गण्डकी
सरकारको कामप्रति कांग्रेस सांसद दवाडी असन्तुष्ट

गोरखा, माघ ११-
गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले सरकारका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्तासमेत रहेका दवाडीले सरकारका कामकारबाही सन्तोषजनक नभएको बताएका हुन् ।
आज गोरखामा पत्रकार सम्मेलन गरी उनले सरकार सक्षम हुँदाहुँदै पनि अहिले भइरहेका काममा सन्तुष्ट भएर बस्न सकिने अवस्था नरहेको बताए । दवाडीले देशको अवस्था कोरोना महामारीका कारण नाजुक रहे पनि सरकारले कोभिडबिरुद्धको खोप बाहेकका क्षेत्रमा काम अघि बढाउन नसकेको बताए । प्रदेशसभा सदस्य दवाडीले भने, ‘सरकारले गरेका कामहरु पनि छन् तर यतिले मात्रै पुगेन । सक्षम हुँदाहुँदै पनि अहिलेको देशको दर्दनाक अवस्थाले गर्दा हो । देशमा अहिले के अवस्था छ ? अहिले मात्र सरकारको धारणा खोप कसरी जनतालाई पु¥याउने ? खोपले जनताको आत्मसन्तोष बनाउने काम मात्रै एउटा सोच हो जस्तो मलाई लाग्छ । पहिलेको सरकारले अघि बढाएको थियो, तर अहिलेको सरकारले काम सुरु गरेको छ । सरकारले गरेको गतिविधिमा टोटल्ली जनता खुसी छैनन् तर सुरुवात भएको छ ।’
प्रदेशसभा सदस्य दवाडीले गरिरहेका काममा जनता पूर्णरुपमा खुसी नरहे पनि सरकारले विकासका कामहरुलाई अघि बढाइरहेको बताए ।
























