Breaking News
चितवनका विद्यालयमा माघ २३ गतेबाट खोप अभियान सुरु हुने

पूजा ढकाल
चितवन, माघ १९
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको तेस्रो लहर तीव्र गतिमा फैलिँदै गएको छ ।
छिमेकी राष्ट्र भारतसँग खुला सिमा भएकै कारण नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको हो ।
बढ्दो कोरोना संक्रमण न्यूनीकरण तथा कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाए भनेको खोप नै हो । कोरोना रोकथामका लागि चितवनका विद्यालयमा माघ २३ गते आइतबारबाट खोप अभियान सुरु हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण बन्द रहेका सम्पूर्ण विद्यालय यही माघ १६ गतेबाट २० गतेसम्म खुलाएर खोप अभियान सुरु गर्ने बताएको थियो । तर, चितवनका विद्ययालयमा भने मन्त्रालयले तोकेको भन्दा केही समयपछि मात्रै खोप अभियान सुरु हुन लागेको छ । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत दिपक तिवारीका अनुसार १७ जिल्लामा फाइजर खोप लगाउने भनिएको छ । उनी भन्छन्, ‘उक्त खोप आउन ढिला भएकै कारण चितवनमा खोप अभियान आइतबार सरेको हो । ’
आइतबारबाट सुरु हुने खोप अभियानमा १२–१७ वर्ष उमेर समूहका बालबालिकाले आ–आफ्नो स्कुलबाट सेवा लिन सक्ने तिवारीले बताए । त्यस्तै तिवारीका अनुसार चितवनको एक नगरपालिकामा भने खोप अभियान सुरु भइसकेको छ । खैरहनी नगरपालिकामा मकवानपुरबाट बचेको खोप लगाइएको हो । उनी भन्छन्, ‘हतारमा खोप अभियान सुरु गरेकोले धेरै बालबालिका खोप लगाउन छुटेका छन् , त्यसैले सो क्षेत्रमा पनि हामी पुनः आइतबारबाटै खोप अभियान सुरु गर्छौ ।’
चितवनमा पछिल्लो समय माघ १४ देखि १८ गतेसम्म ज्येष्ठ नागरिकलाई बुस्टर डोज लगाइएको थियो । तर, उक्त खोप अभियानले अब लगाउने खोप अभियानमा कुनै असर नगरेको उनले बताए ।
त्यस्तै नेपालमा भने पछिल्लो समय सन् २०२१ जनावरी २७ बाट खोप अभियान सुरु भएको थियो । सो खोप अभियानको शुभारम्भ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । खोप अभियानको सुरु गर्दै ओलीले अबको तीन महिना भित्र सबै नेपालीले निःशुल्क खोप प्राप्त गर्ने बताएका थिए । तर, खोप अभियान सुरु भएको तीन महिना त के एक वर्ष बित्दा समेत सर्वसाधारण खोपबाट बञ्चित छन् ।























