Breaking News
चितवनमा फेरि सुरु भयो ध्रुवे हात्तीको आतंक, १६ जनाको ज्यान लिइसकेकोले निकुञ्ज प्रशासन हाई अलर्टमा

चितवन, माघ २–
पाँच वर्ष जति बेपत्ता भएको ध्रुवे हात्तीको नाम फेरि एकाएक चर्चामा आएको छ ।
केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको शनिबार साँझ मृत्यु भएसँगै यसको चर्चा फेरि चुलिएको हो । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो ।
हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उप चारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो ।
ध्रुवे हात्तीको आतंक शनिबारबाट सुरु भएपछि फेरि निकुञ्ज प्रशासन सचेत बनेको छ । प्रत्येक चार घण्टामा निकुञ्जले ट्रयाकिङ मार्फत ध्रुवे हात्तीको अपडेट लिन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले ध्रुवे हात्तीले थप आतंक मच्चाउँदै गएमा उसलाई नियम कानुन अनुसार मार्नुको विकल्प नभएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘बौलाएको वा हिंस्रक भएमा निकुञ्ज ऐन अनुसार नै त्यस्ता जनावरलाई मार्न सकिने निकुञ्ज ऐनकै प्रावधान छ । फेरि पनि आतंक मच्चाएमा यसलाई मार्न सकिन्छ ।’ यसबीचको समयमा ध्रुवे हात्ती भारत क्षेत्रतिर गएको उनले बताए ।
आतंकको एक दशक
कुनै बेला चितवनको माडीबासीका लागि ध्रुवे हात्ती पनि आतंकको अर्काे भयानक रुप हो । यो जंगली भाले हात्तीले बाहिर निस्केका मान्छेलाई ध्रुवेले धमाधम निशाना बनाइरहेको थियो । ध्रुवेलाई मार्न राज्य नै लाग्यो । १६ लाख रुपैयाँ खर्च भयो तर ध्रुवे एकाएक गायब भयो ।
मान्छेले सकेको भए ध्रुवे हात्तीलाई उहिल्यै मार्ने थिए तर लाखौं रकम खर्च गरेर पनि ध्रुवे हात्तीलाई मार्न सकिएन । २०६६ सालतिर चितवन निकुञ्ज क्षेत्रमा देखा परेको यो जंगली भाले हात्तीले सोही वर्षको माघमा पहिलोपटक मान्छे मा¥यो । २०६९ सालको हिँउदमा यसको आतंक उत्कर्षमा थियो । यो हात्ती चितवनदेखि रौतहटसम्म डुल्न थाल्यो । माडीमा महिना दिनभित्रै पाँचजनाको ज्यान लिएपछि धुर्वेलाई मार्न माग गर्दै आन्दोलन सुरु भयो ।
ध्रुवेले २०६६ सालमा एकजना, २०६७ मा तीनजना, २०६८ मा एक र २०६९ मा १० गरी १५ जनाको ज्यान लियो । मृत्यु भएकामध्ये छ जना माडीका हुन् । ५० वटा घर भत्काएको छ । उसले टाइगर टप्स होटलको एउटा भाले हात्ती मारेको निकुञ्ज कार्यालयले जानकारी गराएको छ । २०६९ सालको कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मंसिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास सुरु भएको थियो ।
२०६९ साल मंसिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जीपीएससहितको रेडियोकलर जडान गरेको थियो । तर, मंसिर मसान्तमा गर्दीमा बोटे दम्पतिको ज्यान लिएपछि पनि हात्तीलाई मार्ने निर्णय भयो । ध्रुवेलाई मार्न पुस २ गतेदेखि टोली परिचालन भयो । तर, पुस १५ देखि हात्ती सम्पर्कविहिन भयो । रेडियोकलर माघ २४ गते पर्सा निर्मल बस्तीको जंगलमा फेला परेको थियो ।
हात्ती मार्ने निर्णय भएपछि निकुञ्जमा तैनाथ नेपाली सेनापछि लागेको थियो । रेडियोकलरको संकेत स्पष्ट नआउँदा हात्ती हेर्न हेलिकप्टरको समेत सहयोग लिनु परेको थियो । तर, हात्ती हरायो । हात्ती नभेटिएपछि धेरैले ध्रुवे म¥यो भन्ने ठाने । तर तीन वर्षअघि गैंडा स्थानान्तरण गर्दा ध्रुवे सुखीभार क्षेत्रमा देखा प¥यो । झन्डै पाँच वर्ष जंगलभित्रै गायब रहेको ध्रुवे फेरि चितवन राष्ट्रिय निकुञ्जमा देखिएर सुरक्षामा खटिएका एक सैनिकको नै ज्यान लिएपछि यसको चर्चा फेरि सुरु भएको छ ।
फाइल फोटो: पत्रकार रमेशकुमार पौडेल
























