Breaking News

चितवनमा फेरि सुरु भयो ध्रुवे हात्तीको आतंक, १६ जनाको ज्यान लिइसकेकोले निकुञ्ज प्रशासन हाई अलर्टमा

०
Banner

चितवन, माघ २–

पाँच वर्ष जति बेपत्ता भएको ध्रुवे हात्तीको नाम फेरि एकाएक चर्चामा आएको छ ।

केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको शनिबार साँझ मृत्यु भएसँगै यसको चर्चा फेरि चुलिएको हो । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।

हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उप चारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो ।

ध्रुवे हात्तीको आतंक शनिबारबाट सुरु भएपछि फेरि निकुञ्ज प्रशासन सचेत बनेको छ । प्रत्येक चार घण्टामा निकुञ्जले ट्रयाकिङ मार्फत ध्रुवे हात्तीको अपडेट लिन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले ध्रुवे हात्तीले थप आतंक मच्चाउँदै गएमा उसलाई नियम कानुन अनुसार मार्नुको विकल्प नभएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘बौलाएको वा हिंस्रक भएमा निकुञ्ज ऐन अनुसार नै त्यस्ता जनावरलाई मार्न सकिने निकुञ्ज ऐनकै प्रावधान छ । फेरि पनि आतंक मच्चाएमा यसलाई मार्न सकिन्छ ।’ यसबीचको समयमा ध्रुवे हात्ती भारत क्षेत्रतिर गएको उनले बताए ।

आतंकको एक दशक

कुनै बेला चितवनको माडीबासीका लागि ध्रुवे हात्ती पनि आतंकको अर्काे भयानक रुप हो । यो जंगली भाले हात्तीले बाहिर निस्केका मान्छेलाई ध्रुवेले धमाधम निशाना बनाइरहेको थियो । ध्रुवेलाई मार्न राज्य नै लाग्यो । १६ लाख रुपैयाँ खर्च भयो तर ध्रुवे एकाएक गायब भयो ।

मान्छेले सकेको भए ध्रुवे हात्तीलाई उहिल्यै मार्ने थिए तर लाखौं रकम खर्च गरेर पनि ध्रुवे हात्तीलाई मार्न सकिएन । २०६६ सालतिर चितवन निकुञ्ज क्षेत्रमा देखा परेको यो जंगली भाले हात्तीले सोही वर्षको माघमा पहिलोपटक मान्छे मा¥यो । २०६९ सालको हिँउदमा यसको आतंक उत्कर्षमा थियो । यो हात्ती चितवनदेखि रौतहटसम्म डुल्न थाल्यो । माडीमा महिना दिनभित्रै पाँचजनाको ज्यान लिएपछि धुर्वेलाई मार्न माग गर्दै आन्दोलन सुरु भयो ।

ध्रुवेले २०६६ सालमा एकजना, २०६७ मा तीनजना, २०६८ मा एक र २०६९ मा १० गरी १५ जनाको ज्यान लियो । मृत्यु भएकामध्ये छ जना माडीका हुन् । ५० वटा घर भत्काएको छ । उसले टाइगर टप्स होटलको एउटा भाले हात्ती मारेको निकुञ्ज कार्यालयले जानकारी गराएको छ । २०६९ सालको कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मंसिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास सुरु भएको थियो ।

२०६९ साल मंसिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जीपीएससहितको रेडियोकलर जडान गरेको थियो । तर, मंसिर मसान्तमा गर्दीमा बोटे दम्पतिको ज्यान लिएपछि पनि हात्तीलाई मार्ने निर्णय भयो । ध्रुवेलाई मार्न पुस २ गतेदेखि टोली परिचालन भयो । तर, पुस १५ देखि हात्ती सम्पर्कविहिन भयो । रेडियोकलर माघ २४ गते पर्सा निर्मल बस्तीको जंगलमा फेला परेको थियो ।

हात्ती मार्ने निर्णय भएपछि निकुञ्जमा तैनाथ नेपाली सेनापछि लागेको थियो । रेडियोकलरको संकेत स्पष्ट नआउँदा हात्ती हेर्न हेलिकप्टरको समेत सहयोग लिनु परेको थियो । तर, हात्ती हरायो । हात्ती नभेटिएपछि धेरैले ध्रुवे म¥यो भन्ने ठाने । तर तीन वर्षअघि गैंडा स्थानान्तरण गर्दा ध्रुवे सुखीभार क्षेत्रमा देखा प¥यो । झन्डै पाँच वर्ष जंगलभित्रै गायब रहेको ध्रुवे फेरि चितवन राष्ट्रिय निकुञ्जमा देखिएर सुरक्षामा खटिएका एक सैनिकको नै ज्यान लिएपछि यसको चर्चा फेरि सुरु भएको छ ।

फाइल फोटो: पत्रकार रमेशकुमार पौडेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>