Breaking News
भरतपुरको पुल्चोक–गोन्द्राङ सडक अस्तव्यस्त, आधारभूत सेवाको अवरोधले स्थानीयलाई सास्ती

प्रतिमा कुमाल
चितवन, माग ११–
निर्माणाधीन सडकले खानेपानी, बिजुली, इन्टरनेट जस्ता आधारभूत आवश्यकतामा अवरोध आउँदा भरतपुरको गोन्द्राङदेखि चौबिसकोठीसम्मका नागरिकले सास्ती खेप्नु परेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले ६ लेनको बाटो निमार्ण गरिरहेको राजमार्गको दुवै तर्फ ढल निर्माणको काम नसक्दा स्थानीयले सास्ती खेप्नु परेको हो ।
सडक निर्माणको क्रममा ढलको काम चलिरहँदा दैनिक कार्यमा बाधा उत्पन्न भएको स्थानीय पदमलाल पौडेलले नारायणी अनलाइनलाई बताए । किसान ट्रेडिङ प्रालि हाकिमचोकका सञ्चालक पौडेलले विभिन्न संस्थाको समन्वय बिना सडकका काम हुँदा खानेपानी इन्टरनेट र बिजुलीको समस्या भोग्नुपरेको जानकारी दिए ।
उनले सडकसँगै रहेको व्ययापार व्यवसायमा समेत हानी पुगेको जीकिर गरे । उनले भने, ‘खानेपानी विभाग, बिद्युत् र सडक विभागबीच समन्वय हुनुपर्दथ्यो । त्यसो नहँुदा स्थानीय बासिन्दा, व्यवसायी र पैदलयात्रीले सास्ती खेपिरहेका छन् । विभिन्न निर्माण कार्यमा ढिलासुस्ती देखापरेको छ । जसले गर्दा नागरिकलाई आफ्ना अत्याबस्यक सेवासुविधासहित दैनिक कार्य गर्न अवरोध भएको छ । बिजुली जाने आउने कुनै ठेगान नै छैन । खानेपानीका पाइप ठाउँ–ठाउँमा टुट्नी फुट्नी भएको छ । समयमा मर्मत हुन नसक्दा खानेपानीको अभाव खड्किएको छ ।’
स्थानीय पौडेलले सडकको अवरोधका कारण बन्द व्यापारमा समेत असर परेको बताए । सामान लोड अनलोडमा बढी खर्च व्यवसायीले उठाउनु परेको उनको भनाइ थियो । पहिला एक हजार रुपैँयामा ढुवानी गरिने सामानको अहिले डबल शुल्क तिर्नु परेको बताए । आर्थिक व्यापारमा पनि ह्रास हुँदै गएको उनको भनाइ छ ।
यस्तै शुभश्री कार सोरुमका सचिन श्रेष्ठले व्यवसायी धरासाही भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) ले पारेको असरसँगै अव्यवस्थितरुपमा सडक विस्तारका काम हुँदा व्यापार व्यवसाय ठप्पको अवस्थामा पुगेको बताएका हुन् । उनले भने, ‘एक वर्ष बढी भइसक्यो बाटो बन्न थालेको, दुबै तिर नहर खन्ने काम मात्र भएको छ । ढाकछोप छैन । यस्तोमा गाडी खरिदबिक्री गर्न ग्राहकलाई आउन जान गाहे छ ।’
न्यु कार संसारका गणेश भुसालले व्यवसायलाई असर नपर्ने गरी विकासको काम सरकारले गर्नुपर्ने बताए । विकासको लागि केही विनास हुने भए पनि छिटोछरितो विवेकपूर्ण ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । यसो गरे व्यवसायीको आर्थिक क्षेत्रमा कम असर पर्ने भुसालले विचार राखे । उनले भने, ‘विकासको लागि केही विनास त हुन्छ नै । विकास चाहने विनास नचाहने हुँदैन । यसलाई हामीले सकारात्क रुपमा लिएका छौँ । तर, व्यवसायलाई असर नपर्ने गरी विकासका काम गर्न सकिन्थ्यो । सडक निर्माणका क्रममा खनिएको ढल छिटो व्यवस्थित हुनुपर्ने भुसालको भनाइ छ । समयमै काम सक्न पनि निर्माण कम्पनीलाई उनले अनुरोध गरेका छन् ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालले अबको एक महिनामा ढलको सम्पूर्ण काम सकिने जानकारी दिए । विद्युत्को पोलहरु समयमा नसार्दा खानेपानी, इन्टरनेट, विद्युत्लगायतको समस्या उत्पन्न भएको उनको भनाइ थियो । ढल (नाला) को उचाई अग्लो हुनुको साथै शहरी क्षेत्र, शाखा बाटो र विद्युत्को पोलका कारण समान तरिकाले काम हुन नसकेको उनले बताए । उनले भने, ‘कुनै ठाउँमा आउने कुनै ठाउँमा जाने प्रमुख कारण विद्युत्का पोलहरु समयमा नसारिनुले हो । नालाको उचाइ ठूलो छ । एकैचोटी ढलान हुँदैन । बजार क्षेत्र छ । शाखा सडक छन् । सबैलाई एकै चोटी व्यवस्थित गरेर लैजान गाह्रो हुन्छ । त्यस कारणले हामीले खण्ड—खण्डमा काम गरेको हो । अबको एक महिना भित्रमा गोन्द्राङदेखि चौबिसकोठीसम्मको ढलको सबै काम सकिने छ ।’ सूचना अधिकारी खनालले अहिलेको अवस्थामा गोन्द्राङदेखि चौबिसकोठीसम्म ३३ हजारको लाइन पठाइएको बताएका छन् ।
गोन्द्राङदेखि पुलचोकसम्म ६.०८ किलोमिटरको बाटो निर्माण हुन लागेको हो । बाटोको ठेक्का इण्डो सगुन ज्वाइन्ट भेन्चर कम्पनीले लिएको छ । २०७७ साल असोज २६ गते ठेक्का सम्झौता भएको थियो । त्यसको १५ दिनपछि कात्तिक ११ गतेबाट सगुनले सडक निर्माणको काम सुरु गएको हो । २०७९ साल फागुन १० गतेसम्म कम्पनीले काम सक्नुपर्ने छ । काम सुरु गरेको १६ महिनामा २७ प्रतिशत काम सकिएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । २८ महिनामा सक्ने सम्झौता भएको थियो । अब १२ महिना मात्र बाँकी रहेको छ । चालु आर्थिक वर्षमा नै ७० प्रतिशत काम सक्ने खनालको भनाइ छ ।

























