Breaking News

झन्झटिलो बन्यो भरतपुर अस्पतालको अनलाइन टिकट प्रणाली, झण्डै तीन महिनामा ४४ जनाले लिए सेवा

Banner

प्रतिमा कुमाल

चितवन, माघ ४

भरतपुर अस्पलतालले सञ्चालन गरेको अनलाइन ओपीडी टिकट प्रणालीको प्रभावकारिता न्यून देखिएको छ ।

अनलाइन टिकट प्रणाली झन्झटिलो हुँदा सोचे जस्तो प्रभावकारी हुन नसकेको हो ।

अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले अनलाइनबाट टिकट काटेर सिधै चिकित्सकसँग भेट गर्न नपाइने बताएका छन् । उनले भने, ‘बिरामी र सेवाग्राहीको सजिलोका लागि अनलाइन टिकट सेवा ल्याएका हौँँ । अनलाइन बुकिङ गरे पनि टिकटको प्रिन्ट लिन आउनै पर्छ वा कुनै साइबरबाट प्रिन्ट गरेर ल्याउनु पर्छ । सिधै चिकित्सकसँग भेट गर्न पाइँदैन ।’

अहिलेसम्म अनलाइन टिकट बुकिङबाट ४४ जना सेवाग्राहीले सेवा लिएका छन् । टिकट बुकिङ गरे पनि सो टिकट प्रिन्ट गरेर ल्याउनुपर्ने वा काउन्टरमा लाइन बसेर टिकटको प्रिन्ट लिनै पर्ने भएकाले अनलाइन सेवा प्रभावकारी नभएको पौडेलको भनाइ छ । अहिले पनि मानिसहरु बिहान ८ बजे देखिनै काउन्टर अगाडि लाइनमा बस्ने गरेका छन् । कतिलाई यस विषयमा जानकारी नभएको पाइएको छ । जानकारी भए पनि मोबाइल चलाउन नआउने तथा स्मार्ट फोन नहुँदा लाइनमा बस्ने गरेको सूचना अधिकारी पौडेलले बताए ।

टिकट काउन्टरमा अनावश्यक भीडभाड नहोस् भन्ने उद्देश्यले अस्पतालले अनलाइन सेवा सञ्चालन गरेको हो । २०७८ साल कात्तिक १४ गते प्रचारप्रसार गरेर नै अनलाइन टिकट बुकिङ सेवाको प्रचार गरिएको थियो । तर, यस विषयमा भरतपुरका स्थानीय नै अज्ञात रहेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीकी खिनामाया अधिकारीले अनलाइन टिकटबारे जानकारी नभएको बताइन् । उनले भनिन्, ‘पहिला देखिनै लाइन बसेरै टिकट लिँदै आएको छु । अनलाइन टिकटको बारेमा थाहा छैन । थाहा भए पनि कल उठाउन र काट्न बाहेक आउँदैन ।’ अधिकारीले युवा पुस्ताको लागि भने प्रभावकारी हुने बताइन् । दाँतको जाँच गर्न उनी भरतपुर अस्पताल आएकी थिइन् ।

यस्तै गौरीगन्जका हिमाल पन्त्तले पनि अनलाइन टिकट बुकिङ सेवा सुरु भएको जानकारी नभएको बताए । उनी रक्तचाप जाँच गर्न आएका थिए । टिकट काट्न लाइनमा बसेका सबैले अनलाइन टिकटको विषयमा जानकारी नभएको बताएका छन् । अनलाइन टिकट बुकिङ गरेकाले लाइन बसेर टिकट लिनु र अनलाइन लिनु दुवैमा कुनै फरक नभएकोे बताएका थिए । बिहान ८ः३० देखि मध्यान्न १२ः ३० सम्म टिकट काट्ने समय रहेको छ । अनलाइन टिकट काटेका सेवाग्राहीले बिहान ११ बजेबाट सम्बन्धित काउन्टरबाट टिकट लिने व्यवस्था गरिएको छ । अस्पतालमा पाँच वटा ओपीडी टिकट काउन्टर रहेको छ । दैनिक अहिले बिरामीको चाप ८०० देखि ९००को हाराहारीमा रहेको अस्पतालले जानकारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>