।

ट्राफिक लाइट जडानमा छैन चासो :

भरतपुर महानगरपालिकाले गर्न नसकेको अर्काे काम हो ट्राफिक व्यवस्थापनमा गर्नुपर्ने सहयोग ।
पूर्वपश्चिम राजमार्गमा पर्दछ नारायणगढको मुख्य बजार । पूर्वबाट आएका गाडी पोखरा र काठमाडौैं जान प्रयोग गरिने बाइपास सडक र पश्चिमबाट आएका गाडी काठमाडौैं र पोखरा जान प्रयोग गरिने मेन रोड र पूर्वपश्चिम राजमार्ग तीन वटा सडक जोडिएर भरतपुरको रिङ्गरोड बनेको छ । रिङ्गरोडमा अटोरिक्सा र माइक्रो बस होडबाजी गर्दै लगातार चलिरहेका हुन्छन् । जहाँ पायो त्यही रोक्छन् । यही सडकमा हिँड्छन् टाढा जाने गाडी । मोटरसाइकल र कारको पनि चाप उत्तिकै छ भरतपुरमा ।

यति व्यस्त रहेको भरतपुरमा कहीँ पनि ट्राफिक लाइट छैन । पुल्चोकदेखि केन्द्रीय बसपार्कसम्म चोकचोकमा गाडी जाम हुने गर्छ । बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ५ः३० बजेसम्म यहाँ अत्याधिक भिड हुने गर्दछ ।

यस्तै पश्चिम चितवनतर्फ जाने बस, माइक्रो बस र अटोरिक्साको भिडले चौबिसकोठीको सडक अस्तव्यस्त हुन्छ । पैदल यात्री सहजै हिँड्न पाउँदैनन् । सडकलाई बसपार्क जस्तै बनाउँदा समस्या उत्पन्न भएको छ । बसपार्क गर्ने ठाउँ भरतपुरको केन्द्रीय बसपार्क भने खाली रहन्छ । यसतर्फ महानगरपालिकाले ध्यान दिएको छैन ।

पुल्चोकमा लामो दुरीका गाडीले व्यस्त सडकमा यात्रु चढाउने र झार्ने गर्छन् । गाडीबाट झरेका यात्रु चढाउन माइक्रो बस र अटोरिक्सा होडबाजी गर्दै त्यही पुग्छन् र जाम गराउँछन् । सडकमा खटिएका दुईचार जना ट्राफिक प्रहरीलाई गाडी रोकाउन र पार गराउन हम्मेहम्मे पर्छ । ट्राफिक लाइट नहुँदा नरायणगढमा ट्राफिक प्रहरीहरु आफै ट्राफिक लाइट बनेर बसिरहेका हुन्छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक भगवान थापाले ट्राफिक प्रहरी एक्लैले भरतपुरमा ट्राफिक मिलाउन नसक्ने बताए । यसका लागि महानगरपालिका र यातायात व्यावसायीको उत्तिकै भूमिका रहन्छ । तर ट्राफिक कार्यालयले यी दुबै निकायबाट पर्याप्त सहयोग पाउन नसकेको उनले बताए ।

यस्तै उनले भरतपुर महानगरमा कति सार्वजनिक गाडी भित्र्याउँदा उचित हुन्छ भन्ने अध्ययनबिनै गाडी भित्र्याउँदा अहिले समस्या भइरहेको बताए ।

भरतपुर महानगर काठमाडौं उपत्यका पछिकै बढी गाडीको चाप रहेको शहर हो । नारायणगढ भएर दिनैपिच्छे २० हजारभन्दा बढी गाडी आवतजावत गर्ने ट्राफिक कार्यालयको अनुमान छ । यस्तो अवस्थामा ट्राफिक लाइटको व्यवस्था गर्न महानगरपालिकाले चासो दिएको छैन ।

पार्किङ्ग व्यवस्थापनमा असफल बन्यो महानगर :

भरतपुर महानगर चुकेको अर्काे क्षेत्र हो पार्किङ्ग व्यवस्थापन । महानगरले पर्याप्त पार्किङ्ग स्थलको व्यवस्था गर्न नसक्दा नारायणगढ बजारको अवस्था भद्रगोल छ । गाडी र मोटरसाइकल जथाभावी पार्किङ्ग गरिएको हुन्छ । पैदल यात्री हिँड्न बनाइएको फुटपाथमा मोटरसाइकल राखिन्छ ।

