Breaking News
नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो, जलहारी र बोटे सामुदायको आय बढ्ने अपेक्षा

चितवन, पुस २२-
नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ ।
रहु र नैनी जातका माछाका ४० हजार भुरा प्रकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र हेटौडाले नारायणी नदीमा छाडेको हो ।
जलीय जैबिक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको कार्यालयका प्रमुख सरोजकुमार यादवले जानकारी दिए । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको र यस पटक कालीगण्डकी नदी र कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताए । यसअघि मकवानपुरको सामारी नदीमा पनी ३४ हजार माछा भुरा छाडेको उनकोे भनाइ छ ।
खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्नेलगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि आफूहरुले यो कार्यक्रम गरेको यादवको भनाइ छ । आफूहरुको मेचीदेखि महाकालीसम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्ययन गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रवद्र्धन गर्न माछा भुरा छाँडिदै आएको उनले बताए ।
नेपालमा चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताए । प्राकृतिक जलाशयमा चार लाख जनसंख्या निर्भर रहेको उनकोे भनाइ छ ।
जलाहारी र बोटेलगायतका समुदायको आयस्तर विकास गर्न र नदीनालाबाट माछा मारेर जीवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम सञ्चालन गरिएको यादव बताउँछन् । यसले पानीमा आश्रित गोहीलगायतका जनावरलाई समेत फाइदा पुग्ने उनको भनाइ छ ।

























