Breaking News

एमाले चितवनको दशौं अधिवेशनको लागि ४० प्रतिशत महिलासहित १६०० प्रतिनिधि छानिए

Banner

चितवन, पुस १९-

एमाले चितवनको १० औं जिल्ला अधिवेशनको लागि विभिन्न स्थानीय तह र पेसागत संगठनहरुबाट एक हजार ६०० प्रतिनिधिहरु छानिएका छन् । विभिन्न स्थानीय तहका वडाहरु, वर्गीय र पेसागत संगठनहरुबाट प्रतिनिधिहरु छानिएका हुन् ।

छानिएका प्रतिनिधिहरुमा झण्डै ४० प्रतिशत महिला रहेको एमाले चितवनका सचिव प्रकाश खनाल ‘शैलेस’ ले नारायणी अनलाइनलाई बताए । उनका अनुसार सबैभन्दा धेरै ६३ जना प्रतिनिधि भरतपुर महानगरपालिका वडा नम्बर ११ बाट छानिएका छन् ।

विभिन्न पार्टीका संगठनहरुमा भएको भेलाले सर्वसम्मतरुपमा प्रतिनिधिहरुको छनोट गरेको छ । एमालेको १० औं जिल्ला अधिवेशन भरतपुरको तारापुञ्ज रिसोर्टमा पुस २३ गते उद्घाटन हुने र पार्टी कार्यालयमा बन्द शत्र हुने एमाले चितवनका सचिव खनालले जानकारी दिए । पार्टीको जिल्ला अधिवेशनलाई एमालेका अध्यक्ष केपीशर्मा ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने जनाइएको छ । अधिवेशनमा जिल्लाका सम्पूर्ण शीर्ष नेताहरुको उपस्थिति रहने छ । सचिव खनालले जिल्ला अधिवेशनमा सहमतिमा नै नेतृत्व छनोट हुने दाबी गरे ।

१० औं महाधिवेशनमा चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु रामप्रसाद न्यौपाने ,कृष्ण भुर्तेल, तेजेन्द्र खड्का, र कमल पाठकले आकांक्षा देखाएका छन् । खड्का र भुर्तेल दुई अग्रज नेताहरु हुन् भने न्यौपाने र पाठक दुवै युवा नेताहरु हुन् । खड्का पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष, भुर्तेल एमालेको वाग्मती प्रदेश सांसद, रामप्रसाद न्यौपाने यसअघि महानगरका अध्यक्ष हुन् भने पाठक जिल्ला कमिटी सदस्य भएर काम गरेका नेता हुन् । भूगोलको हिसाबमा हेर्दा चार जना नेताहरु फरक फरक भूगोलबाट राजनीतिमा उदाएका नेताहरु हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>