पूर्व पश्चिम राजमार्ग वारिपारि नारायणगढमा भरतपुरका अधिकांश बैंक, वित्तिय संस्था एवम् कन्सल्टेन्सीहरु छन् । यी कुनै पनि संस्थामा गाडी पार्क गर्नै ठाउँ छैन । सेवाग्राही तथा कर्मचारीले फुटपाथमै पार्क गर्ने गर्दछन् ।

चितवनमा गाडीको चाप बढे पनि सडक र पार्किङ्ग भने पूरानै अवस्थामा छन् । भरतपुरमा नयाँ बनेका भवनमा पनि पार्किङ्ग स्थल पर्याप्त छैनन् । नयाँ भवनको नक्सा पास गर्दा महानगरपालिकाले पार्किङ्गलाई खासै ध्यान दिएको छैन । भाटभटेनी, सिजी ल्याण्डमार्क लगायत केही भवनले अण्डरग्राउण्ड पाकिङ्ग बनाएका छन् । अन्य भवनमा पार्किङ्गको व्यवस्था छैन । केही भवनमा भएका अण्डर ग्राउण्ड पार्किङ्गमा अरु व्यावसाय चलाइएको छ ।

व्यवस्थित र पर्याप्त पार्किङ्ग स्थल बनाउने भनेर भरतपुर महानगरपालिकाले भन्दै आएको भए पनि यो काम भएको छैन । बजारका केही भित्रि भेगका जग्गालाई कार पार्किङ्ग स्थल भनिएको भए पनि त्यहाँसम्म कार पार्किङ्ग गर्न जान सक्दैनन् कारवालाहरु । पार्किङ्ग शुल्क धरै भएको बताउँदै चालकहरु त्यस्ता ठाउँमा पार्किङ्ग गर्न जाँदैनन् । ती स्थानमा पार्किङ्ग गरेको न्यूनतम १०० रुपैयाँ लिने गरिएको छ । पार्किङ्ग स्थलमा गाडी लगेपछि ५ मिनटमात्र राखे पनि १०० लिने गरिएको छ ।

पार्किङ्ग स्थल बनाउन सकिने एउटा उपयुक्त ठाउँ थियो लायन्स चोकको पूरानो मण्डी । तर महानगरपालिकाले उक्त सार्वजनिक जग्गाबाट मण्डी र ठेला व्यावसायीलाई हटाएर व्यावासायिक महल बनाउन नीजि कम्पनीलाई जग्गा भाडामा दिएको छ ।

मुख्य बजार क्षेत्रमै छैनन्, सार्वजनिक शौचालय :

भरतपुर महानगरपालिकाले गर्नैपर्ने काम नगरेको अर्काे कुरा हो सार्वजनिक शौचालय निर्माण । भरतपुरका मुख्य बजार क्षेत्रमै सार्वजनिक शौचालय छैनन् ।

भरतपुर महानगर भित्र महानगरपालिकाको स्वामित्वमा केन्द्रीय बस टर्मिनल (पारस बसपार्क), पोखरा बसपार्क, भरतपुर १० को वडा कार्यालय अगाडिको खुल्ला मञ्च र गोन्द्राङ गरी ४ ठाउँमा मात्र सार्वजनिक शौचालय छन् । ती शौचालय प्रयोग गर्दा सरसफाइ शुल्क तिर्नुपर्छ । तर शौचालय सफा गरिएको हुँदैन ।

शौचालय नहुँदा नारायणगढ आउने तथा यस क्षेत्रमा सार्वजनिक सवारी चलाउने चालकहरुले निकै समस्या भोग्नु परेको छ । खाजा खान होटल छिरेर होटलको शौचालय प्रयोग गर्नुपर्छ । होटलमा खाजा नखाई शौचालय प्रयोग गर्न पाइँदैन ।

महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले भरतपुरमा सार्वजनिक शौचालयको अभाव भएको स्वीकार गरे । भरतपुरका भिडभाड हुने क्षेत्रमा शौचालय निर्माण गर्न महानगरले योजना बनाएको भए पनि विभिन्न कारणले काम सुरु हुन नसेको उनले बताए ।

