Breaking News

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक अस्तव्यस्त, आधारभूत सेवाको अवरोधले स्थानीयलाई सास्ती

०
Banner

प्रतिमा कुमाल

चितवन, माग ११–

निर्माणाधीन सडकले खानेपानी, बिजुली, इन्टरनेट जस्ता आधारभूत आवश्यकतामा अवरोध आउँदा भरतपुरको गोन्द्राङदेखि चौबिसकोठीसम्मका नागरिकले सास्ती खेप्नु परेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले ६ लेनको बाटो निमार्ण गरिरहेको राजमार्गको दुवै तर्फ ढल निर्माणको काम नसक्दा स्थानीयले सास्ती खेप्नु परेको हो ।

सडक निर्माणको क्रममा ढलको काम चलिरहँदा दैनिक कार्यमा बाधा उत्पन्न भएको स्थानीय पदमलाल पौडेलले नारायणी अनलाइनलाई बताए । किसान ट्रेडिङ प्रालि हाकिमचोकका सञ्चालक पौडेलले विभिन्न संस्थाको समन्वय बिना सडकका काम हुँदा खानेपानी इन्टरनेट र बिजुलीको समस्या भोग्नुपरेको जानकारी दिए ।

उनले सडकसँगै रहेको व्ययापार व्यवसायमा समेत हानी पुगेको जीकिर गरे । उनले भने, ‘खानेपानी विभाग, बिद्युत् र सडक विभागबीच समन्वय हुनुपर्दथ्यो । त्यसो नहँुदा स्थानीय बासिन्दा, व्यवसायी र पैदलयात्रीले सास्ती खेपिरहेका छन् । विभिन्न निर्माण कार्यमा ढिलासुस्ती देखापरेको छ । जसले गर्दा नागरिकलाई आफ्ना अत्याबस्यक सेवासुविधासहित दैनिक कार्य गर्न अवरोध भएको छ । बिजुली जाने आउने कुनै ठेगान नै छैन । खानेपानीका पाइप ठाउँ–ठाउँमा टुट्नी फुट्नी भएको छ । समयमा मर्मत हुन नसक्दा खानेपानीको अभाव खड्किएको छ ।’

स्थानीय पौडेलले सडकको अवरोधका कारण बन्द व्यापारमा समेत असर परेको बताए । सामान लोड अनलोडमा बढी खर्च व्यवसायीले उठाउनु परेको उनको भनाइ थियो । पहिला एक हजार रुपैँयामा ढुवानी गरिने सामानको अहिले डबल शुल्क तिर्नु परेको बताए । आर्थिक व्यापारमा पनि ह्रास हुँदै गएको उनको भनाइ छ ।

यस्तै शुभश्री कार सोरुमका सचिन श्रेष्ठले व्यवसायी धरासाही भएको बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) ले पारेको असरसँगै अव्यवस्थितरुपमा सडक विस्तारका काम हुँदा व्यापार व्यवसाय ठप्पको अवस्थामा पुगेको बताएका हुन् । उनले भने, ‘एक वर्ष बढी भइसक्यो बाटो बन्न थालेको, दुबै तिर नहर खन्ने काम मात्र भएको छ । ढाकछोप छैन । यस्तोमा गाडी खरिदबिक्री गर्न ग्राहकलाई आउन जान गाहे छ ।’

न्यु कार संसारका गणेश भुसालले व्यवसायलाई असर नपर्ने गरी विकासको काम सरकारले गर्नुपर्ने बताए । विकासको लागि केही विनास हुने भए पनि छिटोछरितो विवेकपूर्ण ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । यसो गरे व्यवसायीको आर्थिक क्षेत्रमा कम असर पर्ने भुसालले विचार राखे । उनले भने, ‘विकासको लागि केही विनास त हुन्छ नै । विकास चाहने विनास नचाहने हुँदैन । यसलाई हामीले सकारात्क रुपमा लिएका छौँ । तर, व्यवसायलाई असर नपर्ने गरी विकासका काम गर्न सकिन्थ्यो । सडक निर्माणका क्रममा खनिएको ढल छिटो व्यवस्थित हुनुपर्ने भुसालको भनाइ छ । समयमै काम सक्न पनि निर्माण कम्पनीलाई उनले अनुरोध गरेका छन् ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालले अबको एक महिनामा ढलको सम्पूर्ण काम सकिने जानकारी दिए । विद्युत्को पोलहरु समयमा नसार्दा खानेपानी, इन्टरनेट, विद्युत्लगायतको समस्या उत्पन्न भएको उनको भनाइ थियो । ढल (नाला) को उचाई अग्लो हुनुको साथै शहरी क्षेत्र, शाखा बाटो र विद्युत्को पोलका कारण समान तरिकाले काम हुन नसकेको उनले बताए । उनले भने, ‘कुनै ठाउँमा आउने कुनै ठाउँमा जाने प्रमुख कारण विद्युत्का पोलहरु समयमा नसारिनुले हो । नालाको उचाइ ठूलो छ । एकैचोटी ढलान हुँदैन । बजार क्षेत्र छ । शाखा सडक छन् । सबैलाई एकै चोटी व्यवस्थित गरेर लैजान गाह्रो हुन्छ । त्यस कारणले हामीले खण्ड—खण्डमा काम गरेको हो । अबको एक महिना भित्रमा गोन्द्राङदेखि चौबिसकोठीसम्मको ढलको सबै काम सकिने छ ।’ सूचना अधिकारी खनालले अहिलेको अवस्थामा गोन्द्राङदेखि चौबिसकोठीसम्म ३३ हजारको लाइन पठाइएको बताएका छन् ।

गोन्द्राङदेखि पुलचोकसम्म ६.०८ किलोमिटरको बाटो निर्माण हुन लागेको हो । बाटोको ठेक्का इण्डो सगुन ज्वाइन्ट भेन्चर कम्पनीले लिएको छ । २०७७ साल असोज २६ गते ठेक्का सम्झौता भएको थियो । त्यसको १५ दिनपछि कात्तिक ११ गतेबाट सगुनले सडक निर्माणको काम सुरु गएको हो । २०७९ साल फागुन १० गतेसम्म कम्पनीले काम सक्नुपर्ने छ । काम सुरु गरेको १६ महिनामा २७ प्रतिशत काम सकिएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । २८ महिनामा सक्ने सम्झौता भएको थियो । अब १२ महिना मात्र बाँकी रहेको छ । चालु आर्थिक वर्षमा नै ७० प्रतिशत काम सक्ने खनालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>