Breaking News
चितवनमा सिटामोलको अभाव, व्यवसायी भन्छन्: ५० बट्टा माग्दा ६ बट्टा बल्लबल्ल पाइयो

मधुसूदन दवाडी
चितवन, माघ ८-
औषधि कम्पनीहरुले पर्याप्त मात्रामा सिटामोल उत्पादन नगर्दा चितवनमा पनि सिटामोलको अभाव हुन थालेको छ ।
बजारमा उत्पादन कम र कोरोना महामारीको डरका कारण नागरिकले घरघरमा धेरै किनेर राख्न थालेपछि चितवनमा अभाव देखिएको हो ।
कस्तुरी फर्मास्युटिकल्स भरतपुर महानगरपालिका–१६ शिवघाटका कार्यकारी अध्यक्ष प्रवेक खनालले धेरै ठूला औषधि कम्पनीहरुले सिटामोल उत्पादनमा नाफा नदेखेर उत्पादन बन्द गर्दा बजारमा केही कमी हुन थालेको बताए । उनले भने, ‘ सिटामोल उत्पादनमा उद्योगलाई फाइदा छैन तर पनि सामाजिक उत्तरदायित्व अन्तर्गत केही कम्पनीहरुले उत्पादन गरिरहेका छौं । अहिले सरकारले २०६७ सालमा तोकेको सिटामोलको मूल्यको दरमा औषधि कम्पनीहरुले सिटामोल दिँदा प्रति ट्याब्लेट २५ पैसा घाटा पर्छ ।’ सिटामोलको कच्चा पदार्थ भारत तथा चीनबाट ल्याउनुपर्ने भएकोले समयअनुसार महंगिँदै गएको खनालले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अहिले नेपालमा २५ वटा औषधि कम्पनीले सिटामोल उत्पादन गरिरहेका छन् । यसको उत्पादन मूल्य एक रुपैयाँ १५ पैसा पर्छ तर सरकारले समयअनुसार यसको मूल्य समायोजन गरेको छैन । उद्योगीहरु घाटा खाएर सिटामोल बेच्न बाध्य छौं । कस्तुरी फर्मास्युटिकल्सले गत पुसमा मात्र साढे २० लाख ट्याब्लेट उत्पादन गरेको छ । नाफाको लागि भन्दा पनि सामाजिक उत्तरदायित्वको लागि उत्पादन गरिरहेका छौं ।’ अध्यक्ष खनालले सरकारले २०६७ सालमा प्रतिट्याब्लेट एक रुपैयाँ सिटामोलको मूल्य कायम गर्दा कच्चा पदार्थको मूल्य १२० प्रतिकेजी रहेकोमा अहिले ९०० रुपैयाँ प्रतिकेजी पुगिसकेको बताए । समयअनुकुल मूल्यमा समायोजन गर्न नसक्दा यस्तो अवस्था आएको उनले बताए । उनले भने, ‘ सिटामोलको विषयलाई बढ्दो राजनीतिकरण गरिन्छ । मन्त्रीपरिषद्ले जनस्तरबाट विरोध हुने डरले यसको मूल्यमा पुनरावलोकन गर्न सकेको छैन ।’ औषधि कम्पनीहरुलाई सिटमोलमा घाटा खाएर उत्पादन गर्दा पनि सरकारले केही छुट वा सुविधा दिन नसकेको उनको आरोप छ ।
एकातिर उद्योगीहरु धेरै कमले मात्र सिटामोलको उत्पादन गरिरहेका छन् भने अर्काेतिर औषधिको थोक बिक्रेताहरुले पनि मगाए जति सिटामोल पाउन सकेका छैनन् । बजारमा सिटामोलकै काम गर्ने धेरै प्रकारका औषधिहरु पाइन्छन् जसको कारणले औषधिकै अभाव त होइन तर सरकारले मूल्य निर्धारण गरेर तोकेको सिटामोल पर्याप्त पाउन भने गाहे छ । सिटामोलको जस्तै काम गर्ने निम्स, साइनेक्स, डिकोल्ड जस्ता औषधिहरु भने चितवनमा पर्याप्त देखिन्छ । जसको लागि कम्पनी र व्यापारीहरुले मनपरी मूल्य लिन पाइरहेका छन् ।
चितवनमा औषधिको थोक बिक्रेता मेडिकोजया प्रालिका प्रवन्ध निर्देशक हरिहर न्यौपानेले सिटामोल ५० बट्टा मगाउँदा ६ बट्टा जति मात्र पाउने गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘बजारको माग अनुसार प्रति ट्याब्लेट एक रुपैयाँ पर्ने सिटामोल पाउन गाहे छ । पहिलेको जति पर्याप्त आएको छैन । सरकारले दबाब दिएर सिटामोल उत्पादन गर्न लाएको छ जसबाट लागत मूल्य पनि नउठ्ने भएकोले समस्या आएको हो ।’ उनले सिटामोलको जस्तै काम गर्ने साइनेक्स, डिकोल्ड जस्ता औषधि जति लिए पनि उपलब्ध रहेको जानकारी दिए ।
औषधि व्यवसायी संघ चितवन भने सिटामोलको अभाव रहेको कुरा स्वीकार्य तयार देखिँदैन । औषधि व्यवसायी संघ चितवनका सचिव तारानाथ अधिकारीले बजारमा मानिसहरुले दुई चार पत्ता बढी लग्दा अभाव जस्तो देखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ बजारमा कृतिम अभाव सिर्जना गरिएको हो । मूल्य बढाउन पनि यस्तो गरिएको हुन सक्छ । सिटामोललाई एक पत्ता १० रुपैयाँ पर्ने भए पनि सिटामोल मिसिएको औषधि पर्याप्त छ ।’
चितवनको औषधि पसलहरुमा भने सरकारी मूल्य अनुसारको सिटामोलको अभाव नै देखिन्छ । भरतपुर स्याउली बजारका अभय फार्मेसीका सञ्चालक ओमप्रकाश रिजाल कतिपय डिलरसँग सिटामोल माग्दा पर्याप्त पाउन नसकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ सिटामोलको झोल पर्याप्त नै भए पनि चक्की सिटामोल पर्याप्त पाउन सकिएको छैन । औषधि कम्पनीहरुले उत्पादनमा घाटा परेर उत्पादन गर्न छाडेको भन्ने सुनिएको छ ।’ सरकारले औषधि कम्पनीहरुको मागलाई सम्बोधन गर्दै सहजरुपमा सस्तो मूल्यको सिटामोल पर्याप्त उपलब्ध गराउन जरुरी रहेको सरोकारवालाहरु बताउँछन् ।
























