Breaking News

चितवनमा १० दिनमा २०० चिकित्सक तथा स्वाथ्यकर्मी कोरोना संक्रमित, सेवा प्रवाहमा चिन्ता

Banner

प्रतिमा कुमाल

चितवन, माघ ५

चितवनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले स्वास्थ्य सेवा प्रवाहमा चिन्ता जनाएका छन् ।

पुस २५ गतेबाट तीब्ररुपमा फैलिएको कोरानाका कारण चितवनका २०० स्वास्थ्यकर्मीहरु संक्रमित भएको भन्दै अस्पतालका सबै सेवा बन्द गर्नुपर्ने अवस्था हुन सक्ने जन स्वाथ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीले बताएका हुन् । उनले भने, ‘दोस्रो भेरियन्टमा खोपले सबैलाई संरक्षण गरेको थियो । थोरै मात्र स्वाथ्यकर्मी संक्रमित भए । यो तेस्रो भेरियन्टमा खोपले काम गरेको छैन । स्वाथ्यकर्मीहरु दिनानु दिन संक्रमित भइरहेका छन् । संक्रमण बढ्दा सेवा दिने कुरा चिन्ताजनक भएको छ । दैनिकरुपमा कसरी खोप अभियान चलाउने, अस्पतालहरु कसरी चलाउने भन्ने चिन्ता भएको छ । अब केहीसमय सबै कुरालाई रोक्नपर्ने जस्तो अवस्था देखाइरहेको छ ।’

प्रमुख तिवारीले कोरोना संक्रमण पोजेटिभ भएका चिकित्सक तथा स्वाथ्यकर्मीहरुले पनि बिरामीको चेक जाँच गरिरहेको जानकारी दिए । अहिलेको तेस्रो भेरियन्टको संक्रमणको प्रभाव ३ देखि ५ दिनसम्म बढी देखिएकाले त्यसपछि स्वास्थ्यकर्मीहरु सेवामा फर्किएको बताए । उनले भने, ‘पछिल्लो भेरियन्टको लक्ष्यण मुख्यतया तीनदेखि पाँच दिनसम्म बढी देखिएको छ । त्यसपछि हराउने भएको छ । संक्रमणको अवस्था हेरेर पनि निर्णय हुन्छ । विकसित देशहरुले पनि स्वास्थ्यकर्मीलाई ५ दिनमै सेवामा फर्काएका छन् ।

त्यसले गर्दा सात दिन पछाडि सावधानीको मापदण्ड अपनाएर संक्रमण फैलिदैन भन्ने तथ्यमै आधारित रहेर नेपाल सरकारले निर्णय गरेको होला । सेवादिने व्यक्तिनै नहुनुभन्दा सावधानी अपनाएर काम गर्ने वातावरण बनाइएको प्रमुख तिवारीको भनाइ छ । समुदायमा ७० प्रतिशतमा तेस्रो लहरको संक्रमण फैलिसकेको उनले बताए ।

साथै उनले ओमिक्रोनको फैलन सकने क्षमता बढी भए पनि जोखिम भने कम भएको बताएका छन् । अस्पतालमा भर्ना भएका संक्रमितमा पहिलो र दोस्रो चरणमा जस्तो अक्सिजन नभै नहुने, गम्भीर प्रकृतिका लक्षण नदेखिएको तिवारीको भनाइ छ । तर, तेस्रो चरणको कोरोना भन्दै उपचारमा ढिला नगर्न आग्रह गरेका छन् । पुराना संक्रमण पनि देखिएको उनको भनाइ थियो ।

साथै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको जोखिम भत्ता यथावत रहेको कार्यालयले जानकारी दिएको छ । संक्रमित स्वास्थ्यकर्मीको बिदा कटौती गरिएको छैन । संक्रमण पुष्टि भएमा होम तथा अस्पताल आइसोलेसन र क्वारेन्टिनका लागि एक हप्ताको छुट्टीको व्यवस्था गरेको छ । कन्ट्रयाक ट्रेसिङमा परेकालार्इं पाँच दिन आइसोलेसनमा बस्नका लागि बिदा दिइएको छ ।

यस्तै भरतपुर अस्पतालका वरिष्ठ कन्सल्टेन्ड फिजिसियन तथा कोभिड क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलले हतार गरि राजनीतिक जमघट, धार्मिकलगायतका मेला महोत्सव र वैवाहिक भीडले गर्दा संक्रमण बढेको बताए । कोरोनाको तेस्रो भेरियन्टको फैलने क्षमताले पनि संक्रमण दर उच्चभएको उनको भनाइ छ । स्वास्थ्य मापदण्ड प्रयोगमा पनि हेल्चक्राई भएको उनले बताए । डा. पौडेलले तेस्रो लहरबाट संक्रमित व्यत्तिले ६ देखि १० जनासम्मलाई संक्रमण सार्न सक्ने बताएका छन् । पहिलो भेरियन्टबाट संक्रमित व्यक्तिले एकदेखि तीन जनासम्मलाई संक्रमित गरेको उनको भनाइ छ ।

यस्तै जनस्वास्थ्य कार्यालयकी सूचना अधिकारी गिताञ्जली ढकालले बिगत दश दिनको संक्रमण दर हेर्दा ओमिक्रोन नै फैलिएको बताइन् । चितवनबाट केन्द्रमा स्याम्पल गएकोमा ओमिक्रोन पुष्टि नभए पनि संक्रमण दरका कारण तेस्रो भेरियन्ट नै भएको उनको भनाइ छ ।

२०७६ साल पुस १७ गते पहिलो पटक चीनबाट स्वदेश फर्किएका विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा सोही वर्ष चैत ३ गते राप्ती नगरपालिकामा आमा र छोरोमा संक्रमण देखिएको थियो । उनीहरु पनि विदेशबाट नेपाल आएका थिए । सो अनुसार चितवनमा अहिलेसम्म एक हजार जना चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । तेस्रो लहर आएसँगै करिब २०० हाराहारीमा संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा रहेको ढकालको भनाइ छ । संक्रमित उनीहरुमा कुनै स्वास्थ्य जटिलता नदेखिएको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>