Breaking News

चितवनमा लाइसेन्स नविकरणले सेवाग्राही खुशी, डेढ महिनामै ६ सय लाइसेन्स नविकरण

Banner

प्रतिमा कुमाल–

चितवन, माघ ९–

भरतपुर महानगरपालिका–१ का तोयानाथ सापकोटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरणका लागि संघीय राजधानी काठमाडौँ धाउँदै आएका थिए । एक दिनको काम दुई/तीन दिन लाग्दा होटलमा बस्नुपर्ने बाध्यता थियो । समय मात्र नभई पैसा समेत बढी खर्च हुँदा निकै सास्ती भोग्नुपर्ने बाध्यता सापकोटाको थियो । अहिले त्यो झन्झटबाट उनले मुक्ती पाएका छन् । आफ्नै जिल्लामा लाइसेन्स नविकरण गर्न पाएपछि उनी खुशी छन् । उनले भने,‘आफ्नै ठाउँमा काम हुँदा सजिलो र आनन्द भएको छ । पहिला काठमाण्डौँ धाउनु पथ्र्यो । एकै दिनमा काम नहुँदा ३–४ दिन बस्नुपर्ने बाध्यता थियो । अहिले गाडी भाडा र कोठा भाडाको समस्या हट्यो, समयको पनि बचत भयो यसमै खुशी छु ।’

पूर्वीचितवन रत्ननगरका प्रदिप दुवाडीले पहिले वीरगञ्जबाट लाइसेन्स नविकरण गर्दै आएका थिए । अहिले चितवनमै कार्यालय खुल्दा खुशी निकै खुशी भएको बताउँछन् । नजिकबाट सेवा पाउदा सहज खैरहनी नगरपालिका–५ की मधु लामिछाने पनि खुशी देखिन्छन् । उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । लाइसेन्स नविकरणका लागि निकै दुःख कष्ट भोग्ने सेवाग्राही धेरै छन् । चितवनबाटै लाइसेन्स नविकरण हुँदा सेवाग्राहीलाई सहज भएको छ ।

चितवनमा गत मंसिर १२ गतेबाट यातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेश भरतपुरले नविकरण सेवा सञ्चालन गरेको थियो । पुस मसान्तसम्म ६ सय जनाले लाइसेन्स नविकरण गरेको कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिएका हुन् । कार्यालयले हाल नविकरण मात्रै गर्ने भए पनि त्रुटी सच्याउन आउनेको संख्या पनि उत्तिकै छ । दैनिक ५० भन्दा बढी सेवाग्राहीहरु त्रुटि सच्याउन आउने गरेको भन्दै उनीहरुलाई सही परामर्श दिएर पठाउने गरिएको ढकालले बताए । उनले भने–, हाल हामी लाइसेन्स नविकरणको काम मात्रै गर्छौ, त्रुटी सच्चाउने काम यहाँबाट हुदैन । कसैको केही विवरण छुटेको वा गलत भएको छ भने सम्बन्धित कार्यालयमा जान सुझाव पनि दिदै आएका छौँ ।’
चितवनमा बागमती प्रदेशबाट जारी भएका लाइसेन्सहरु मात्र नविकरण हुने गरेका छन् । सरकारी कर्मचारीका हकमा भने कार्यरत कार्यालयको पत्रको आधारमा कार्यरत प्रदेशले नै नविकरण गरिदिने ऐनमा रहेको प्रमुख पौडेलको भनाइ छ ।

चितवनमा लाइसेन्स नविकरण मात्र नभई नयाँ लाइसेन्स समेत यहीबाट उपलब्ध गराउने प्रकृया समेत भइरहेको पौडेल बताउँछन् । यस कार्यका लागि यातायात मन्त्रालसँग छलफल भइरहेको उनको भनाइ छ ।

यस्तै कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै कार्यालयले अनलाइन टिकटको व्यवस्था समेत गरेको छ । सेवाग्राहीले कार्यालयको वभसाइटमा रहेको भेटघाट व्यवस्थापन प्रणालीबाट टोकन लिनसक्ने छन् । सेवाग्राहीले आफुले रोजेको दिन र सिस्टमले दिएको समयमा सेवा लिन सकने यातायात कार्यालयले जनाएको छ ।

राजश्वमा वृद्धि

लाइसेन्स नविकरणसंगै कार्यालयको राजश्व संकलन समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म करिब ४० करोड राजस्व संकलन भएको छ । यातायात कार्यालय प्रमुख पौडेलको अनुसार ३९ करोड ९९ लाख रकम संकलन भएको छ । कार्यालयको लक्ष्य ६५ करोड रहेको छ । यही रफ्तारमा लाइसेन्स नविकरण र अन्य कामहरु बढ्दै गए लक्ष्य पार गर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>