Breaking News
एमाले चितवनको नेतृत्व चयनमा सकस, अध्यक्षमा सहमति जुटे पनि अन्य पदमा किचलो

मधुसूदन दवाडी
चितवन, पुस २८-
कोरोनाको कारण देखाउँदै नेकपा एमाले चितवन जिल्ला समितिको अधिवेशन अनिश्चितकालका लागि स्थगित भए पनि नेतृत्व चयनमा सकस भएको छ । सतहीरुपमा कोरोनालाई दोष देखाइए पनि नेतृत्व चयनमा कुनै निष्कर्ष निस्कन नसकेपछि नै अधिवेशनका बाँकी काम पछाडि सार्दे लगिएको हो ।
अधिवेशनको पुस २३ गते उद्घाटन र २४ गते बन्दसत्र भएको थियो । बन्द शत्रमा एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने नाममा लगभग सहमति जुटे पनि अन्य पदमा भने सहमति जुट्न सकेन । अहिले पनि विभिन्न पक्षमा अनौपचारिक छलफल चलिरहेको छ तर निष्कर्ष निस्कन सकेको छैन ।
वर्तमान सचिव प्रकाश खनाल ‘सैलेस’, अध्यक्षका दाबेदार कमल पाठक र कार्यालय सचिव चन्द्रकान्त न्यौपानेले उपाध्यक्षको पदमा दाबी गरेपछि नेतृत्व छनोट प्रक्रियामा गाँठो पर्न गयो । अहिलेको जिल्ला अधिवेशनलाई एकता अधिवेशन भनिँदै आएकोले माओवादी केन्द्र समूहबाट एमालेमा आएका नेता शैलेसको दाबी पनि स्वभाविक नै थियो । उनी अहिले सचिव हुन् । त्यस्तै, पाठक अध्यक्षको दाबी गरेका नेताले उपाध्यक्षको दाबी गर्नु खासै नौलो कुरा नै भएन । त्यसैगरी चन्द्रकान्त न्यौपाने पनि एमालेका पुरानो नेता भएकोले उनको दाबीलाई पनि स्वभाविक नै मानियो ।
त्यसैगरी उपसचिवमा पनि प्रकाश ढुंगाना, घनश्याम कँडेल, दिव्या शर्माको दाबी कायमै छ । उपाध्यक्षको दाबीबाट पछि हटेमा चन्द्रकान्त न्यौपानेलाई पनि सहसचिव दिनुपर्ने हुन्छ । सहसचिवमा महिलालाई पनि स्थान दिनुपर्ने बाध्यात्मक अवस्था छ । ओली समूहका दुई अध्यक्षका आकांक्षी रामप्रसाद न्यौपाने र कमल पाठक एक ठाउँमा उभिएपछि अन्य पदमा व्यवस्थापन गर्न झनै कठिन भएको छ । जिल्ला कमिटीको नेतृत्व चयनमा एमाले नेता सुरेन्द्र पाण्डेको प्रभाव पनि कायमै रहेको छ । उनि पनि आफु निकटका नेतालाई जिल्ला कमिटीमा स्थापित गराउन लागि परेका छन् ।
उपाध्यक्षमा मात्र नभएर एमाले चितवनको जिल्ला नेतृत्वका विभिन्न पदमा जान धेरै नेताहरु आकांक्षी देखिए । जिल्ला नेतृत्वका लागि पाँच जना पदाधिकारीसहित १२० जनाको आवश्यकता पर्छ । भरतपुर महानगरपालिकालाई १२० मध्ये ३२ कोटा पर्छ । १२० जनामा ४० जना महिला हुनैपर्छ । महिला नेताहरुको व्यवस्थापन पनि अर्को समस्या बनेको छ । अर्कोतिर इच्छाकामनादेखि राप्ती, मेघौलीदेखि माडीसम्म फैलिएको चितवनमा भूगोलको हिसाबले पनि एमाले जिल्ला नेतृत्वमा सबै क्षेत्रको प्रतिनिधित्व गराउन त्यत्तिकै समस्या भएको छ । महानगरपालिकामा एमालेबाट विजयी वडाअध्यक्षहरुलाई जिल्ला कमिटीमा ल्याउनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । पद कम र आकांक्षी धेरै भएकै कारणले नेतृत्व छनोटमा सकस भइरहेको हो ।
नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल ‘सैलेस’ ले एमाले चितवनमा धेरै जना पदको आकांक्षी हुनु स्वभाविकनै भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ आकांक्षी धेरै भए पनि हामी सहमतिमा नै नेतृत्व चयन गर्छौं । कतिपय जिल्लाका नेताहरुलाई कोरोना संक्रमण भएकोले औपचारिक छलफल रोकिए पनि अनौपचारिक छलफल भइरहेको छ । कोरोनाको अवस्था के हुन्छ हेरेर छिट्टै जिल्ला नेतृत्व चयन गर्छौं ।’
एमालेको १० औं जिल्ला अधिवेशनको बन्दसत्रले पार्टी अध्यक्ष पार्वती रावलले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त न्यौपानेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया सुरु हुनुअघि अधिवेशन स्थगित गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले चितवनसहित देशभरका सबै जिल्ला अधिवेशनलाई भर्चुअल उद्घाटन गरेका थिए । जिल्ला अधिवेशनको लागि विभिन्न स्थानीय तह र पेसागत संगठनहरुबाट एक हजार ६०० प्रतिनिधिहरु छानिएका थिए ।
