सडकमानव मुक्त महानगर घोषणामै सिमित :

भरतपुर महानगरपालिकाले तीन वर्षअघि महानगरलाई सडकमा मानिस बास बस्नु नपर्ने महानगर घोषणा ग¥यो ।

देशकै पहिलो सडकमानव मुक्त महानगर घोषणा गरेर मेयर रेनु दाहालले निकै चर्चा कमाइन् । घोषणा कार्यक्रममा बोल्दै दाहालले घोषणा नाम मात्रका लागि नगरिएको भन्दै यो कार्यक्रम निरन्तर चलाउने वाचा गरेकी थिइन् । ‘भरतपुरमा अब कोही पनि नागरिक गाँस, बास र कपासका लागि सडकमा भौतारिनु पर्दैन’ उनले भनेकी थिइन् ।

सडकमा बसिरहेका मानिसलाई घरमा बसाउने काम मानव सेवा आश्रमले गर्दै आएको छ । यसका लागि उसले भरतपुरको बाइपास रोडमा घर भाडामा लिएको छ ।

सडकमानवमुक्त घोषणा कार्यक्रममा आश्रमको घर भाडा, सडकमा बसिरहेकाहरुलाई आश्रमसम्म लैजान गाडी, सडक मानवको अवस्था थाहा पाउन स्क्रिनिङ सेन्टरको व्यवस्था भरतपुर महानगरपालिकाले गर्ने मेयर दाहालले वाचा गरेकी थिइन् । यसका लागि महानगरपालिकाले मानव सेवासँग सम्झौता गरेको थियो ।

तर मानव सेवा आश्रमले भरतपुर महानगरपालिकाले सम्झौताअनुसार सहयोग नगरेको बताएको छ । भरतपुर महानगरपालिकाले अहिलेसम्म न उद्दार बाहनको व्यवस्था गरेको छ न स्क्रिनिङ सेन्टर नै ।

आव ०७७/०७८ मा भरतपुर महानगरपालिकाले आश्रमलाई १० लाख १६ हजार रुपैयाँ सहयोग गरेको थियो । आर्थिक वर्ष ०७८/०७९ मा ८ लाख रकम छुट्याएको छ । उक्त रकमले घरभाडा तिर्न पनि नुपग्ने आश्रमका सचिव एवम् प्रवक्ता सुमन बर्ताैलालले बताए । उनका अनुसार, आश्रमले एक महिनामा ८० हजार घर भाडा तिर्नुपर्छ । आश्रममा एक महिनामा एकजनाका लागि १० देखि १२ हजार रुपैयाँ खर्च हुन्छ ।

मानव सेवाले अहिले भरतपुरको बेलचोकमा आश्रमका लागि घर बनाइरहेको छ । घर बनाउने खर्च जुटाउन मानव सेवाले यही मंसिरमा महायज्ञ लगायो । महायज्ञबाट ४ करोड १५ लाख रुपैयाँ उठ्यो । महानगर प्रमुख दाहालले आश्रमको घर बनाउन एक करोड रुपैयाँ सहयोग गर्ने वाचा गरेकी छिन् ।

घोषणाका बेला जस जसले जेजे सहयोग गर्छु भनेका थिए त्यो सहयोग नगरिँदिदा भरतपुरलाई पूर्णरुपमा सडकमानव मुक्त नगर बनाउन नसकिएको मानव सेवा आश्रमले जनाएको छ ।

सडक बने नाला बनेनन् :

भरतपुर महानगरले साढे ४ वर्षमा धमाधम सडक पिच त ग¥यो । तर नाला बनाउन महानगरले त्यति ध्यान दिएको छैन । महानगर र वडा मातहतमा बनेका भरतपुरका अधिकांश सडकमा नाला (ढल) बनाइएको छैन ।

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७४/७५ देखि ०७६/७७ सम्म तीन वर्षमा १८५ किलोमिटर सडकमा नयाँ कालोपत्रे गरेको छ भने १७५ किमि पिच मर्मत र पुनः पिच गरेको छ । ढल भने १३ किलोमिटरमा मात्र बनाइएको छ ।

