Breaking News

प्रशासनले रोक लगाएपनि देवघाटमा भक्तजनको भीड (फोटो फिचर)

Banner

चितवन, माघ १–

प्रशासनले रोक लगाए पनि देवघाटमा माघे संक्रान्ति मेलामा भक्तजनको भीड लागेको छ । मेलामा तनहुँतर्फ भक्तजनको भीड लागेको छ भने चितवनतर्फ विहानसम्ममा भक्तजनको सामान्य उपस्थिति रहेको छ ।

पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहानैदेखि माघेसङ्क्रान्ति मेला लागेको हो । हिजो बाँसको लिङ्गो गाडेसंगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो । भक्तजनहरु पूजापाठ गर्नुका साथै स्नान गरेर फर्कि रहेका छन् । कोभिड संक्रमणका कारण चितवन प्रशासनले देवघाट क्षेत्रमा विहान प्रवेश निषेध गरेपछि भक्तजनको उपस्थिति न्यून रहेको थियो । चितवनबाट मुख्य प्रवेशद्धार आँपटारीमै प्रहरीले भक्तजनलाई हिँडडुल गर्नका साथै सवारी साधन प्रवेश गर्न दिएको थिएन । तर ८ बजेपछि प्रहरीले भक्तजनको दवाबलाई थेग्न नसकेपछि प्रहरीले हिँडेर देवघाट प्रवेश गर्न दिएको छ । जसका कारण भक्तजन बढेपछि विहान ९ बजेपछि चितवनतर्फ देवघाटमा पनि भिड लागेको छ ।

चितवन प्रशासनले आज दिउँसो २ बजेसम्मका लागि देवघाट प्रवेश गर्ने बाटो शील गर्ने जनाएको थियो । तर प्रहरीले भक्तजनको दवाब थेक्न सकेनन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरले भने विधिपूर्वक मेलाको शुभारम्भ गरिए पनि बाहिरबाट भक्तजनलाई आउन भने रोक लगाइएको बताएका छन् । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण कल्पबासमा बस्ने वृद्धवृद्धा र देवघाटका बासिन्दाबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको उनले बताए । गत वर्षहरुमा सङ्क्रान्तिको अघिल्लो रात धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएको छ । देवघाटमा स्नान गरेर पूँजापाठ गरे धर्म प्राप्त हुने विश्वास छ ।

शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>