Breaking News

चितवन मेडिकल कलेजमा छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण

Banner

चितवन, पुस २३-

चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षीय भाइ कृष्णले कलेजो दान गर्नुभएको हो ।

अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको जनाएको हो । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार कृष्णको ६० प्रतिशत कलेजो जीवनमा प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपणमा चिकित्सक डा सञ्जय यादव, डा प्रवीन जोशी, डा जयन्तकुमार साह, डा गौरव कट्टेल, डा सरोज ढुङ्गाना, एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नवीन यादव, हेपाटोलोजिष्ट डा सागर पौडेल, डा वरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा वित्रान पौडेल, डा सुभास ओझा, डा प्रदेश घिमिरे र डा नेहा विष्टको सहभागिता रहेको थियो । योसँगै भारतको एपोलो अस्पतालका चिकित्सक डा निरभ गोयल, डा अरुण कुमार, डा रमन रानासहितको चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

करिब एक वर्षदेखि विभिन्न अस्पतालमा कलेजोको परीक्षण गराउँदै आउनुभएका उहाँमा ‘वड चियरी सिन्ड्रम विथ कम्प्लिट पिभिटी डिजिज’का कारण कलेजो प्रत्यारोपाण गर्नुभएको थियो । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सन् २०२१ मा नेपालमा सबैभन्दा बढी कलेजो प्रत्यारोपाण गराउन सफल भएको बताउनुभयो ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र टिचिङ अस्पतालमा कलेजो प्रत्यारोपण हुँदै आएको छ । ती अस्पतालमा भन्दा बढी यस अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको उहाँले दाबी गर्नुभयो । कलेजो प्रत्यारोपण गर्नुभएका भाइ कृष्णले दाजुले पुर्नजीवन पाएको बताउनुभयो । उहाँले भन्नुभयो “यसले दाजु भाइको बीचमा प्रगाढ सम्बन्ध कायम गरेको छ । समाजले जे भने पनि परिवार भनेको परिवारनै हो ।” आफ्नो दाजुले नयाँ जीवन पाएको र आफूलाई कुनै समस्या नरहेको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>