ढल नहुँदा भरतपुरका मुख्य शहर क्षेत्र वर्षातमा डुब्छन् । भरतपुरका ११ र १२ नम्बर वडाका सडकमा नाला नहुँदा घर, आगन तथा बारीमै पानी जम्ने गरेको छ ।

नारायणी तटबन्धनमा गएन ध्यान, ढुँगाबालुवा झिक्दा वस्तीमा पस्यो नारायणी :

भरतपुर महानगर नारायणी र राप्तीसँग जोडिएको छ । महानगरका विभिन्न वडा नारायणी तटमा पर्दछन् । नारायणी र राप्ती नदीले वर्षेनी जमिन कटान गर्ने र घर डुबाउने गरेको छ । सांसद र स्थानीय सरकारका जनप्रतिनिधिले नदी तटबन्धन गर्ने आश्वासन दिए पनि त्यसो भएको छैन । वर्षातमा बाढी पसेपछि तत्काल नदी तटबन्ध गर्न भन्दै ढुँगा र जाली लगिने गरिन्छ । तर हिउँदमा यस काममा ध्यान दिइँदैन ।

भरतपुर महानगरपालिका नदी कटान रोक्ने होइन बढाउने काममा लागेको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् ।

महानगरपालिकाले नदीका विभिन्न स्थानबाट वर्षेनी ढुंगाबालुवा निकाल्दै आएको छ । आर्थिक वर्ष ०७७/७८ मा नारायणी नदीको ठिमुरा, मझुवा सामुदायिक वन भरतपुर ४, मझुवा सामुदायिक वन भरतपुर १७, गाइघाट क्षेत्र र ज्ञानेश्वर सामुदायिक वनबाट ठेक्का लगाएर ढुंगाबालुवा निकालिएको थियो । यसबाट ११ करोड ३४ लाख बराबरको राजस्व संकलन भएको महानगरपालिकाले जनाएको छ ।

यसवर्ष गाइघाट, बालुवाघाट लगायतका ५ स्थानबाट निकाल्न अध्ययन भइरहेको महानगरपालिकाले जानकारी दिएको छ ।

भरतपुरको किनारतिरबाट ढु्ंगाबालुवा झिक्ने र पारिपट्टि नझिक्ने गरिएकाले नदी चितवनतर्फ च्यापिँदै आएको छ । यसले गर्दा नदी बस्ती पस्ने गरेको छ । यस कदमको विरोधमा स्थानीय बासिन्दाले समयसमयमा आवाज उठाउँदै आएका छन् । गत वर्ष ज्ञानेश्वरका बासिन्दाले बालुवा ढुंगा लिन आएका १५ वटाभन्दा बढी गाडी तोडफोड गरेका थिए ।

बसपार्क सुधारमा छैन ध्यान :

भरतपुर महानगरपालिकाले गर्न नसकेको अर्काे काम हो भरतपुरको केन्द्रीय बसपार्क (पारस बसपार्क) को सुधार । भरतपुर महानगरपालिकाअन्तर्गत रहेको उक्त बसपार्कको अवस्था एकदमै बिजोक र नाजुक छ ।

बसपार्कमा राती बत्ति बल्दैन । पोलमा बत्ति त राखिएका छन्, तर जुनकुरीले जत्तिको पनि उज्यालो दिँदैनन् ती बत्तिले । टाढाबाट आएर बसपार्क ओर्लिएका यात्रु राती डराउने गर्दछन् ।

बसपार्कको शौचालय जना पैसा तिर्नुपर्छ । तर शौचालय पसिसक्नु हुँदैन । कुनै पनि बेला सफा देखिँदैन । शौचालयका ढोका बन्द हुँदैनन् । पानी हुँदैन । कार्यालयका कर्मचारीले प्रयोग गर्ने शौचालय भने सफा छन् ।

यस्तै बसपार्क वरीपरी फोहोरका थुप्रैथुप्रा छन् । भरतपुर महानगरपालिकाले उक्त बसपार्क हेर्ने ठेक्का आर्जन कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई दिएको छ । त्यसका सञ्चालक शिवशंकर उप्रेतीले बसपार्क अव्यवस्थित रहेको स्वीकार गरे ।

