चितवन विशेष

अल्लोका सामग्री विक्री गर्न महोत्सव नै कुर्छन् व्यापारी

Banner

प्रमिता ढकाल-

चितवन, पुस २७–

मंगलबार चितवन महोत्सव अवलोकन गर्न आएका गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामग्री बिक्रीको स्टलमा भेटिए । टोपीका सौखिन रामनाथले आफूले लगाइरहेको ढाकाको टोपी खोले र अल्लोबाट बनेका दुई/तीन वटा टोपी पहिरिए । विभिन्न रंगका टोपी लगाउँदै ऐना हेर्दै गरेपछि ती मध्ये एउटा रोजे । पैसा तिरेर झोलामा राखि सकेपछि उनको मन फेरियो र अर्को टोपी रोजे । “बुट्टे टोपी राम्रो देखिए झै लागेर किने तर अलि ऊन मिसिएको जानकारी पाएपछि पुनः सादा टोली तिर नै मन मोडियो”–वाग्लेले भने ।

रामनाथले अल्लोको टोपी किन्नकै लागी मंगलबार महोत्सव आएको बताए । सोमबार उनका जहान परिवार महोत्सव घुमिसकेका थिए । श्रीमतीले अल्लोबाट बनेका टोपी पनि रहेछन् भनेपछि उनी मंगलबार महोत्सव पुगेको बताए । “हिजै श्रीमतीले लैजान पनि सक्थिन् तर मलाई अरुले छानेको रंग र साइजमा चित्त बुझ्दैन,” उनले हाँस्दै भने “यहाँ आएपछि आफैले रोजेर लिन पाइयो नि ।” उनीसंग यसअघि पनि महोत्सवकै बेला किनेका अल्लोका दुई वटा टोपी छन् । अल्लोका सामग्री मेला महोत्सवमा मात्र पाइने अनुभव रहेको उनले सुनाए । “यसअघि पनि महोत्सवमै किनेको थिएँ, अरुबेला बजारमा खोज्छु तर पाउँदिन” उनले भने । भरतपुर–४ देखि आएका देवि प्रसाद शर्माले पनि अल्लोबाट बनेको टोपी किने । उनीसंगै आएका उनका परिवारले उनका लागि राम्रो देखिएको टोपी रोजिदिए ।

खाँदबारी, संखुवासभादेखि चितवन महोत्सवमा स्टल राख्न आइपुगेका नरेन्द्रकुमार राईले आफ्नो स्टलमा अल्लोका सामग्री किन्न युवा तथा प्रौढ दुबैले चासो देखाएको बताए । स्टलमा टोपी,क्याप, महिलाहरुले भिर्ने ह्याण्डब्याग, पर्स तथा अल्लोबाट बनेको थान कपडा बिक्री लागि राखिएका छन् । महोत्सवमा स्टल राख्दा प्रचार प्रसार हुने भएकाले टाढादेखि आएको उनले बताए । “मेला महोत्सवहरुमा सामान लिएर जान थालेको निकै वर्ष भयो” राईले भने “यसरी लैँजादा फरक ठाउँका मान्छेले पनि हाम्रो उत्पादनबारे थाहा पाउँछन् र सम्पर्क गरेर पछि पनि सामान मगाउँछन् । ” चितवन महोत्सवमा भने उनी पहिलो पटक आएको बताए ।

उनको स्टलमा केही किशोरीहरु आइपुगे । उनीहरुले ह्याण्डब्याग हेर्दै थिए । गैंडाकोटबाट आएकी सुस्मिता कंडेलले स्वदेशी सामान उपभोग गर्ने ट्रेण्ड युवामा बढेकाले आफूलाई मिल्ने केही पाइन्छकी भनेर स्टलमा पुगेको बताइन् ।

चितवन महोत्सवमा अल्लोबाट बनेका सामग्रीका दुईवटा स्टल छन् । दाङबाट आएकी शर्मिला पुनले चितवन महोत्सवमा स्टल राख्न आएको यो चौथो पटक बताइन् । अल्लोबाट बनेका सामग्रीको प्रवद्र्धन मेलाबाटै भएको उनी बताउँछिन् । उनको स्टलमा अल्लोबाट बनेका कोट, ज्वारी कोट, स्कूल ब्याग, महिलाले बोक्ने ह्याण्ड ब्याग,पर्स, कि—रिङ, ढाड दुख्दा बान्ने कम्मर बेल्ट जस्ता सामग्री राखिएका छन् ।

अघिल्ला महोत्सवमा सामान थोरै ल्याउँदा गुनासो रहने गरेकाले यस पटक धेरै ल्याएको उनले बताइन् । “हाम्रा सामग्रीहरु धेरै बिक्ने भनेकै मेला महोत्सवहरुमा हो,” उनले भनिन्, “नियमित विक्रीको वातावरण बनाउन अझै प्रवद्र्धन गर्नुपर्छ ।”

साना उद्यमहरुको प्रवद्र्धनका लागि सरकारले सहयोगि भूमिका खेल्नुपर्ने उनले बताइन् । पूर्वी नेपालदेखि पश्चिम नेपाल सम्मका व्यवसायी जुट्ने थलो बनेको चितवन महोत्सवको बुधबार समापन गरिँदै छ । कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै महोत्सव सुरु भएको चौथो दिनमै समापन गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>