चितवन विशेष

भरतपुरको नारायणी आधारभूत विद्यालय खयरघारीका बालबालिकालाई न्यानो कपडा वितरण

Banner

चितवन, पुस २७-

भरतपुर महानगरपालिका–२६ खयरघारीको नारायणी आधारभूत विद्यालयका १२५ बढी बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

अति विपन्न जनजाति परिवारका बालबालिकाको बाहुल्यता रहेको उक्त विद्यालयमा भरतपुर महानगरपालिका–५ निवासी समाजसेवी चन्द्रमा पोखरेलले न्यानो कपडा वितरण गरेकी हुन् ।

उक्त कार्यक्रमको समन्वय भरतपुर सरकारी अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख रामहरि ढकाल तथा नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुर महानगर समितिका सचिव एवम् पत्रकार विपिन पाठकले गरेका थिए । शिक्षक अगुवा श्यामानन्द शर्मालगायतले मन्तव्य राखेको उक्त कार्यक्रममा समाजसेवी एवम् न्यानो कपडा सौजन्यकर्ता चन्द्रमा पोख्रेल, भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडा सदस्य लिलाधर पौडेल, समाजसेवी रामप्रसाद गैरे शिक्षक अभिभावक संघका अध्यक्ष मोतीबहादुर कुँवर तथा अभिभावकहरूको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

सहयोगी पोख्रेलले सरकारी विद्यालय पढी परदेशमा रहेका आफ्ना छोराहरुले खाजा खर्चको केही रकम कटौती गरेर सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको बताइन् । निम्न वर्गीय परिवारका बालबालिकालाई शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेतर्फ सबै सचेत हुनुपर्ने उनको भनाइ थियो । उक्त नारायणी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला सुबेदीले न्यानो कपडा सौजन्य तथा समन्वय गर्ने सम्पूर्णलाई विद्यालयको तर्फबाट आभार तथा धन्यवाद ब्यक्त गरेकी थिइन् । विद्यार्थीहरु स्वस्थ रहे मात्र सिकाई सवल हुने प्रधानाध्यापक सुवेदीले बताए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश सुवेदीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>