उनले आफ्नो काम राजश्व उठाउने र गाडी दर्ता गर्ने मात्र भएको बताउँदै बसपार्कभित्र संरचना बनाउने काम महानगरपालिकाको भएको बताए । तीन वर्षमा भरतपुर महानगरलाई १२ करोड ५० लाखभन्दा माथि बुझाउने गरी ठेक्का सम्झौता भएको उप्रेतीले बताए ।

भरतपुर महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले बसपार्कमा रहेको समस्याबारे निरीक्षण गरेर समस्या समाधानमा लाग्ने बताएका छन् । उनले बसपार्कमा समस्या रहेको स्वीकार गर्दै यसलाई दु्रत मार्गबाट समाधानको उपाय खोजिने बताएका छन् ।

महानगर बने पनि उकासिएन जनताको जीवन :

महानगरपालिका प्रमुख रेनु दाहालले चुनावअघि जनताको जीवनस्तर उकास्न, गरिबी न्यूनिकरण गर्न एवम् रोजगारी सृजना गर्नका लागि महानगरपालिकाले विशेष ध्यान दिने वाचा गरेकी थिइन् ।

तर यसका लागि महानगरपालिकाले दीर्घकालीन योजना बनाएको छैन । कहिले काहीँ सामाजिक संस्थाले गर्ने जस्तो सहयोग र केही अनुदान दिनुबाहेक महानगरले अरु केही गर्न सकेको छैन ।

महानगर प्रमुखको अधिकांश वाचा भएनन् पूरा :

भरतपुर महानगर प्रमुख रेनु दाहालले चुनावअघि विभिन्न वाचा गरेकी थिइन् । उनले भरतपुरलाई स्मार्ट सिटी बनाउने, मेडिकल सिटी बनाउन कदम चाल्ने, महानगरमा मेट्रो रेल चलाउने, विद्युतलाइन भुइँमुनि राख्ने, मुख्य सडकमा बत्ती बाल्ने, पर्याप्त पार्किङ्ग स्थल बनाइ बजारमा ट्राफिक व्यवस्थापन गर्ने, आफ्नै नगर अस्पताल बनाउने, भरतपुरको पर्यटन विकासमा महानगर लाग्ने, सार्वजनिक स्थानमा निःशुल्क वाइफाइको व्यवस्था गर्ने, विभिन्न स्थानमा सार्वजनिक शौचालय बनाउने, सडक पिचलाई प्राथमिकता दिने, भरतपुर महानगरमा नेपालकै ठूलो रिंगरोड बनाउने, लिङ्क रोड बनाउने, जनताको जीवन स्तर सुधार्न विभिन्न कार्यक्रम ल्याउने, सामाजिक सुरक्षा भत्तामा महानगरले एक हजार रुपैयाँ थप गरिदिने लगायतका विविधि आश्वासन रेनु दहालले निर्वाचनअघि दिएकी थिइन् ।

तर सडक पिच गर्नेबाहेक अरु कुनै पनि काम प्रभावकारी तरिकाले भएनन् । अधिकांश कामहरु सुरु नै भएका छैनन् भने केही काम सुरु गरेरमात्र राखिएको छ ।

स्मार्ट सिटीका लागि महानगरले केही काम गरेको छैन । मेडिकल सिटी बनाउन पनि भरतपुर महानगरले चासो नदिएको स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवम् चितवनको स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियाल्ने डक्टर भोजराज अधिकारीले मेडिकल सिटी बनाउन महानगरपालिकाले त्यसैअनुसार प्रक्रिया चाल्नुपर्ने बताए । कुखुरावाला आए पोल्ट्री सिटी, माछावाला आए माछा सिटी, तरकारी वाला तरकारी सिटी बनाइदिन्छु भन्दै हिँड्ने महानगरपालिकाको प्रवृत्ति रहेको बताउँदै उनले यसलाई हटाउनु पर्ने बताए । डा अधिकारीले भने, ‘मेडिकल सिटी बनाउने हो भने भरतपुर महानगरपालिकाले एउटामात्र विशेषताको सिटी रोज्नुपर्दा मेडिकल सिटी हो भन्न सक्नु प¥यो । घरी के घरी के भन्नु भएन ।’

बसपार्कमा फ्रि वाइफाइ राखियो भनेर प्रचार गरिएकोे भए पनि वाइफाइ चल्दैन । रिंगरोड र लिंकरोडको काम पनि प्रारम्भिक चरणमै रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>