Breaking News
कोरोनाको त्रासमा भरतपुर अस्पतालको सुत्केरी कक्ष : पछिल्लो १२ दिनमा ४५२ महिला आमा बने

– प्रतिमा कुमाल
चितवन, माघ ७ –
भरतपुर अस्पतालले सुरक्षित रुपमा प्रसुती सेवा दिइरहेको छ । कोरोना भाइरसको तेस्रो लहर आएसँगै चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण बढे पनि पूर्णरुपमा सुरक्षाका मापदण्ड पालना गरी सेवा दिइएको सुचना अधिकारी गोपालप्रसाद पौडेलले बताउनुभयो । अहिलेसम्म अस्पतालका चिकित्सक, नर्स, फार्मेसी, ल्याब र सरसफाइ कर्मी गरी ७६ जना संक्रमित भएका छन् ।
कोरोनाको तेस्रो लहर चितवमा पुस २५ गतेबाट फैलिएको हो । अत्यन्तै तीब्र रुपमा फैलिएको यो संक्रमणबाट १२ दिनको अवधिमा अस्पतामा ४ जना कोरोना पोजिटिभ महिलाको डेलिभरी भएको छ । ४ सय ५२ जनाको डेलिभरी भएकोमा उनीहरुमा संक्रमण देखिएको हो । अस्पतालका अनुसार एक जना कोभिड संक्रमित गर्भवतीको शल्यक्रियामार्फ सुत्केरी गराइएको हो । संक्रमित महिलाको लागि छुट्टै डेलिभरी कक्ष भएको सूचना अधिकारी पौडेलले बताउनु भयो ।
अस्पतालमा कोरोना संक्रमितको लागि कुल ७० बेड रहेको छ । जसमा २० वटा बेड आइसियु र ५० बेड एचडियुका लागि छुट्याएर राखिएको छ । संक्रमितको चाप बढ्दै गए ५० बेड थप्ने तयारीमा रहेको उनको भनाइ छ ।
भरतपुर अस्पताल प्रसुतिको लागि प्रमुख मानिएको छ । चितवनसँगै देशका विभिन्न जिल्लाबाट यहाँ प्रसुति सेवा लिन महिलाहरु आउने गरेका छन् ।
























