Breaking News

भरतपुरको यातायात कार्यालयमा भद्रगोल पार्किङ, सडक बन्यो पार्किङ स्थल

Banner

प्रतिमा कुमाल

चितवन, माघ १० –

पूर्वपश्चिम राजमार्गसँग जोडिएको यातायात व्यवस्था सेवा कार्यालय चितवनकोे पार्किङस्थल नहुँदा सडक नै सवारी पार्किङको थलो बनेको छ ।
पार्किङस्थल नहुँदा सवारीसाधन आवतजावतमा समस्या देखिएको छ भने सेवाग्राहीले सास्ती खेपिरहेका छन् । भद्रगोल पार्किङका कारण सडक दुर्घटनामा चुनौती पनि थपिएको छ ।

कार्यालयमा सवारी पार्किङको सुविधा नहुँदा समस्या भएको सेवाग्राही मधु लामिछानेले बताइन् । खैरहनी नगरपालिका–५ बाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरणका लागि आएकी लामिछानेले पार्किङ मुख्य समस्या रहेको प्रतिक्रिया दिइन् । सडकलाई नै पार्किङ स्थल बनाएर राख्दा पछाडिबाट गुडिरहेको साधनले हान्छ की भन्ने डर पैदा हुने बताइन् । टाँडी चितवनका प्रदिप दुवाडीले कार्यालयले पार्किङको व्यवस्था गरे सेवाग्राहीलाई सहुलियत हुने बताएका छन् ।

व्यवस्थित पार्किङ स्थल नहुँदा यातायात व्यवस्था कार्यालयकै नाममा प्रश्न उठेको छ । फराकिलो बाटो र पार्किङसहितको भवन मुख्य समस्या रहेको कार्यालयका प्रमुख विनोद पौडेलले नारायणी अनलाइनलाई बताए । विकल्प खोज्दा समान्य पार्किङ भएको र सेवा प्रवाह गर्नसक्ने घर पाउनसमेत मुस्किल भएको जानकारी दिए । समाधानका लागि यातायात मन्त्रालयसँग छलफल भइरहेको उनको भनाइ छ ।
उनले भने, ‘हामी कहाँ पार्किङको ठूलो समस्या छ । यो सँगै फराकिलो बाटोसहितको कार्यालय भवनको आवश्यकता छ । राजमार्गसँगै कार्यालय जोडिए पनि पार्किङ नहुँदा सवारी राख्ने ठाउँ छैन । सडक नै पार्किङस्थल हुँदा आवतजावत गर्ने गाडीहरुलाई पनि अवरोध छ । सवारी जाँचपासको लागि फराकिलो बाटो चाहिन्छ । सरकारले सरकारी भवन उपलब्ध गराउने हो या निजी लिने हो विकल्प खोजिरहेका छौँ । पार्किङसहितको भवन पाउन मुस्किल छ । लाइन बस्नुपर्ने हुँदा तला भएको भवनबाट सेवा प्रवाह गर्न सकिँदैन ।’ पार्किङसहितको फराकिलो बाटो भएको ठाउँमा मात्रै कार्यालय बनाउन सकिने हुदा खोजी भइरहेको पौडेलको भनाइ छ ।

प्रमुख पौडेलले भरतपुर महानगरपालिका वडा नं. ११ आपँटारीमा जग्गा उपलब्ध गराउने प्रक्रिया संघीय मन्त्रालयसम्म पुगेको जानकारी दिए । जग्गा प्राप्ति भएपछि भवन नबन्दासम्म कार्यालयलाई अर्को ठाउँमा सारेर सहज सेवा प्रवाह गर्ने कामसमेत भइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>