Breaking News
त्रिभुवन विश्वविद्यालयको सबै तहको नतिजा फास्ट ट्रयाकबाट प्रकाशन गर्न मन्त्री पौडेलको निर्देशन

चितवन, माघ ११-
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुको अनुगमन गरेका छन् ।
अनुगमनमा विश्वविद्यालयमा बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई मन्त्री निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भइरहेको जनगुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
मन्त्री पौडेलले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराए । मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पार्नु भयो । ‘फाष्ट ट्रयाक’को विधि अपनाएर भए पनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाई गर्न नहुने उनको भनाइ थियो । मन्त्री पौडेलले भने, ‘जेसुकै तर्क गरेपनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ । कोसिस गरेको कुरा काम गर्ने जनशक्ति कम भएको हुँदाखेरी काममा ढिलाई भएको यहाँका कर्मचारीहरुले राख्नु भएको छ । तर सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा रिजल्ट ढिला भएको छ । जे स्थिति छ । मौजुदा अवस्थाबाट रिजल्ट छिटो निकाल्ने फाष्ट ट्रयाकको तरिका अपनाउनुस् भनिएको छ । यसलाई सुधार्ने प्रसंगमा अर्को प्रणाली अपनाउला । तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौं । केही विषयको रिजल्ट निस्केको पनि छ । केही विषयमा निस्कन बाँकी रहेको छ । कन्ट्रोलर सर पनि यहाँसँगै हुनुहुन्छ । विद्यार्थीको गुनासो अनुसार कर्मचारी पुगेन, सिस्टम पुगेन भन्ने कुराले मिल्दैन । उसले चाहेको बेलामा रिजल्ट दिन सक्नुपर्छ विश्वविद्यालयले । त्यो व्यवस्था गर्नुस् भनेको छु ।’
यता परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावको कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिए । उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तरगतको विद्यार्थीहरुको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताए ।
मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयका सबै शाखाको अनुगमन गरी त्यहाँका कर्मचारीहरुको गुनासो सुनेका थिए । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए । उनले सो विश्वविद्यालयको समग्र पुनर्संरचना गरेर अघि बढनुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढ्ने पनि बताए ।
























