खेलकुद
युभेन्ट्सका दुई मिडफिल्डर डेजान र रोड्रिगो टोटेनहममा अनुबन्धित

एजेन्सी, माघ १८
इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हटस्परले विन्टर ट्रान्सफरको डेड लाइन डे को अन्तिम दिन इटालियन क्लब युभेन्ट्सका दुई मिडफिल्डर डेजान कुलुसेभ्स्की र रोड्रिगो बेन्टानकरलाई अनुबन्ध गरेको छ । टोटेनहमले विन्टर ट्रान्सफरको डेड लाइन डेमा युभेन्ट्सबाट विंगर डेजानलाई लोनमा तथा मिडफिल्डर रोड्रिगोलाई स्थायी खेलाडीको रुपमा भित्र्याउन सफल भएको हो । २४ वर्षीय उरुग्वेली मिडफिल्डर रोड्रिगो १९ मिलियन युरोमा साँढे चार वर्षको लागि टोटेनहममा अनुबन्ध भएका हुन् । रोड्रिगोले युभेन्ट्सका लागि १ सय ३३ खेलमा २ गोल गरेका छन् ।
यस्तै स्वीडिस २१ वर्षीय विंगर डेजान १८ महिनाको लागि लोनमा टोटेनहममा आएको हो । यस अवधिमा टोटेनहमले युभेन्ट्सलाई हरेक वर्ष १० मिलियन युरो प्रदान गर्नेछ । स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्ने विकल्प रहँदा ३५ मिलियन युरो मुल्य तोकिएको छ । एटलान्टाबाट सिरी ‘ए’ मा डेब्यु गरेका कुलसेभ्स्कीले पछि युभेन्ट्स आएका थिए । युभेन्ट्समा रहँदा उनले दुईपटक लोनमा पार्मामा खेले । युभेन्ट्समा रहँदा उनले ७४ खेलमा ९ गोल गरेका छन् । उनले स्वीडेनबाट २० खेलमा १ गोलसमेत गरेका छन् ।
आफ्नो दुई खेलाडीले क्लब छाडेसँगै युभेन्ट्सले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकबाट स्वीट्जरल्यान्डका डेनिस जाकारियालाई सन् २०२६ सम्मको लागि सम्झौता गरेका छन् । २५ वर्षीय मिडफिल्डर ५ वर्ष जर्मन क्लबमा बिताएर इटाली आएका हुन् । स्वीजरल्याण्डका लागि उनले ४० खेलमा ३ गोल गरेका छन् ।

























